BIZMANDU
www.bizmandu.com

‘ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्ज अध्ययन नगरी हुँदैन, सेबोन अध्यक्ष हमालको अन्तर्वार्ता

२०७८ फागुन ५

बिहीबारको मन्त्रिपरिषद बैठकले धितोपत्र बोर्ड (सेबोन) अध्यक्षमा रमेश हमाललाई नियुक्‍त गरेको छ। संस्थाको साख उकास्ने र बजारलाई परिपक्व बनाउने चुनौतीबीच पुँजीबजारको नियामक निकाय प्रमुखको जिम्मेवारी पाएका हमाललाई बिजमाण्डूले सोध्यो – पदीय नैतिकताविपरीत कार्य गरेको आरोपमा पूर्वअध्यक्षलाई सरकारले पदमुक्त गरेको पृ‌ष्ठभूमिमा तपाईंले जिम्मेवारी पाउनुभएको छ। यो विन्दुबाट कसरी नियामकीय निकायको साख माथि उकास्ने सोच्नुभएको छ?

Tata
GBIME
NLIC

यही नै मेरा लागि चुनौती हो, र यही नै अवसर पनि हो। साख गिरेको अवस्थामा आएको छु म। यस्तो अवस्थामा नेपालको पुँजी बजारका लागि केही बलियो फाउन्डेसन दिन सकें भने त्यसबाट मेरो नाम पनि बन्छ। मेरो पनि एउटा लिगेसी बनाउने चाहना हुन्छ नि। संस्थाको त्यस्तो लिगेसी बनाउने नै हाम्रो लक्ष्य हुनेछ।

पक्कै पनि तपाईंले दिनुभएको प्रस्तुति र कार्ययोजनाका आधारमा नै छनोट समितिले तपाई‌ं‌लाई पनि सर्टलिस्ट गरेर मन्त्रिपरिषदलाई सिफारिस गर्‍यो। के छन् सेबोनलाई हाँक्ने तपाईंका योजना जसबाट सरकार प्रभावित भएर नियुक्ति दियो?

मैले बिग पिक्चरमा हेरेर आफ्नो कार्य योजना दिएको छु। त्यही अनुसार काम गर्ने हो। 

के-के परेको छ त्यो बिग पिक्चरमा?

सेबोन रेगुलेटर बडी हो। मैले खोजेको रेगुलेटर बडीको सबैभन्‍दा पहिला आफ्नै आन्‍तरिक संस्थागत क्षमता बलियो होस् भन्ने छ। यसैले त्यहीअनुरुप सेबोनलाई  नै बलियो बनाउने हो। यसका कार्ययोजना छन् मसँग। यसको फाउन्डेसन यसरी बनाउन सकियोस् कि त्यसले भोलि कम्तिमा भारतको सेबी जस्तो अन्तर्राष्ट्रिय स्तरको नियामकीय संस्था यो बनोस् भन्ने एउटा लक्ष्य छ। 

अर्को, बजारको जुन अस्थिरता (मार्केट भोलाटिलिटी) छ, इराटिक रुपमा माथि  जाने र तल झर्ने हुने, एक-दुईजना पावरफुल प्लेयरको निहित स्वार्थले बजारको मुभमेन्ट हुने, इत्यादि  जस्ता प्रवृत्तिहरुलाई दुरुत्साहित गर्ने गरी सेबोनले नियामकीय भूमिका खेल्न सक्ने बनाउनु पर्नेछ। यसका लागि त्यस्ता खेलाडीभन्दा हामी (नियामक) स्मार्ट हुनु जरुरी छ। यिनै कुराहरु गर्नु पर्नेछ।

बजारको स्थायित्वको खाँचोको यहाँले संकेत गर्नुभयो। त्यसका लागि धितोपत्र बजारमा कारोबार हुने इन्सट्रुमेन्टहरु पनि प्रशस्त हुनुपर्छ, जुन हामीकहाँ अहिले छैन। यसमा पनि केही गर्ने योजना हो तपाईंको?

बिल्कुलै हो। इन्सट्रुमेन्टहरु विविधकरण नगरीकन त बजार कसरी चल्छ? हामीलाई विविधिकृत प्रडक्टहरु चाहिएको छ। प्राइभेट इक्विटी फन्डहरुलाई व्यवस्थित गरेर लानुपर्ने छ। कमोडिटी एक्सचेन्ज मार्केटलाई संचालन गर्नुपर्ने छ। अरु पनि बजार उपकरणहरु चाहिएको छ। जोखिमलाई पनि त विविधिकरण गर्नै पर्यो नि। सबै अण्डा एउटै डालोमा हालेर हुन्न नि। 

पुँजीबजारको नियामकीय प्रमुखको हैसियतमा तपाईंका मुख्य प्राथमिकताहरु के के हुनेछन् ?

एउटा त अघि नै मैले भनिहालें – सेबोनले निर्वाह गर्नुपर्ने भूमिकालाई सम्बोधन गर्न सक्ने गरी संस्थागत क्षमता विकास नगरी नहुने अवस्था छ। संस्थालाई साँच्चिकै अन्तर्राष्ट्रिय स्तरमा लैजाने अर्को कुरा छ। त्यसको पारदर्शिता, संस्थागत सुशासन आइओइस्को (इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज् कमिसन्स) को स्ट्यान्डर्डमा लानुपर्नेछ, ताकि भोलि नेपाली पुँजीबजारमार्फत इन्टरनेशनल फन्डहरु पनि आउन सकोस्।अन्य राम्रो च्यानलबाट वा पब्लिक ट्रेडेड फन्डबाट नेपालको ठूला पूर्वाधारमा लगानी आउन सकोस्। 

र, सबैभन्दा प्रमुख कुरा – साना लगानीकर्ताहरुलाई स‌ंरक्षण एकदम जरुरी छ। हाम्रो सन्दर्भमा यो अहम् छ। किनभने कुनै पनि बजारको विकासका लागि साना लगानीकर्ताको संरक्षण सबैभन्दा महत्त्वपूर्ण हो। जब साना लगानीकर्ता सुरक्षित हुन्छन् तब त्यो बजारप्रतिको विश्वसनीयता र आत्मविश्वास बढ्छ। 

थप ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्जका लागि अनुमति दिने प्रक्रियामा छ सेबोन। तपाईंको प्राथमिकतामा यो पर्छ पर्दैन? 

यसमा अध्ययन नगरी हुँदैन। अहिले नै नबोलौं। 

पहिलो अभ्यासको प्रक्रियामै सेबोन पदाधिकारीकै कारण बिवादमा तानिएको बुक बिल्डिङको औचित्यबारे चाहिँ तपाईंको दृष्टिकोण के हुनेछ अब?

यसको विवादको बाहिरी कुरामा अहिले नजाउँ। त्यसमा पनि एकचोटी अध्ययन गर्नै पर्छ। म कुनै पनि कुरा अध्ययन नगरी हचुवामा बोल्ने मान्छे होइन। तर के हो भने बुक बिल्‍डिङ भनेको अन्तर्राष्ट्रिय रूपमा पनि फेयर र ट्रान्सपरेन्ट पद्धति हो। यसकारण प्रोफेसनल्ली यसमा कुनै कम्पनी जान खोजेको छ र त्यही अनुसार प्रक्रिया अघि बढाउन खोजेको छ वा बढाउँछ भने त यो अन्तर्राष्ट्रिय अभ्यासलाई किन नअपनाउने र? नाफामा गएको कम्पनी बुक बिल्‍डिङमा जान पाउँछ भन्ने संसारभरिकै चलन हो। कुनै कम्पनी राम्रो छैन भने त उसले सय रुपैयाँ नै पनि डिजर्भ नगर्न सक्छ नि।