काठमाडौं। हिउँदमा पानी सुक्छ, स्वाभाविकै हो। बर्सेनि जनसंख्याको चाप बढिरहेको काठमाडौं उपत्यकामा सुक्खायाम सुरु भएसँगै फेरि खानेपानीको हाहाकार सुरु भएको छ।
वर्षायाममै विकल्पमाथि कामहरु भइरहेको जनाएका खानेपानी तथा सरसफाइ मन्त्रालयका अधिकारीहरु समस्या सुनेको-नसुनेकै गरेर बसेका छन्। जिम्मेवार निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का पदाधिकारी परिस्थितिलाई दोष दिँदै वितरणको रुटिन सच्याइरहेका छन्। मागको अनुपातमा स्रोत व्यवस्थापन सुदृढ हुन नसक्दा हाहाकार सधैंको नियति बनेको छ।
भूमिगत र सतहका पानीको स्रोत सुक्न थालेपछि केयुकेएललाई वितरणको व्यवस्थापन मिलाउनै सकस हुन थालेको छ। उपत्यकामा पानीको माग ४३ करोड लिटर छ। ३५ वटा सतह स्रोत र १९ वटा ट्युवेल गरी दैनिक १७ करोड लिटर पानी वितरण गर्दै आएको केयुकेएलसँग सुक्खायाम सुरु भएसँगै स्रोत सुक्न थालेका कारण १० करोड लिटर मात्रै उपलब्ध छ।
प्राविधिकहरुका अनुसार अत्यन्त पुरानो प्रणाली रहेका कारण उपलब्धको पानीको पनि ४० प्रतिशत चुहिएरै सकिन्छ। ६ करोडको लिटर मात्रै पानी राजधानीवासीको धारामा पुग्छ। पानीको उपलब्धता मागको तुलनामा ७ गुणाभन्दा पनि कम भएपछि सेड्युल नै परिवर्तन गर्ने तयारीमा भएको छ।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मिलन शाक्यले केही दिनमा नै पानी वितरणको तालिका परिवर्तन सम्बन्धी सूचना सार्वजनिक गरिने बताए। 'पानी अहिले एकदमै कम छ। सुक्खा लाग्न थालेकाले स्रोतमा पानी घट्न थालिसकेको छ,' उनले भने,'अहिले ६ दिनमा पाइरहेकाले ९/१० दिनमा पाउँछन्। ३/४ तीन बढाएर सेड्युल निकाल्छौं।'
अहिले केयुकेएलले महाँकालचौर पानी ट्यांकीबाट ७ दिन बिराएर बानेश्वर, सिनामंगल, मैतीदेवी, सिफल, कालोपुल, चाबहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिगाउँ, मिनभवनबाट ७ दिन बिराएर बानेश्वर, बुद्धनगर, शंखमूल, थापागाउँ, कुरियागाउँ, अनामनगरबाट ७ दिन बिराएर अनामनगर, न्युरोड,मरु, लगन लगायतका स्थानमा पानी वितरण गरिरहेको छ।
बाँसबारीबाट ५ दिन बिराएर महाराजगंज, वसुन्धरा, बालुवाटार, पानीपोखरी, पानीपोखरीबाट ५ दिन बिराएर रानीबारी, लाजिम्पाट, नर्सरीचोक, गैरीधारा, बालाजुबाट ९ दिन बिराएर एराहिटी,वनस्थली, चमती, स्वयम्भू, बाफल, ताहाचल, नयाँ बजार, सोह्रखुट्टे, पकनाजोल, कीर्तिपुरबाट २ दिन बिराएर भंगाल, पागा, चिलन्चो, देवढोका लगायतका स्थानमा वितरण भइरहेको छ।
सैबु ललितपुरबाट १२ दिन बिराएर ललितपुर, सानेपा.मंगलबजार, कुपण्डोल, बोडेबाट ७ दिन बिराएर ठिमी, भक्तपुर,भक्तपुरबाट ४ दिन बिराएर भक्तपुर, सल्लाघारी, सूर्यविनायक लगायतका स्थानमा करिब १ देखि २ घण्टा पानी वितरण हुने गरेको छ। केयुकेएलले पानी वितरणको सेड्युल बनाएर सोही अनुसार वितरण गरिरहेको दाबी गरे पनि उपभोक्ताहरुले भने नियमित र भरपर्दो नभएको गुनासो गर्ने गरेका छन्।
सहरको सवारी चापबीच पानी बिक्री वितरणका लागि साँझ-बिहान गुडेका ट्यांकर थुप्रै देखिनुले पनि उपभोक्ता वैकल्पिक तरिकाले पानीको आवश्यकता पूरा गरिरहेको पुष्टि गर्छ। केयुकेएलले धारामा पानी दिन नसकेपछि ट्यांकर र जार लगायत अन्य विकल्प प्रयोग गर्न बाध्यता परेको हो।
मेलम्ची खानेपानी आयोजनाले परीक्षण चरणमा दैनिक १७ करोड लिटर पानी उपलब्ध गराएका कारण केयुकेएललाइ वितरणमा केही सहज भएको थियो। तर बाढीले क्षति पुर्याएपछि अनिश्चित बनेको छ। मेलम्ची आयोजनाबाट पुन: पानी कहिले आउँछ भन्ने जवाफ कुनै निकायसँग छैन। पुनर्निर्माणका लागि सरकारले डेढ अर्ब रुपैयाँ बजेट निकासा गरिसकेको भए पनि काम सुरु हुन सकेको छैन।
सुक्खायाम बढ्दा थप पानी घट्छ। जसले पानी वितरण थप असहज हुन्छ। चिसो सकिने बित्तिकै पानीको माग ह्वात्तै बढ्ने तर स्रोतहरु सुक्ने भएका कारण थप समस्या हुने शाक्यले गुनासो गरे।
के गर्दैछ केयुकेएल ?
मेलम्ची खानेपानी आयोजना अनिश्चित भएपछि केयुकेएलले पानी बढाउनका लागि विभिन्न स्थानमा डीप ट्युबवेल राख्न लागेको छ। नरेफाँट, सानेपा र टोखामा तीनवटा ट्युबवेल राखिसकेको छ। जसबाट दैनिक ३० लाख लिटर पानी प्रणालीमा थप भएको छ।
असारसम्म ठिमी,लोकन्थली, तार्केश्वर (२ वटा), बुढानिलकण्ठ (२ वटा), महालक्ष्मी नगरपालिका, ललितपुर, भक्तपुरको बागेश्वरी, चागुनारायण लगायतका स्थानमा १० वटा ट्युबवेल राख्न लागेको छ। केहीको ठेक्का लागेर काम भएको र केहीमा पानी छ/छैन भनेर फिजिविलिटी अध्ययन भइरहेको छ। १० वटै ट्युबवेल थप भएपछि प्रणालीमा १ करोड लिटर बढी पानी प्रणालीमा थपिने शाक्यले बताए।
त्यसबाहेक केयुकेएलले सञ्चालनमा रहेका २५ वटा ट्युबवेल मर्मत र सफा गर्ने, ३५ वटा सतह स्रोत सफा गर्ने योजना बनाएको छ। जसले ५० लाख लिटर पानी प्रणालीमा थप हुनेछ। ट्युबवेलका मेसिन र सतहहरु सफा गर्दा पानी बढ्ने शाक्यले दाबी गरे। मेलम्ची आउने अवस्था नभए उपत्यका वरिपरिका स्रोतहरु सिस्नेरी, कुलेखानी ड्याम, त्रिशूली लगायतको स्थानहरुको समेत विकल्पका रुपमा काम सुरु गर्नुपर्ने शाक्यको भनाइ छ।
त्यस्तै प्रस्तावित टोखाको सडक सुरुङमार्ग बनाउन सके त्यहाँबाट शिवपुरीको पानी समेत ल्याउन सकिने कुराहरु आइरहेकाले सरकारले त्यसबारे समेत अध्ययन गर्नुपर्ने उनको भनाइ छ। मेलम्ची आए पनि पानी नपुग्ने भएकाले त्यसको विकल्प हेर्नुपर्ने उनको भनाइ छ।