BIZMANDU
www.bizmandu.com

सैद्धान्तिक सहमति लिइसकेपछि तीन ठूला सेयरधनीका कारण भाँडियो हिमालयन-इन्भेष्टमेन्ट मर्जर

२०७८ पुष ३०

काठमाडौं। हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर अन्तिम समयमा आएर भाँडिएको छ। हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं वार्षिक साधारणसभामा सेयर आदानप्रदान अनुपात नमिलेको भन्दै त्यसमा अवरोध गरेपछि बाँकी सञ्चालक (सञ्चय कोषबाहेक) को समर्थन हुँदाहुँदै पनि मर्जरको एजेण्डा अगाडि बढ्न सकेन।

Tata
GBIME
Nepal Life

मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो। मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २३ हजार ४१० आएको थियो। यसमा मर्जरको पक्षमा ४३.६३ प्रतिशत भोट खसेको छ भने विपक्षमा ४२.२९ प्रतिशत भोट खसेको छ।

नखस्ने मत १४.०९ प्रतिशत मात्र छ। मर्जर गर्ने भए ७५ प्रतिशत मत पक्षमा खस्नु पर्ने थियो। त्यो नहुँदा मर्जर भाँडिएको छ।

‘यसको अर्थ के हो भने मर्जर अहिलेलाई रोकिएको छ,’ अध्यक्ष प्रचण्डले घोषणा गरे।

हिमालयन बैंकले २९औं वार्षिक साधारणसभा शुक्रबार डाकेको थियो। सभामा सञ्चय कोषको तर्फबाट 'सेयर आदान प्रदान अनुपात’ मा कैफियत देखाउँदै मर्जरको विपक्षमा प्रस्ताव पेश भएको थियो। त्यो प्रस्तावमा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलगायतको कम्पनीको समर्थन गरेका थिए।

विशेष प्रस्ताव आएको भन्दै त्यसमा अध्यक्षले निर्वाचन गर्ने प्रक्रिया अगाडि बढाए। पछि बीचैमा प्रक्रिया रोकेर उनले उपलब्ध सेयरधनीमध्ये आफ्नो समूहको ३६ प्रतिशतमाथि एक ढिक्का सेयर रहेकाले अहिलेकै अवस्थामा मर्जर अगाडि नबढ्ने निर्णय सुनाए।

त्यसपछि सञ्चालक आशिष शर्माले अध्यक्षको भनाइलाई काटे। उनले निर्वाचन के कारणले राखेको र के कारणले स्थागित गरेको भन्दै विरोध गरे। उनलाई अर्का सञ्चालक सुनिलबहादुर थापाले समर्थन गरेका थिए।

आशिष शर्माले चर्को विरोध गरेपछि अन्तत: अध्यक्ष श्रेष्ठले निर्वाचन कार्यक्रम अगाडि बढाए। करिब २० मिनेट लगाएर मतदान गरिएको थियो। सबैभन्दा पहिलो मतदान पाकिस्तानी साझेदार हबिब बैंकका तर्फबाट फैजल ललानीले गरेका थिए। हबिबको हिमालयन बैंकमा २० प्रतिशत सेयर लगानी छ।

आशिषले आफूले १२/१३ प्रतिशत सेयरधनीको नेतृत्व गर्दै आएको भन्दै अध्यक्षको विरोध गरेका थिए। अध्यक्ष प्रचण्डले एकलौटी साधारणसभा अगाडि बढाएपछि उनले विरोध गरेका थिए। 

त्यसपछि प्रचण्डले प्रस्ताव अगाडि बढाउने नबढाउने अध्यक्षको विशेष अधिकार भएकाले त्यसलाई नरोक्न भनेका थिए। अध्यक्षले नै साधारणसभा चलाउने भए सञ्चालक किन चाहियो भनेर सुनिलबहादुर थापाले विरोध जनाएका थिए। अध्यक्षले मनोमानी गरेको भन्दै आशिष सञ्चालक बस्ने मञ्चबाट बाहिर आएर सर्वसाधारणसँगै मिसिए। 

उनले यो मर्जर राष्ट्रिय सरोकारको विषय भएको भन्दै यसलाई खेलाँची नठान्न आग्रह गरे। सुनिलबहादुर थापाले प्रक्रिया र तयारी नभएको विषय उठाए। त्यसपछि उनलाई अध्यक्ष प्रचण्डले राजनीति जस्तो यो विषय नभएको भन्दै रोक्न खोजे। राजनीतिलाई बीचमा ल्याएपछि थापाले आफू यहाँ प्रोफेसनल हिसाबले आएकाले यस्ता कुरा नगर्न भने।

साधारणसभाको सुरुवातमा सर्वसाधारणलाई बोल्न दिइएको थियो। सुरुमै भक्तिप्रसाद उप्रेतीले बोलेका थिए। उनले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको ११ वटा प्रमुख सूचकहरुको तुलना गर्दै ९ वटामा इन्भेष्टमेन्ट बैंक अगाडि रहेकाले मर्जर कुनै हालतमा पनि गर्नुपर्ने बताए। 

त्यसपछि अर्का सेयरधनी चन्द्रनारायण श्रेष्ठले सर्वसाधारणलाई बन्धक बनाउन नहुने भन्दै लाभांश कुनै पनि बहानामा रोक्न नहुने बताए। अहिले हिमालयन बैंकको नगद लाभांश मर्जर सफल भएपछि मात्र पाउने गरी राष्ट्र बैंकले रोकिदिएको छ।

सर्वसाधारणले बोलिसकेपछि सञ्चय कोषबाट दुई पृष्ठको असहमति राखिएको थियो। अहिलेकै एक बराबर एकको सेयर आदानप्रदान अनुपातमा जाँदा ७० करोड रुपैयाँ घाटा लाग्ने भन्दै सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरलाई अगाडि बढाउन नसकिने साधारणसभामा आफ्नो भनाइ राख्यो। 

सञ्चय कोषको प्रतिनिधिका रुपमा शिवराज पौडेलले अहिलेकै अवस्थामा मर्जर अगाडि नबढ्ने बताए। उनले हिमालनय बैंकमा सञ्चय कोषको १४ प्रतिशत बढी सेयर रहेको र स्थापनाकालदेखि अहिलेसम्म औसतमा ३४ प्रतिशत लाभांश पाइरहेको बताए। त्यसपछि उनी सोझै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरका बारेमा प्रवेश गरेका थिए।

उनले सञ्चय कोषले २०७८ मंसिर २ गते नियुक्त गरेको विज्ञले दिएको प्रतिवेदनलाई आधार मानेर संयुक्त मर्जर समिति र डीडीए फर्मले दिएको प्रतिवेदनमाथि नै प्रश्न उठाए। उनले इन्भेष्टमेन्ट बैंकले प्रिमियममा सेयर जारी गर्दा पुँजीगत लाभकर नतिरेको, ऋणमा समस्या भएको, हिमालयन बैंकको सर्वसाधारणमा जाने १५ प्रतिशत सेयरका बारेमा कुनै उल्लेख नगरिएको विषय झिकेर मर्जर अहिलेकै हालतमा अगाडि बढ्न नदिने बताए।

उनले आफ्नो विज्ञ समूहले हिमालयनको १०० बराबर इन्भेष्टमेन्ट बैंकको जम्मा ७८ रुपैयाँ मात्र हुने विवरण पढेर सुनाए। उनले यसैलाई आधिकारिक धारणा भन्दै आफ्नो कुरा राखेपछि सभामा रडाको सुरु भएको थियो। 

सभाले सुरुमा सबै प्रस्तावहरु ताली बजाएर पास गर्‍यो। लाभांश, लेखापरीक्षक लगायतका सबै प्रतिवेदन पारित भएपछि मर्जरको विशेष प्रस्तावमा अवरोध सुरु भएको थियो। अवरोध भने सभा सञ्चालन गरेका श्रेष्ठले नै गरेका थिए। 

उनले सञ्चय कोषले उठाएको विषयमा एन ट्रेडिङ र छाया इन्टरनेशनलको समर्थन रहेको बताए। उनले यो समूहको ३६.५८ प्रतिशत सेयर रहेको बताए। उनले छायाको ८.९, एन ट्रेडिङ १२.७७ र सञ्चय कोषको १४.८५ प्रतिशत सेयर रहेको बताए। 

कम्पनी ऐनको व्यवस्था अनुसार, सभामा उपलब्धमध्ये ७५ प्रतिशतले विशेष प्रस्ताव पारित गर्नुपर्छ। उपस्थितमध्ये ३६ प्रतिशतभन्दा बढी सेयर भएकाले यसको मतभार करिब ७५ प्रतिशत पुगेको भन्दै प्रचण्डले प्रस्ताव पारित भएको बताए। यसपछि आशिषले विरोध गरेका थिए। 

सभामा सुनिलबहादुर थापाले सञ्चय कोषको अध्यक्ष तुलसी गौतम हुँदा स्वीकृत भएको डीडीए अहिले अर्को प्रमुख आउँदा किन अस्वीकार्य भयो भनेर प्रश्न उठाएका थिए। उनले प्रतिष्ठित संस्थाले गलत काम गरेको बताए। 

सञ्चय कोषले पहिले स्वीकार गरेको डीडीए अहिले के कारणले अस्वीकार गरेको भनेर पनि प्रश्न उठाएका थिए।

सर्वसाधारणबाट सञ्चालक भएका विजयबहादुर श्रेष्ठले पनि मर्जरको पक्षमा बोल्दै सर्वसाधारणलाई डुबाउने काममा नलाग्न आग्रह गरेका थिए। ‘मर्जर अगाडि बढ्दा हामी सबैको सेयर कारोबार रोकियो। जब बजार बुलमा थियो हामीले व्यापार गर्न पाएनौं। ठिक छ मर्जर हुँदा राम्रो हुन्छ भनेर हामी बोलेनौं,’ उनले भने, ‘एमओयु भएको १० महिनापछि मर्जर हुँदैन भन्दा हामीमाथि अन्याय भयो।‘ 

अर्का सेयरधनी निरञ्जन टिबरेवालले सञ्चालक समितिबाट पारित गरेर ल्याएको विषयमा अहिले किन विरोध गरिएको भनेर सञ्चय कोष र अध्यक्ष श्रेष्ठमाथि प्रश्न उठाएका थिए। उनले मर्जर सफल बनाएर जानुपर्ने बताए।