BIZMANDU
www.bizmandu.com

भारतले कच्चा तेलको भन्सार घटाएको साइड इफेक्ट खानेतेलमा परेन, नेपालबाट उत्साहजनक निकासी


भारतले कच्चा तेलको भन्सार घटाएको साइड इफेक्ट खानेतेलमा परेन, नेपालबाट उत्साहजनक निकासी
भारतले कच्चा तेलको भन्सार घटाएको साइड इफेक्ट खानेतेलमा परेन, नेपालबाट उत्साहजनक निकासी

विराटनगर। भारतले अप्रशोधित कच्चा तेलमा लाग्दै आएको भन्सार महसुलमा भारी कटौती गरेको ४ महिनापछि पनि नेपालबाट प्रशोधित खानेतेल राम्रै निकासी भइरहेको पाइएको छ।

Tata
GBIME
Nepal Life

तेल उद्योगीले अङ्ग्रेजी नयाँ वर्ष २०२२ लागेपछि निकासी ठप्प हुने भनी यसअघि गरेको दाबीका विपरीत तेलको निकासी भइरहेको हो।विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तीन आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिको तुुुलनात्मक तथ्याङ्कमा पाम तेलको निकासी केही घटेको देखिन्छ भने सूर्यमुखी र भटमासको तेलको निकासी वृद्धि भएको छ।

तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ अर्ब ८४ करोड २४ लाख मूल्यबराबरको ४५ हजार ५८६ टन प्रशोधित पाम तेल भारत निकासी गरिएको छ। सो प्रशोधित पाम तेल प्रति किलो २१५ रुपैयाँ ९० पैसामा निर्यात भएको हो।भारतले बन्द गरेका कारण गत आर्थिक वर्ष २०७७–७८ को पहिलो अर्धवार्षिक अवधिमा प्रशोधित पाम तेलको निकासी भएन।

तर आव २०७६–७७ को पुस मसान्त सम्ममा भने ५ अर्ब ४३ करोड १४ लाख मूल्यको ५२ हजार ५५९ टन पाम तेलको निर्यात गरिएको कार्यालयले जनाएको छ। सो तेलको निर्यात मूल्य प्रति किलो १०३ रुपैयाँ ३४ पैसा परेको छ।

कोभिडका कारण उत्पादनमा ह्रास र ढुवानीको भाडा अन्तर्राष्ट्रिय स्तरमा नै आकासिएपछि खानेतेलको मूल्यमा पनि अचाक्ली वृद्धि भएको छ। यसैका कारण पाम तेलको निकासीमा ह्रास आए पनि मूल्य भने उच्च देखिएको हो। श्रीराम रिफाइनरीका सञ्चालक प्रदीप मुरारकाले अन्तर्राष्ट्रिय बजारमा साढे २ वर्षअघि प्रति टन ५५० डलरमा पाइने कच्चा पामोलिनको मूल्य अहिले १४ सय डलर पुगिसकेको बताए।

कच्चा पामोलिन मलेसिया र इन्डोनेसियाबाट आयात गरिन्छ। प्रशोधित पाम तेल विशेषतः भारतका विहार, युपी र पश्चिम बङ्गालका लागि निर्यात हुन्छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा विराटनगर नाकाबाट भटमासको प्रशोधित तेलको निर्यात वृद्धि भएको छ। सो अवधिमा ११ अर्ब २२ करोड ९५ लाख मूल्यको ४९ हजार ३०१ टन भटमासको प्रशोधित तेलको निकासी भएको छ।

विराटनगर नाकाबाट यसअघि आर्थिक वर्ष २०७७–७८ को प्रथम अर्धवार्षिक अवधिमा ४ अर्ब ८८ करोड ५९ लाख मूल्यको ३३ हजार ४९० टन भटमासको प्रशोधित तेलको निकासी भएको थियो। त्यस्तै आव २०७६–७७ को सोही अवधिमा १ अर्ब ५३ करोड ४ लाख मूल्यको ११ हजार ९७५ टन भटमासको प्रशोधित तेल निकासी भएको थियो।

यसरी लगातार ३ आर्थिक वर्षको पुस मसान्तसम्मको अर्धवार्षिक तथ्याङ्क हेर्दा भटमासको प्रशोधित तेलको निकासी उल्लेखनीय रूपमा वृद्धि भएको छ। क्रुड सोया तेलको आयात नेपालमा अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट हुन्छ। सूर्यमुखीको प्रशोधित तेलको निकासी पनि गुणात्मक रूपमै वृद्धि भएको छ।

चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिमा यसको निकासी ६३ करोड ४ लाख मूल्यको ३ हजार १३५ टनका परिमाणमा भइसकेको छ। जबकि गत आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा १७ करोड १५ लाख मूल्यको १ हजार ११९ टन मात्र सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो। आर्थिक वर्ष २०७६–७७ मा भने यो भारत निकासी भएको थिएन।

 कच्चा सूर्यमुखीको तेल युक्रेन र अर्जेन्टिनाबाट आयात हुन्छ। पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित शारडाले निकासी गर्ने उद्देश्यले तीन प्रकारकै कच्चा तेलको आयातका लागि तीन महिनादेखि एलसी नखुलेको दाबी गरे। शारडाले अहिले देखिएको बढी निर्यात डिसेम्बरअघिको खरिद र सौदा भएको बताए। 

उनले भने, ‘निर्यात अब मन्द हुँदै जान्छ र मार्च महिनासम्ममा धेरै कम भइसक्छ।’ भारतले गत असोज २६ गते तीन प्रकारकै कच्चा तेलको आयात महसुलमा भारी कटौती गरेको थियो। कटौतीपूर्व तीन वटै कच्चा तेलको भन्सार महसुल २४ दशमलव ७५ प्रतिशत थियो। जसमा कच्चा पामोलिनको ८ दशमलव २५ तथा सोया र सनफ्लावरको ५ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ। 

भारतले घटाएको कच्चा तेलको महसुल दर आगामी मार्च महिनासम्म लागु गरिने जनाएको छ। नेपाली व्यवसायी अप्रिलपछि भारतमा पुरानै महँगो भन्सार महसुल दर कायम गरिने विश्वासमा छन्। यसो भएमा नेपालबाट गरिने निर्यात सहज हुन्छ। शारडाले भारतीय व्यवसायीले हाल नेपालका उद्योगीसँग नयाँ बुकिङ कम गरिसकेको जिकिर गरे।