BIZMANDU
www.bizmandu.com

मोबाइलमा ‘अहिले किन्नुस्, पछि तिर्नुस्’ सेवा, क्यूआरबाटै कर्जा पाइने, १२ महिनाको किस्ता सुविधा


मोबाइलमा ‘अहिले किन्नुस्, पछि तिर्नुस्’ सेवा, क्यूआरबाटै कर्जा पाइने, १२ महिनाको किस्ता सुविधा
मोबाइलमा ‘अहिले किन्नुस्, पछि तिर्नुस्’ सेवा, क्यूआरबाटै कर्जा पाइने, १२ महिनाको किस्ता सुविधा


काठमाडौं। क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मात्रै प्रयोग गर्दै आएको सुविधा अब बैंकमा तलबी खाता भएका सबै मोबाइल प्रयोगकर्ताले सजिलै प्रयोग गर्न पाउने भएका छन्। किनमेलमा जाँदा वा कतै बिल तिर्दा पैसा पुगेन भन्नु पर्ने अवस्था रहने छैन।आफूलाई आवश्यक पर्ने रकम कर्जा लिएर अनुकूलताअनुसार तिर्छु भन्न पाइने सुविधा आएको हो।

Tata
GBIME
Nepal Life

यसमा मोबाइल फोन प्रयोगकर्ताले क्युआरबाट भुक्तानी गर्दा अनुकूलताको अप्सन उपयोग गर्न सक्छन्। इसेवा, फोन पेको सञ्चालक कम्पनी एफवान सफ्टले फोन-लोनअन्तर्गतनै अर्को सेवा 'बाइ नाउ पे लेटर' सुरु गरेको हो।

यसअघि ल्याएको फोन-लोन छोटो अवधि (एक महिना) का लागि ऋण उपलब्ध गराउँदै आएको छ। एफवान सफ्टसँगको सहकार्यमा कुमारी बैंकले गत वर्षदेखि फोन-लोन सेवा सुरु गरेको थियो। अहिले फोन पेको क्यूआरमार्फत उक्त सेवाको लोकप्रियतालाई ध्यानमा राखेर इएमआइसहितको भुक्तानी सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। 

ऋण लिएको एक महिना भित्रै तिर्न ऋणीहरुलाई सहज नहुने देखेरै एफवान सफ्टले कर्जा अवधि केही बढी भएको प्रडक्टका रुपमा बाइ नाउ पे लेटर ल्याएको एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले जानकारी दिए। यसले ऋणको पहुँचमा थप व्यक्तिहरु पुग्ने उनले बताए।

बाइ नाउ पे लेटर कर्जामा बैंकहरुले प्रचलित ब्याजदर नै लिने बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि  बाइ नाउ पे लेटर पछिल्लो समय निकै रुचाइएको प्रडक्ट भएको भन्दै शर्माले सामान किनेपछि किस्तामा भुक्तानी गर्ने पद्धति लोकप्रिय बनेको बताए। 

बाइ नाउ पे लेटरले हाम्रो निक्षेप केन्द्रित अर्थतन्त्रलाई कर्जा (लेन्डिङमा आधारित) तर्फ रुपान्तरण गर्ने शर्माको जिकिर छ। मध्यम आय भएका व्यक्तिहरुलाई हरेक दिनको आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा एफवान सफ्टको छ। बाइ नाउ पे लेटर फोन पेकै नेटवर्कमा चल्ने भएकाले कुनै पनि क्यूआर कोड भएका मर्चेन्टबाट यो सुविधा लिन सकिन्छ। 

'कुनै रेष्टुरेन्टमा जानु भयो २० हजार रुपैयाँको बिल उठ्यो। तत्कालै २० हजार तिर्‍यो भने बाँकी महिना समस्या पर्ने सक्ने देखेर मैले स्क्यान पे गर्ने बेलामा किस्तामा तिर्न सक्ने विकल्प छान्न सक्छु,' शर्माले भने,'म अहिले नै २० हजार तिर्दिन, पाँच पाँच हजार गरेर चार महिनामा किस्तामा तिर्छु भन्न पाइन्छ।'

बैंकले ऋणीको २० हजार रुपैयाँको कर्जा बुक गर्छ। तर, रेष्टुरेन्टको खातामा भने स्क्यान गरेर भुक्तानी गर्ने वित्तिकै पैसा पाउँछ। बाइ नाउ पे लेटर अहिले कुमारी बैंकमा मात्रै उपलब्ध छ।

फोनलोन एक महिनाको कर्जा सुविधा लक्ष्मी, नबिल, मेगा, सिटिजन्स बैंकबाट उपलब्ध छन्। प्रभु, एभरेष्ट, नेपाल बंगलादेश, माछापुच्छ्रेलगायतका बैंकहरुमा यो सुविधा सुरु गर्ने तयारी भइरहेको एफवानसफ्टले जनाएको छ। 

गत वर्षसम्म आफुहरु फिनटेक कम्पनी भए पनि भुक्तानी सेवा मात्रै दिइरहेको भन्दै अब भने फरक फरक सेगमेन्टका प्रडक्ट विकास गर्दै जाने शर्माले बताए। 

अहिले कुनै पनि बैंकहरुले २० हजार रुपैयाँ कर्जा उपलब्ध नगराएको भन्दै शर्माले आफूहरुको नयाँ प्रडक्टले कम कर्जा पनि उपलब्ध गराउने अवस्था आएको बताए। 'म तलब खान्छु। बैंकमा पैसा जान्छ। मैले कति कमाउँछु भन्ने बैंकलाई थाहा छ। मलाई कति ऋण दिन मिल्छ भन्ने बैंकलाई थाहा छ। तर, त्यो ऋण मलाई बैंकले दिइरहेको छैन। अहिले केही किन्नुपर्‍यो भने सापटी माग्दै हिड्नुपर्ने अवस्था छ। कि त सेभिङ गरेर जुटाउनुपर्ने अवस्था छ। हामीले त्यति सुविधा नदिँदा मान्छेहरुको प्रडक्टिभिटी घटाइरहेका रहेछौं,' उपभोक्ताहरुको गुनासो उदृत गर्दै शर्माले भने।  

यस्तै, बैंकका लागि यो सेवा नयाँ भने नभएको कुमारी बैंकको डिजिटल बैंकिङ प्रमुख अनिस ताम्राकारले बताए। यो सेवा क्रेडिट कार्डको विस्तारित भर्सन भएको उनले प्रतिक्रिया दिए। 

'ग्राहकहरुको वित्तीय हैसियत अनुसार हामीले कर्जा सुविधा दिइरहेका छौं। क्रेडिट कार्डलाई अब यसले विस्थापित गरेको भन्दा पनि हुन्छ,' ताम्राकारले भने। 

क्रेडिट कार्डभन्दा बाइ नाउ पे लेटर विस्तारित भर्सन भएको ताम्राकारले बताए। यसअघि क्रेडिट कार्डबाट इएमआइ सेवा पाइरहेको अवस्थामा हातमा भएको मोबाइलबाटै यो सेवा पाइने भएका क्षमता बढ्ने अपेक्षा बैंकले गरेको उनले बताए। डिजिटल बैंकिङको युगमा मोबाइल बैंकिङबाट यो सेवा सुरु गरेकोमा उनले खुसी व्यक्त गरे।

कसरी प्रयोग गर्ने बाइ नाउ पे लेटर?
सेवा सुरु भएको बैंकको मोबाइल एप चलाइरहनु भएको छ र ऋणका लागि योग्य भएमा किस्ताको सुविधा पाइने शर्माले जानकारी दिए। अहिले फोन लोनबाट बाइ नाउ पे लेटर सेवा कुमारी बैंकले मात्रै दिइरहेको छ। केही समय भित्रै यो सेवा अरु वाणिज्य बैंकहरुले पनि सुरु गर्दैछन्। 

बैंकले तय गरेको मापदण्डअनुसार बाइ नाउ पे लेटरको सुविधा पाइन्छ। 

यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्नेछ। कुमारी बैंकको मोबाइल एप्समार्फत क्यूआर भुक्तानी गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अथवा तत्काल भुक्तानी गर्ने भन्ने अप्सन देखाउने छ। 

उक्त अप्सनमार्फत ग्राहकले इएमआई मार्फत समेत भुक्तानी गर्न सक्नेछन्। मर्चेन्टलाई भने कुमारी बैंकले तत्कालै रकम भुक्तानी दिनेछ भने ग्राहकले किस्ताबन्दीमा तिर्न सक्नेछन्।   

क्यूआर स्क्यान गरेर भुक्तानी गर्ने समयमै कन्फर्मको तल 'बाइ नाउ पे लेटर'को विकल्प देखिने उनले बताए। बाइ नाउ पे लेटरमा क्लिक गरेपछि ऋण लिने रकम, कति महिनाको किस्ता (१, ३, ६, ९ र १२ महिना) तिर्ने भन्ने विकल्प छनोट गर्न सकिने बताइएको छ। बैंकलाई मासिक तिर्नुपर्ने ब्याजको विवरणसमेत त्यही देखिने शर्माले बताए। ब्याजदर बैंकअनुसार फरक हुन सक्छ। 

कुमारी बैंकका सबै ग्राहकहरुले यो सेवा पाउने छैनन्। तत्कालका लागि कुमारी बैंकमा तलब खाता भएका ग्राहकहरुले बाइ नाउ पे लेटरको सुविधा पाउने छन्। भविष्यमा अन्य ग्राहकहरुलाई पनि यो सेवा दिने तयारी कुमारी बैंकको छ।

कुमारी बैंकले न्यूनतम १५ हजार रुपैयाँ बाइ नाउ पे लेटरमा उपलब्ध गराउँदै आएको छ। के कति रकम किस्तामा उपलब्ध गराउने भन्ने बारे बैंकले नै तय गर्नेछ। अधिकतम भने राष्ट्र बैंकले तोकेअनुसार हुनेछ। राष्ट्र बैंकले डिजिटल लेन्डिङका लागि अधिकतम दुई लाख रुपैयाँ तय गरेको छ। 

फोनबाटै ऋण लिन पाउनु भनेको बैंकलाई नै नयाँ बजार भएको देखिन्छ। मोबाइल एपबाटै ऋणीले कर्जा पाउन योग्य छ वा छैन भन्ने निर्क्यौल हुने भएकाले बैंकहरुले प्रोसेसिङका लागि छुट्टै लगानी गर्नु नपर्ने शर्माले बताए। बाइ नाउ पे लेटर सेवा पाउनका लागि सेवा उपलब्ध रहेका बैंकका योग्य ग्राहकहरुले मोबाइल एपबाट एकपटक दर्ता भने गर्नुपर्ने हुन्छ। बाइ नाउ पे लेटर सेवा पाउनका लागि बैंकहरुले मापदण्ड तोकेका छन्।