BIZMANDU
www.bizmandu.com

नेप्सेमा मंगलबार झन्डै चार करोड कित्ता सेयर थपिए, दुई वाणिज्य बैंकसँगै एक लघुवित्त र एक हाइड्रो

२०७८ फागुन १०

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन करोड ९० लाख कित्ताभन्दा धेरै सेयर थपिएको छ। दुइ वाणिज्य बैंकसँगै एक लघुवित्त र एक जलविद्युत संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

Tata
GBIME
Nepal Life

मंगलबार सूचीकृत भएका उक्त संस्थाहरुमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, फर्स्ट माइक्रोफाइनान्स र बुटवल पावर कम्पनी रहेका छन्।

यी संस्थाहरुको कुल तीन करोड ९० लाख ७५ हजार ४१६.७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो। 

आर्थिक वर्ष २०७७/७८ का लागि ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्सले कायम चुक्ता पुँजीको समान १०/१० प्रतिशत बोनस सेयर वितरण गरेका थिए । प्रभु बैंकले भने १२ प्रतिशत बोनस सेयर लाभंश स्वरूप दिएको थियो।  

नेप्सेमा ग्लोबल आइएमई बैंकको अहिले बोनस सेयर बापतको थप दुइ करोड १६ लाख ३२ हजार ५०३.०३ हुँदा प्रभु बैंकको एक करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता सेयर सूचीकृत भएको छ। यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ८ लाख ७६ हजार ८१२ कित्ता र बुटवल पावर कम्पनीको २९ लाख ४९ हजार ६३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

मंगलबार सूचीकृत भएका यी सेयरहरुको दोस्रो बजारमा कारोबार भने सेयरधनीहरुको डिम्याट खातामा आएपश्चात मात्र गर्न सकिनेछ।