काठमाडौं। यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने योग्यता तोकेको छ।
प्रस्तावित 'सवारी तथा यातायात व्यवस्था ऐन,२०७७' मा लाइसेन्स प्राप्त गर्ने चालकको योग्यता तोकेको हो। उक्त ऐनको ड्राफ्ट तयार पारेर विभागले राय, परामर्शका लागि मंसिर २ गते कानुन मन्त्रालय पठाएको छ।
यस्तो अवस्थामा व्यक्ति चालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य मानिने छ –
(१) ठूला सवारीको निमित्त २३ वर्ष उमेर पुरा नगरेको,
(२) मझौला सवारीको लागि २१ वर्ष उमेर पुरा नगरेको,
(३) सानो सवारी र दुई पांग्रे, मोपेडको लागि १८ वर्ष उमेर पुरा नगरेको,
(४) व्यवसायिक सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि १० कक्षा उत्तीर्ण नगरेको,
(५) छारे रोग भएको वा मानसिक सन्तुलन गुमाएको वा एकाएक रिङ्गटा लाग्ने वा मुर्छा पर्ने किसिमको रोग भएको,
(६) ठूला र मझौला सार्वजनिक सवारीका लागि ६० वर्ष उमेर पूरा गरेको,
(७) रातो, हरियो, पहेंलो रंगहरु तुरुन्त छुट्याउन नसक्ने दृष्टिदोष भएको,
(८) रतन्धो भएको व्यक्ति, एक वा दुवै आँखाको दृष्टि गुमेको वा आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठिक नभएको,
(९) एक वा दुवै हात, एक वा दुवै खुट्टा शक्तिहीन भइ काम दिन नसक्ने भएको,
प्रस्तावित ऐनमा साधारण ध्वनि संकेत सुन्न नसक्ने गरी बहिरो भएको व्यक्तिको चालक क्षमता सम्बन्धमा परीक्षण गराई लाइसेन्स दिन सकिने व्यवस्था गरिएको छ। खास किसिमले बनेको विशेष किसिमको सवारी साधन र तोकेको मापदण्ड पुरा भएको सडकमा निजी प्रयोजनको लागि सवारी चालक अनुमति पत्र प्राप्त गर्न योग्य भएको मानिने उल्लेख छ।