BIZMANDU
www.bizmandu.com

प्रहरी कारबाहीबाट संकलन हुने राजस्व ह्वातै बढ्यो: अवैध सुन र ट्राफिक कारबाहीमा सबैभन्दा धेरै

२०७८ पुष १३

काठमाडौं। प्रहरी कारबाहीबाट राज्यको लागि संकलन हुने राजस्वको रकम ह्वातै बढेको छ। गएको आर्थिक वर्षको पाँच महिना र चालु आर्थिक वर्षको तुलना गर्दा राजस्व १०६ प्रतिशत भन्दा बढीले वृद्धि भएको नेपाल प्रहरीले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको पाँच महिनामा मात्र  २ अर्ब २० करोड ८२ लाख ६० हजार ८ सय ७२ रुपैयाँ राजस्व संकलन भएको हो। अघिल्लो आर्थिक वर्ष (२०७७/७८)को पहिलो पाँच महिनामा १ अर्ब ६ करोड ८१ लाख २९ हजार ५ सय ५१ रुपैयाँ संकलन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

सबैभन्दा धेरै राजस्व संकलन अवैध सुन बरामदबाट भएको देखिएको छ। पाँच महिनामा सुनबाट मात्र ८५ करोड ६१ लाख ५५ हजार ७ सय ९१ रुपैयाँ संकलन गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३ सय ४० प्रतिशतले बढी हो।

आर्थिक वर्ष २०७७/७८ मा १९ करोड ४२ लाख ३७ हजार ९ सय ८७ रुपैयाँ संकलन गरिएको थियो। केही महिनायता विदेशबाट तस्करी गरेर ल्याउने सुन त्रिभुवन विमानस्थलमा पक्राउ हुने संख्या वृद्धि भएको देखिन्छ।

त्यस्तै, ट्राफिक कारबाहीबाट संकलन हुने राजस्वमा पनि ह्वातै वृद्धि भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार ६३ प्रतिशतले राजस्वमा वृद्धि भएको हो। ट्राफिक कारबाहीबाट चालु आर्थिक वर्षको पाँच महिनामा ५७ करोड ६० लाख ५५ हजार रुपैयाँ संकलन भएको एसएसपी कँवरले जानकारी दिए। आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा ट्राफिक कारबाहीबाट६  ३५ करोड १९ लाख २० लाख ७ सय रुपैयाँ संकलन गरिएको छ।

'प्रहरीको सक्रियताले सबै राजस्व संकलन बढेको छ। मास्क नलगाई हिँड्नेलाई कारबाहीबाट मात्र घटेको छ,' एसएसपी कुँवरले भने।

अवैध मुद्रा बरामदबाट हुने राजस्वको मात्र पनि बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा ५ करोड ८७ लाख ५५ हजार ५६७ रुपैयाँ संकलन गरिएको छ।

कोरोना संक्रमण रोकथामको लागि भन्दै प्रहरीले मास्क नलगाई हिँड्नेलाई कारबाही समेत गरेको थियो। तर संक्रमणदर कम र लकडाउन हटेपछि कारबाही पनि रोकिएको छ। पाँच महिनाको अवधिमा ८ लाख १६ हजार ५ सय रुपैयाँ सङ्कलन गरिएको छ।

गएको चाल आर्थिक वर्षमा नेपाल प्रहरी विभिन्न ८ शीर्षक २ अर्ब ९० करोड ९७ लाख १३ हजार ९ सय २३ रकम सङ्कलन गरेको हो। आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १७ करोड ७६ लाख ४२ हजार ३ सय ५४ रुपैयाँ संकलन गरेको थियो।