काठमाडौं। कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल तथा बोटलर्स नेपाल तराईको नाफामा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनमा बोटलर्स नेपालको नाफा बढेको हो।
गत आर्थिक वर्षको पुस अन्तिमसम्म एक करोड २२ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षको ६ महिने अवधिमा ३५ करोड ८४ लाख रुपैयाँ नाफामा पुगेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ छ भने कम्पनीको जगेडा कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ संचित रहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बोटलर्स नेपालले आफ्नो उत्पादन बिक्री बापत ४ अर्ब ७५ करोड रुपैयाँ संकलन गरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी ३ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.८५ प्रतिशत वृद्धि भएको छ।
समीक्षा अवधिमा बोटलर्स नेपाल लिमिटेडको प्रति शेयर आम्दानी १७० रुपैयाँ, प्रति शेयर नेटवर्थ २ हजार ४१३ रुपैयाँ र अन्तिम कारोबार मूल्य एक हजार ९०३ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात ११ गुणा रहेको देखिन्छ।
यस्तै बोटलर्स नेपाल तराईको नाफा पनि उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षको पुस अन्तिमसम्म दुई करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३० करोड २२ लाख रुपैयाँ नाफामा आर्जन गरेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ भने कम्पनीको जगेडा कोषमा २ अर्ब ८८ करोड रुपैयाँ संचित रहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बोटलर्स नेपाल तराईले उत्पादन बिक्रीबाट ३ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो। कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३६ प्रतिशत वृद्धि भएको छ।
समीक्षा अवधिमा बोटलर्स नेपाल तराईको प्रति शेयर आम्दानी २५० रुपैयाँ, प्रति शेयर नेटवर्थ २ हजार ४८६ रुपैयाँ र अन्तिम कारोबार मूल्य १५ हजार ६३६ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात ६३ गुणा रहेको देखिन्छ।