काठमाडौं। पेटेन्ट चोरी गरेको आरोपमा स्वीस फोन निर्माता एरिक्सनले एप्पलविरुद्ध अर्को मुद्दा हालेको छ। आइफोनमा प्रयोग हुने फाइभ-जी वायरलेस पेटेन्टको रोयल्टी भुक्तानीमा विवाद हुँदा एरिक्सनले मुद्दा हालेको बताइएको छ।
सन् २०१५ मा दुवै कम्पनीहरुले एकअर्कालाई मुद्दा हालेका थिए। दुवै कम्पनीबीच दूरसंचार पेटेन्टको सात वर्ष अनुमतिपत्र सम्बन्धी सम्झौतामा कुरा नमिलेपछि विवाद अमेरिकी अदालतमा पुगेको थियो।
एरिक्सनले गत अक्टोबरमा एप्पलविरुद्ध मुद्दा हालेको थियो। रोयल्टी शुल्क अस्वाभाविक रूपमा घटाएको भन्दै एरिक्सनले मुद्दा हालेको थियो। आइफोन निर्माता एप्पलले पनि गत डिसेम्बरमा स्वीस कम्पनीले धाकधम्कीको बलमा पेटेन्ट सम्झौता नवीकरण गर्न दबाब दिएको भन्दै मुद्दा दायर गरेको थियो।
सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरुबीच पेटेन्टसम्बन्धी मुद्दा हाल्नुलाई सामान्य रुपमा लिने गरिन्छ। किनकी एक डलर नै जोगाउन सके सम्झौताको अवधिभर यो निकै ठूलो हुन जान्छ। एरिक्सनले हरेक फाइभजी फोनका लागि २.५० देखि ५ अमेरिकी डलरसम्म शुल्क लिने गर्छ।
स्वीस कम्पनीले वार्षिक पाँच अर्ब डलर रिसर्चमै खर्चिने गरेको छ। एरिक्सनसँग ५७ हजारभन्दा बढी पेटेन्ट छ। जसबाट आउने रोयल्टी नै कम्पनीको समग्र संचालन मुनाफाको एक तिहाई हुने गरेको कम्पनीले जनाएको छ।