BIZMANDU
www.bizmandu.com

५० लाख स्रोत नखुलेको पैसा सौर्य एयरलाइन्स अध्यक्ष दीपक पोखरेलको भएको पुष्टि, राजस्वले बोलायो


५० लाख स्रोत नखुलेको पैसा सौर्य एयरलाइन्स अध्यक्ष दीपक पोखरेलको भएको पुष्टि, राजस्वले बोलायो
५० लाख स्रोत नखुलेको पैसा सौर्य एयरलाइन्स अध्यक्ष दीपक पोखरेलको भएको पुष्टि, राजस्वले बोलायो

विराटनगर। प्रहरीले शनिबार बरामद गरेको स्रोत नखुलेको रकम सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको भएको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो।

Tata
GBIME
Nepal Life

पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा प्रहरीले लगाएको थियो। विभागले शाक्यसहित तीनजना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए। विभागले भने बरामद भएबराबरकै रकम धरौटी राखे मात्रै कर्मचारी रिहा गर्न मिल्ने जवाफ पठाएको थियो।

‘दीपक पोखरेलले सौर्य एयरलाइन्सको लेटरप्याडमा पैसा आफ्नो भएको भन्दै कर्मचारीलाई छाडिदिन आग्रह गरेका थिए। त्यसपछि आइतबार नगद वा चेक जम्मा गरिदिन भनेका थियौं,’ विभागका एक कर्मचारीले भने, ‘सोमबार पैसा जम्मा गरेपछि उनीहरु रिहा भएका छन्।’ ती कर्मचारीका अनुसार दीपकलाई बिहीबार विभागमा बयानका लागि बोलाइएको छ।

ती कर्मचारीका अनुसार स्रोत नखुलेको ५० लाखसँगै अब पोखरेलका कारोबारको समेत अनुसन्धान हुनेछ। पोखरेल सौर्य एयरलाइन्समा आउनुअघि पनि सुपारी कारोबारमा जोडिएका थिए। केपी ओलीका पालाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सौर्यका सञ्चालक दीपक पोखरेलको नेतृत्वमा रहेको सुपारी समूहलाई २५ हजार टन सुपारी पैठारी गर्ने कोटा दिएका थिए।

स्रोतका अनुसार ५० लाख रुपैयाँ विराटनगरका व्यापारी दिनेश राठीको कार्यालयबाट दिएको भन्ने जानकारी आएको थियो। त्यसबारेमा राठीसँग पनि विभागले टेलिफोनमा सोधपुछ गरेको थियो। सोधपुछको क्रममा राठीले पोखरेलले विभिन्न समयमा कार्गोका सामान दिने गरेकाले सामान नहेरी पठाइदिने गरेको जवाफ दिएका थिए।

विभागले सोधपुछ गरेपछि राठी पनि अहिले काठमाडौं आइसकेका छन्। स्रोत नखुलेको ५० लाखको कनेक्सनका बारेमा राठीसँग पनि थप सोधपुछ हुनेछ।

कसरी अगाडि बढ्यो अनुसन्धान?
काठमाडौंमा पक्राउ परेकी रेशासँग विभागले सोधपुछ गरेपछि सौर्यका विराटनगरस्थित स्टेसन म्यानेजर प्रकाश पौडेललाई पनि प्रहरीले पक्राउ गर्‍यो। पौडेलले दिएको बयानका आधारमा राठीसँग सोधपुछ गरिएको थियो।

त्यति नै बेला दीपकले औपचारिक रूपमा पत्र लेखेपछि थप अनुसन्धान अगाडि बढेको थियो। स्रोतका अनुसार, सुपारीको अवैध कारोबारकै कनेक्सन यो ५० लाख रुपैयाँसँग जोडिन्छ। व्यवसायीले आफूले पाएको कोटाअन्तर्गतको सबै सुपारी इन्डोनेसियाबाट पैठारी गरेका छन्। यसरी पैठारी गर्दा कसैले प्रति टन एक हजार ५० र कसैले एक हजार ८ सय डलरको बिल बनाएका छन्।

भन्सार विभागले सुपारीको भन्सार मूल्य प्रति टन एक हजार ५० डलर निर्धारण गरेको छ। जबकि इन्डोनेसियामा सुपारीको वास्तविक मूल्य नै प्रतिटन दुई हजारदेखि २३ सय डलरसम्म छ। यसरी न्युन बिजकीकरण (अन्डर इन्भोइसिङ) गरेर ल्याएको सुपारीलाई पैठारीकर्ताले प्रतिकिलो २ सय ५० देखि ३ सय ३० सम्मको भ्याट बिल बनाएर प्रतिकिलो सात सयदेखि आठ सयसम्ममा बिक्री गरिरहेका छन्।

राजस्व अनुसन्धान विभागका एक उच्च अधिकारीले विभागमा प्रतिकिलो ३ सय ५ रुपैयाँमा सुपारी बिक्री गरिएको बिल प्राप्त भइसकेको जानकारी दिए।‘इन्डोनेसियाबाट पैठारी गरेर विराटनगर वा झापाको गोदामसम्म ल्याइपुर्‍याउँदा राजस्वलगायतका सबै खर्च गरेर खासमा सुपारीको परल मूल्य प्रतिकिलो नेरु ३ सय ४५ हुन्छ,’ एक पैठारीकर्ताले बिजमाण्डूलाई भने, 'तर कोटा पाउने सबै पैठारीकर्ताले प्रतिकिलो ३ सय ३० भन्दा बढीको बिल बनाएका छैनन्।’

न्युन बिजकीकरण गरेर पैठारी गरिएको सुपारी न्युन बिजकीकरणमै बिक्री गर्नुको मुख्य कारण भ्‍याट र आयकर बढी नतिर्नका लागि हो भन्ने स्रोतको दाबी छ। यसरी न्युन बिजकीकरणमा सुपारी बिक्री गर्दा स्रोत खुल्न नसक्ने ठूलो धनराशि जम्मा हुन जान्छ। यही स्रोत खुल्न नसकेको रकम सौर्य एयरलाइन्सबाट पठाउने गरिएको हो।