BIZMANDU
www.bizmandu.com

नेपालको बिजुली बेच्न निफ्राले भारतको अडानी समूहलाई भित्र्यायो, २०० अर्ब बढी लगानी


नेपालको बिजुली बेच्न निफ्राले भारतको अडानी समूहलाई भित्र्यायो, २०० अर्ब बढी लगानी
नेपालको बिजुली बेच्न निफ्राले भारतको अडानी समूहलाई भित्र्यायो, २०० अर्ब बढी लगानी

काठमाडौं। पश्चिम नेपालका परियोजनाहरुबाट उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्‍याउन आवश्यक पूर्वाधार (ट्रान्समिसन लाइन) निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले भारतको सबैभन्दा ठूलो ऊर्जा कम्पनी अडानी ट्रान्समिसन कम्पनीसँग प्रारम्भिक एमओयु गरेको छ।

Tata
GBIME
Nepal Life

एमओयु लगत्तै अडानी पावरका दुई वरिष्ठ अधिकारीहरुले चार दिनअघि नेपालका उच्च अधिकारीहरुसँग काठमाडौंमा भेट गरेका छन्।नेपालमा उत्पादन हुने बिजुलीका लागि बाटो (ट्रान्समिसन लाइन) अडानी पावरले बनाउने र खपत बंगलादेशले गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। जलविद्युत निर्माणमा बंगलादेशी कम्पनीले लगानी गर्नेछ।

यसका लागि निफ्रा र अडानीसँगै बंगलादेशको कम्पनीसँग पनि साझेदारी हुने पक्का भएको छ। तीन देशका तीन वटै कम्पनीले यो परियोजना अगाडि बढाउन सेयर लगानी गरेर संयुक्त कम्पनी खोल्ने छन्।

कम्पनीमा बंगलादेश र भारतको मुख्य लगानी हुने छ। निफ्राले सेयरमा थोरै लगानी गर्नेछ भने ऋण लगानी उसको प्राथमिकतामा हुनेछ। नेपालमा उसले नीतिगत सहजीकरणको सम्पूर्ण कामहरु गर्ने छ। अडानीका प्रतिनिधिलेे ट्रान्समिसन लाइन निर्माणका बारेमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग पनि भेटेर छलफल गरिसकेका छन्।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले पश्चिमका तीन वटा करिडोरमा उत्पादित बिजुलीको बजार उपलब्धताका लागि ठूलो ‘क्रस बोर्डर’ ट्रान्समिसन लाइन निर्माणको तयारी भएको बताए। उनका अनुसार त्यसैका लागि अडानीसँग सम्झौता भएको हो।

निजी क्षेत्रका कम्पनीहरुले पनि ट्रान्समिसन लाइनमा लगानी गर्ने बाटो बजेटले खोलिदिएको छ। निफ्राकै पहलमा सरकारले ठूलो ट्रान्समिसनमा निजी क्षेत्रले लगानी गर्न सक्ने व्यवस्था गरिदिएको हो।

‘ट्रान्समिसन, ट्रेड र जेनेरेसन (प्रसारणलाइन, ब्यापार र उत्पादन) सँगसँगै अगाडि बढाउनका लागि अहिले धेरै काम भएको छ,’ खतिवडाले बिजमाण्डूसँग भने। 

अहिले पश्चिम नेपालमा तीन वटा प्रमुख करिडोरमा जलविद्युत निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ। सेती, कर्णाली र भेरी करिडोरमा बिजुली उत्पादनको प्रक्रिया अगाडि बढ्दैछ। सरकारले ‘हाइ भोल्टेज’ प्रसारणलाइनका लागि लगानी गर्न सकिरहेको छैन। त्यसैले त्यहाँ उत्पादित बिजुली खेर जाने अवस्था हुन्छ।

त्यही अवसरलाई हेर्दै सरकारको १० प्रतिशत सेयर लगानी भएको निफ्राले भारत र बंगलादेशी साझेदारसँग मिलेर हाइ भोल्टेज प्रसारणलाइन निर्माण गर्ने योजना अगाडि बढाएको हो।

‘यो परियोजनामा भारतीय र बंगलादेशी साझेदार नमिसाइ सफल हुन सकिन्न,’ खतिवडाले भने, ‘अडानीको अन्तर्देशीय प्रसारणलाइनमा राम्रो अनुभव छ। उनीहरु नेपालमा पनि यस्तो परियोजना खोजिरहेको र हामीलाई पनि त्यो आवश्यक भएकाले कुरा अगाडि बढेको हो।’

अडानी समूहले भारत-श्रीलंका, भारत-भुटान, भारत-म्यानमार र भारत-बंगलादेशको प्रसारणलाइनमा काम गरिरहेको छ। अडानी समूहले १९ हजार किलोमिटर प्रसारणलाइनको सर्किट बनाइसकेको छ भने २५ सय चालु वर्ष निर्माण गर्दैछ।

सुरुमा यो परियोजना अडानी समूहसँग मिलेर निफ्राले गर्न खोजेको थियो। तर ४५ सयभन्दा बढी मेगावाट बिजुली उत्पादन हुँदा ठूलो बजार आवश्यक पर्छ। बंगलादेशबाट बिजुलीको माग आइरहेको हुँदा त्यहाँ पुर्‍याउनका लागि रणनीतिक रूपमा बंगलादेशी साझेदार खोजिएको हो।

‘जसको भूमिमा पोल गाडिन्छ उ त साझेदार हुनै पर्‍यो, साथै जसको बजारमा बिक्री गरिन्छ उ साझेदार नभइ काम अगाडि बढाउन मुस्किल हुन्छ,’ खतिवडाले भने, ‘त्रिकोणीय हिसाबले साझेदारी गरेर अगाडि बढेका हौं।’ बंगलादेशी साझेदार भने टुंगिसकेको छैन।

तीन वटै करिडोरलाई समेट्ने गरी निर्माण हुने प्रसारणलाइनको लागत करिब २०० अर्ब रुपैयाँ हुने छ। तर यो पैसा एकै पटक भने खर्च हुने होइन। तीन वटै करिडोरमा बन्ने विद्युत परियोजनाहरु सम्पन्न हुने समय नजिकिँदै गएका बेला प्रसारणलाइनको पनि काम सँगसँगै हुने हो।

अहिले पश्चिम क्षेत्रमा फुकोट कर्णाली, बेतन कर्णाली, जगदुल्लाको काम अघि बढ्दैछ। साथै भेरी, पश्चिम सेती, तीला-१, तीला-२ लगायतका परियोजनाहरु पनि छन्। यी सबै निर्माण भएमा करिब ४५ सय मेगावाट बिजुली उत्पादन हुने छ।

‘उत्पादन मात्र भएर भएन। मुख्य कुरा भनेको व्यापार र प्रसारणलाइन हो,’ खतिवडाले भने, ‘हाइ भोल्टेज अन्तर्देशीय प्रसारणलाइन बनाउन सकियो भने बजारको समस्या हुँदैन। हाम्रो अर्थतन्त्रकै स्वरुप पनि फेरिन्छ।‘