BIZMANDU
www.bizmandu.com

विदेशी मुद्रा संचिति २ खर्ब ९२ अर्ब रुपैयाँ घटिसक्यो, राष्ट्र बैंक भन्छ- कोभिडअघि भन्दा राम्रो

२०७८ पुष २९

काठमाडौं। विदेशी मुद्राको संचिति निरन्तर घटिरहेको छ। बिहीबार सार्वजनिक विवरण अनुसार, मंसिरसम्म संचिति १२ खर्ब १४ अर्ब ३ करोडमा झरेको छ। अघिल्लो महिनाभन्दा सञ्चिति ३० अर्ब ८२ करोड रुपैयाँले कम हो।

Tata
GBIME
Nepal Life

चालु आर्थिक बर्षमा मात्र संचिति एक खर्ब ८५ अर्ब रुपैयाँले घटिसकेको छ। सञ्चिति कुनै बेला बढेर १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो। त्यस हिसाबले अहिलेसम्म २ खर्ब ९२ अर्ब रुपैयाँले घटिसकेको छ।

राष्ट्र बैंकले भने कोभिड अगाडिको तथ्यांकलाई राखेर संचिति घटेको तथ्यलाई नकार्ने गरेको छ। राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले पत्रकारहरुसँगको अन्तरक्रियामा कोभिड अगाडिको भन्दा संचिति राम्रो अवस्थामा रहेको बताएका थिए। उनले त्यसबेलाको आयात, रेमिटेन्स र ब्यापार घाटाको तथ्यांकलाई भने उल्लेख गरेका थिएनन्।

कोभिड सुरु भएपछि सरकारले २०७६ चैत ११ गते लकडाउन गरेको थियो। त्यस बेलाको चैतको तथ्यांकलाई आधार मान्दा विदेशी मुद्राको संचिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो।

राष्ट्र बैंकका अनुसार वैैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स कात्तिकको तुलनामा मंसिरमा बढेपनि पोहोरभन्दा घटेको छ। कात्तिकमा ७३ अर्ब १० करोड भित्रिएकोमा मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएको छ। यद्यपी पोहोरको मंसिरमा ७९ अर्ब ९ करोड रुपैयाँ भित्रिएको थियो।

आयात ८ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। एक महिनामै आयात एक खर्ब ८८ अर्ब १२ करोड रुपैयाँले बढेको हो। ब्यापार घाटा ७ खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।