काठमाडौं। यो साता सेयर बजारमा २.६१ प्रतिशतको गिरावट आएको छ। २८७६.७४ को विन्दुबाट सुरु भएको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन २८०१.५६ को विन्दुमा कायम छ। सातामा नेप्सेले ७५.१८ अंक गुमाएको छ।
'क' वर्गका कम्पनीहरुको गतिविधि मापन गर्ने सेन्सेटिभ परिसूचक पनि यो साता १२.३७ अंक अर्थात २.२९ प्रतिशत घटेको छ। साताको अन्तिम कारोबार दिन सेन्सेटिभ परिसूचक ५२७.२८ विन्दुमा छ।
बजार घट्दा लगानीकर्ताले सातामा एक खर्ब ५ अर्ब ७२ करोड रुपैयाँ पुँजीबजारबाट गुमाएका छन्। गत साताको अन्तिम कारोबारपछि ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबारको कारोबारपछि २.६ प्रतिशत घटेर ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँमा सीमित छ।
यो साता नेप्से परिसूचकसँगै अधिकांश उपसमूह पनि ओरालो लागेका छन्। सर्वाधिक गिरावट जीवन बीमा उपसमूहमा देखिएको छ। सातामा उपसमूह ४.७४ प्रतिशत घटेको छ। जलविद्युत उपसमूह पनि ४.१४ प्रतिशत घट्यो। विकास बैंक र वित्त उपसमूह पनि समान ३.९६ प्रतिशत घटेका छन्।
सबैभन्दा कम घटेको उपसमूह उत्पादन तथा प्रशोधन हो। गत साताको तुलनामा उपसमूह ०.२९ प्रतिशत मात्र घटेको छ। सामूहिक लगानी कोष उपसमूह पनि यो साता सामान्य ०.३७ प्रतिशत घट्यो।
नेप्सेमा विपरीत यो साता बढ्ने एक मात्र उपसमूह अन्य उपसमूह हो। गत साताको तुलनामा उपसमूह १.२७ प्रतिशत बढेको छ।
कारोबार रकम र मात्रामा पनि संकुचन आएको छ। २६ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ रहेको गत साताको कारोबार रकम २ अर्ब २१ करोड ९१ लाख रुपैयाँ घटेर २४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ। कारोबार रकममा यो साता ८.३२ प्रतिशत गिरावट देखिएको छ।
कारोबार मात्रा पनि ४ करोड ५६ लाख ८९ हजार कित्तामा सीमित छ। गत साता ५ करोड २ लाख ९ हजार कित्ता कारोबार भएको थियो। सातामा कारोबार मात्रा ४५ लाख १९ हजार कित्ता अर्थात् ९ प्रतिशत घटेको छ। यो साता औसतमा ४ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ बराबरको ९१ लाख ३७ हजार कित्ता कारोबार भएका छन्।
यो साता सर्वाधिक कारोबार भएको कम्पनी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड हो। साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा हाइड्रोपावरको एक अर्ब ५० करोड ३९ लाख रुपैयाँको बराबरको सेयर खरिद बिक्री भएको छ। निफ्राको पनि यो साता एक अर्ब १८ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको एक अर्ब ९ करोड ७८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ।
परिसूचक घट्दा पनि यो साता नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। साताभरमा कम्पनीको मूल्य ४.१५ प्रतिशत बढेको छ। निफ्राका लगानीकर्ताले पनि यो साता ४.१२ प्रतिशतका दरले कमाए।
सातामा सबैभन्दा बढी गुमाउने जानकी फाइनान्सका लगानीकर्ता हुन्। फाइनान्सको मूल्य साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा १६.८४ प्रतिशत घटेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले पनि सातामा १३.७६ प्रतिशतका दरले गुमाउँदा विन नेपाल लघुवित्तका लगानीकर्ताले १३.२८ र नेपाल लाइफका लगानीकर्ताले १३.१९ प्रतिशतका दरले गुमाए।