काठमाडौं। कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड 'ई-चुलो' दोस्रो वर्षमा प्रवेश गरेको छ। एलपी ग्यासको तुलनामा 'इ-चुलो' प्रयोग मार्फत ४० प्रतिशत इन्धन कम हुने कम्पनीका संचालक धर्म केसीले बताए।
'नेपालीको कुकिङ कल्चरलाई मध्यनजर गर्दै ई-चुलोको डिजाइन गरेका छौँ। यसमा खाना पकाउन, मकै भुट्नसँगै दूध लगायतका तरल पदार्थ तताउन सकिन्छ। साथै हरियो मकै, गोलभेडा तथा मासु पोल्न समेत सहज छ,' उनले भने।
टच सेन्सर कन्ट्रोल र डिजिटल डिस्प्ले समावेश गरिएका कारण सर्वसाधरणले सहजै चलाउन सक्ने उनले बताए। बजारमा पाइने इन्डक्सन चुलोको तुलनामा यो चुलोमा कम वाट खपत हुने उनले जानकारी दिए।
पछिल्लो समय मुलुकमा लोडसेडिङ हटेसँगै विद्युतीय चुलोको लोकप्रियता बढेको छ। प्रयोगकर्ताले यो चुलोमा आफ्नो इच्छा अनुसार तापक्रम सेट गर्न सक्ने कम्पनीले जनाएको छ।
'निर्माण सम्पन्नको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनाका हजार मेगावाट विजुली केही महिनामै केन्द्रिय प्रसारणलाईनमा जोडिदै छ। यो सन्दर्भमा मुलुकको विजुली स्वदेशमै सदुपयोग गर्न आवश्यक छ' उनले भने।
कम्पनीका अनुसार स्टील चुलोमा एक बर्ष र ग्लास चुलोमा दुई बर्ष वारेन्टी रहेको छ। ई-चुलोको नेपालभर बिक्री लिबर्टी इन्जिनियरिङ सोलुसनले गर्दै आएको छ।