BIZMANDU
www.bizmandu.com

मेलम्ची आयोजनाले काठमाडौंमा पानी ल्याउन बनाएको योजना कार्यान्वयन गर्न समितिको निर्देशन

२०७८ पुष ३०

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।

Tata
GBIME
Nepal Life

शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरुबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा बिस्तारका लागि भइरहेका कार्यहरु अन्य निकायहरुबाट आवश्यक समन्वय नभइ क्षति पुर्याउने काम भइरहेको बताइन्। उनले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्याइएको क्षतीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइन्।

उनले यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि सरकारलाई निर्देशन दिएको जानकारी दिइन्।

समितिले नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ।

सभापति खड्काले बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकोले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको बताइन्।