काठमाडौं। इजीलिंक रेमिट्यान्स प्रालि र महालक्ष्मी विकास बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।
यो सम्झौतापछि अब इजीलिंक रेमिट्यान्स भएर कोरियाको हानपास रेमिट्यान्स, जापानको ट्रान्स रेमिट्यान्स, साइप्रसको मासारी पेमेन्ट सर्भिसेस, अष्ट्रेलियाको इजीलिंक द्रान्सफर लगायतका साथै एसबीएल रेमिट, रेमिट टु नेपाल, कामना सेवा रेमिट, एडीबी रेमिट, लुम्बिनी रेमिट इत्यादिमार्फत आएको रकम महालक्ष्मी विकास बैंकका नेपालभरका १०३ शाखाबाट भुक्तानी लिन सकिने बताइएको छ।
यो सम्झौताले छिटो छरितो तरिकाले विप्रेषण रकम सेवाग्राहीसम्म पु¥याउन थप सहज हुने विश्वास दुवै पक्षको छ। इजीलिंक रेमिट्यान्सले आफनो व्यवसाय विस्तारलाई तीव्रता दिँदै खाडी मुलुक लगायत विश्वका विभिन्न मुलुकमा सेवा सुरु गर्न लागेको समेत कम्पनीका सीईओ अर्यालले जानकारी दिए।
सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, अपरेशन म्यानेजर सालिकराम दाहाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, केन्द्रीय कार्यसंचालन विभाग प्रमुख रमेशकुमार साहले संयुक्त रुपमा हस्ताक्षर गरे।
हाल इजीलिंक रेमिट्यान्सले दक्षिण कोरिया, जापान, साइप्रस, अष्द्रेलिया लगायत विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ। यी लगायत विभिन्न देशबाट पठाएको रकम नेपालस्थित बैंक खातामा ५ मिनेटमै जम्मा हुने व्यवस्था पनि मिलाएको कम्पनीको दाबी छ।
नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी, फाइनान्स कम्पनी, भुक्तानी एजेन्टहरुसहित देशभरका सात हजारभन्दा बढी एजेन्ट संञ्जालबाट सहज तरिकाले लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेशन म्यानेजर सालिक राम दाहालको भनाइ छ।