काठमाडौं। नेपाल टेलिकमले आफ्नो ब्राण्ड एम्बेसडरमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नियुक्त गरेको छ। कलाकारिता क्षेत्रमा चार दशकभन्दा लामो समय बिताइसकेका महजोडीलाई टेलिकमले ब्राण्ड एम्बेसडर बनाएको हो।
मंगलबार एक कार्यक्रम आयोजना गर्दै टेलिकमले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्यले हस्ताक्षर गरे।
टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ब्राण्ड एम्बेसडर हुन पाएकोमा हर्षित भएको प्रतिक्रिया दिए।
सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबर्द्धन तथा संरक्षण सम्बन्धी कार्यहरु गर्ने टेलिकमले जनाएको छ।
टेलिकमले एक वर्षको लागि सम्झौता गरेको छ। भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।