BIZMANDU
www.bizmandu.com

नेतृत्व विहीनतासँगै उत्पादन ठप्प भएको हेटौंडा सिमेन्टको महाप्रबन्धक नियुक्ति अगाडि बढ्यो

२०७८ माघ २६

काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ। डेढ महिनादेखि महाप्रबन्धक रिक्त हुँदा बिग्रिएको मेसिनसमेत बनाउन नसकेर कम्पनीको उत्पादन ठप्प भएको छ।

Tata
GBIME
NLIC

उद्योगको ढुंगा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो। उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ। 

पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको बताइएको छ। बिग्रिएको मेसिन (किल्न) चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको छ। 

महाप्रबन्धक नियुक्तिका लागि गठन गरिएको छनोट समितिले २१ दिनको समय दिएर योग्यता पुगेका इच्छुक उम्मेदवारसँग दरखास्त माग गरेको छ।

महाप्रबन्धक हुनका लागि ३५ वर्ष पुगेको तर ६५ वर्ष ननाघेको हुनु पर्नेछ। स्नातकोत्तर उत्तीर्णले आवेदन दिन पाउने छन्।

सम्बन्धित निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ, कानुन पढेको व्यक्तिले आवेदन दिन सक्ने छन्। 

उम्मेदवारसँग कम्पनीमा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्ने छ। दरखास्तसँगै व्यवसायिक कार्ययोजना पनि बुझाउनु पर्ने छ। त्यसको आधारमा प्रस्तुतीकरण र अन्तर्वार्ताको माध्यममार्फत महाप्रबन्धक छनोट गरिने छ।