BIZMANDU
www.bizmandu.com

६ महिनामा वीरगंज भन्सारको राजस्व १ खर्ब ५ अर्ब, वैदेशिक व्यापार बढायो संकलन

२०७८ माघ ६

वीरगंज। मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सारले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो ६ महिनामा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

Tata
GBIME
Nepal Life

भन्सारले चालू आवको साउनदेखि पुससम्मको अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। वीरगंज भन्सार कार्यालयका भन्सार प्रशासक अरुण पोखरेलका अनुसार यो रकम गत आब २०७७/७८ को पहिलो ६ महिनाभन्दा रु ३२ अर्ब बढी हो।

वीरगंज भन्सारले गत आवको पुससम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ संकलन गरेको थियो । गतवर्ष कोरोना महामारीका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष ह्वात्तै बढेकाले चालू आवमा आयातसँगै राजस्व पनि बढेको उनको भनाई छ।

चालू आवको ६ महिनाका लागि वीरगंज भन्सारले १ खर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। यो अवधिमा भन्सारले उठाएको राजस्व लक्ष्यभन्दा ६ प्रतिशत बढी हो।

विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको छ। सरकारको यो नीतिको असर देखिन कम्तीमा २ महिना लाग्ने र त्यसपछि भने राजस्वमा कमी आउने अनुमान भन्सार अधिकारीहरूको छ।

भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर उठाएको छ। ३१ अर्ब रुपैयाँ यो कर उठाउने लक्ष्य लिएको भन्सारले लक्ष्यभन्दा ३२ प्रतिशत बढी ४१ अर्ब रुपैयाँ संकलन गरेको छ।

वीरगंज भन्सारबाट भित्रिएका मालसामानमा ६ महीनामा ३८ अर्ब रुपैयाँ भन्सार महसुल उठेको छ भने अन्तःशुल्कतर्फ १२ अर्ब र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करमात्रै करीब ८ अर्ब रुपैयाँ संकलन भएको भन्सारले जनाएको छ।

अग्रिम आयकर १४ करोड रुपैयाँ, स्वास्थ्य जोखिम कर ८३ लाख, कृषि सुधार शुल्क ७३ करोड, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब असुल गरेको छ।

वस्तु निकासीबाट १ करोड रुपैयाँ राजस्व आम्दानी गरेको भन्सारले भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ५ करोड रुपैयाँ संकलन गरेको तथ्यांक छ।