BIZMANDU
www.bizmandu.com

अम्बानीलाई उछिन्दै क्रिप्टोकरेन्सीका सीइओ एसियाकै धनाढ्य बने, अपार्टमेन्ट बेचेर थालनी

२०७८ पुष २८

अम्बानीलाई उछिन्दै क्रिप्टोकरेन्सीका सीइओ एसियाकै धनाढ्य बने, अपार्टमेन्ट बेचेर थालनी
अम्बानीलाई उछिन्दै क्रिप्टोकरेन्सीका सीइओ एसियाकै धनाढ्य बने, अपार्टमेन्ट बेचेर थालनी

क्रिप्टोकरेन्सी उद्योगमा भएको बिस्तारले बिनान्सका संस्थापक चाङपेङ झाओलाई एसियाकै धनाढ्य बनाइदिएको छ।

Tata
GBIME
Nepal Life

झाओ विश्वकै धनाढ्यहरुको सूचीमा ११ औं नम्बरमा परेका छन्। ९६ अर्ब डलर कुल सम्पत्तिसहित ४४ वर्षका झाओले मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै धनाढ्य बनेका हुन्।

बिनान्सको तीव्र वृद्धि हेर्दा यसले आइटी जायन्टहरु मेटाका मार्क जुकरबर्ग र गुगलका संस्थापकहरु ल्यारी पेज र सेरगी ब्रिनलाई समेत उछिन्ने अनुमान गरिएको छ। बिनान्सको गतवर्ष अनुमानित बिक्रीमा आधारित भएर ब्लुमबर्गले यस्तो अनुमान गरेको हो। कम्पनीमा झाओको ९० प्रतिशत सेयर रहेको छ। बिनान्सले गतवर्ष मात्र २० अर्ब डलर आर्जन गरेका थिए। यो  रकम अमेरिकाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसको भन्दा तीन गुनाले बढी हो।

झाओको सम्पत्ति देखिएभन्दा बढी हुनसक्ने बताइएको छ किनभने हाल देखिएको सम्पत्तिमा उनको व्यक्तिगत क्रिप्टोहरु समावेश छैनन्। झाओको व्यक्तिगत बिटक्वाइन तथा बिनान्स क्वाइनहरु बाहेक नै उनको कुल सम्पत्ति ९६ अर्ब डलर रहेको छ। उनीसँग भएका क्रिप्टोकरेन्सीहरुको मूल्य गत एक वर्षमा नै १२५० प्रतिशतले बढिसकेको छ।

ब्लुमबर्ग बिलेनियर इन्डेक्सले हालै सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार झाओको अनुमानित सम्पत्ति कम्तीमा पनि ९६ अर्ब डलर रहेको छ।

हाल झाओको सम्पत्ति ओर्याकलका संस्थापक ल्यारी इलिसनको जति नै पुगेको  छ। चिनियाँ मूलका क्यानेडेली नागरिक झाओको यो उपलब्धीलाई डिजिटल मुद्रातर्फ अघि बढिरहको विश्वको झलक देखिएको विश्लेषकहरुले बताएका छन्।

गतवर्ष मात्रै अर्का क्रिप्टो संस्थापकहरु इथेरियमका सर्जक भिटालिक बुटेरिन र क्वाइनबेसका संस्थापक ब्रायन आर्मस्ट्रङ डलर अर्बपति क्लबमा प्रवेश गरेका थिए।

क्रप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका सीइओ साम ब्यांकम्यान फ्राइडले बिगतका केही वर्षहरुमा क्रिप्टो उद्योगले राम्रै परिमाणमा सम्पत्ति सिर्जना गर्न सफल भएको बताए।

आफैं पनि युवा अर्बपति रहेका फ्राइडले हङकङस्थित एसियन फाइनान्सियल फोरमको भर्चुअल छलफलमा धेरै मानिसहरु अहिले क्रिप्टो उद्योगको सफलताबाट अचम्ममा परेको हुनसक्ने बताए।

आफूले पाएको सफलतालाई झाओले ट्विट गरेका छन्- 'र्‍याङ्किङको चिन्ता नगर। आफूले कति जनालाई सहयोग गर्न सकिन्छ त्यसमा लक्षित होउ।'

त्यसलगत्तै झाओले अर्को ट्विट पनि गरे। जसमा उनले लेखेका छन् –'अलोकप्रिय विचार: सम्पत्तिको र्‍याङ्किङको सट्टा च्यारिटी र मानवीय सेवा तथा पहलको र्‍याङ्किङ हुनुपर्ने हो।'

बिनान्सका प्रवक्ताका अनुसार झाओले पनि अन्य उद्योगी तथा संस्थापकहरुजस्तै आफ्नो अधिकांश सम्पत्ति ९९ प्रतिशतसम्म पनि धन परोपकारमा लगाउने चाहना राखेका  छन्।

पछिल्ला केही वर्षहरुमा विश्वप्रसिद्ध बिजनेस लिडरहरु जस्तै मार्क जुकरबर्ग वारेन बफेट बिल र मेलिन्डा गेट्सहरुले आफ्नो सम्पत्तिको धेरैजसो हिस्सा सामाजिक कामका लागि दान दिन सुरु गरेका छन्। झाओले पनि त्यही कदम पछ्याउने चाहना राखेका छन्।  

झाओले सन् २०१७ मा बिनान्सको सुरुवात गरेका थिए जुन बिस्तारै विश्वकै ठूलो क्रिप्टो एक्सचेन्जमध्ये एक बन्न सफल भएको छ।

झाओ क्यानडामा आप्रवासी परिवारमा हुर्किएका युवा हुन्, जसले परिवार पाल्नका निम्ति म्याकडोनाल्डमा समेत काम गरेका थिए।

म्याकगिल विश्वविद्यालयबाट कम्प्युटर साइन्सको पढाइ सकेर उनले टोक्यो स्टक एक्सचेन्ज र ब्लुमबर्गको ट्रेडिङ सफ्टवेयरमा काम गरेका थिए।

सन् २०१३ ताका अनलाइनमा पोकर खेल्ने क्रममा उनले बिटक्वाइनबारे पढ्न थाले। त्यसैबेलादेखि उनले आफ्नो करिअर क्रिप्टो उद्योगमा लगाउने निर्णय गरे। बिटक्वाइन किन्नका लागि उनले आफ्नो अपार्टमेन्ट समेत बेचेका थिए।

अन्य एक्सचेन्जहरु जस्तै बिनान्सले पनि सुरुवाती दिनमा विश्वभरका नियामकहरुबाट बिभिन्न अवरोधहरु खेप्नु पर्‍यो। बेलायत र क्यानडा लगायत अन्य देशहरुले यसमाथि प्रतिबन्ध लगाएको थियो।

झाओले गतवर्ष  खुला पत्र लेखी क्रिप्टो उद्योगको नियमन यसको निरन्तर वृद्धिका लागि आवश्यक भएको धारणा राखेका थिए। उनले भनेका थिए –'जति धेरै नियमन हुन्छ वास्तवमा त्यो उद्योग परिपक्व हुँदै गैरहेको संकेत पनि हो। किनभने यसले बृहद् जनसंख्यालाई क्रिप्टो कारोबारमा संलग्नताका लागि सुरक्षित महसुस गर्ने आधार तयार पार्छ।'