काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओबीच संयुक्त लगानी बिस्तारका बारेमा छलफल भएको छ।
महासंघमा भएको औपचारिक भेटमा दुईबीच आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी बिस्तार गर्नेबारे छलफल भएको हो।
भेटमा महासंघका अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन बाह्य सहयोगको आवश्यकता रहेको बताए। उनले बिगत दुई वर्षको दौरानमा नेपाली अर्थतन्त्रले निकै धेरै चुनौतीको सामना गर्नु परेको धारणा राखे।
सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण अर्थतन्त्र ठूलो दूर्घटनाबाट जोगिएको स्पष्ट भन्दै उनले अझै खतरा भने टरिनसकेकाले अर्थतन्त्रका आधारहरू बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताए।
उनले महासंघले अर्थतन्त्रको मुख्य आधारशिलाका रूपमा रहेको साना तथा मझौला उद्यम व्यवसायको लागि तत्काल पुनरोत्थानमा जोड दिएको बताए। महासंघले आगामी १० वर्षमा नेपालको अर्थतन्त्रको सुखद परिकल्पना गरी भिजन पेपर ल्याएको त्यसलाई सफल पार्न पर्याप्त बाह्य एवं अन्तरिक लगानी आवश्यक रहेको धारणा राखे। नेपाल सरकारबाट समेत महासंघको उक्त दस्तवेजलाई अपनत्व लिई कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।
नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि अध्यक्ष गोल्छाले आग्रह गरे।
नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, बाह्य लगानीका लागि सरकारी अनुकूल नीति र लगानीकर्तालाई हार्दिकतापूर्वक स्वागत गर्ने निजी क्षेत्रको चाहना रहेको भन्दै उनले लगानीका लागि सहयोग गर्न आग्रह गरेका हुन्।
भौगोलिक अवस्था र युवाहरूले भरिएको मुलुक भएकाले नेपालमा गरेको लगानीबाट पर्याप्त लाभ उठाउन सकिने उनको भनाइ छ।
राजदूत जिल बुर्बाओले महासंघले अघि सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
'हामी धेरै क्षेत्रमा छरिनुभन्दा पनि ठोस र परिणामदायीरूपमा काम गर्न सकिने क्षेत्रहरू पहिचान गरी अगाडि बढौं, सफलता हासिल हुनसक्छ,' राजदूत जिलले भने– 'नवीकरणीय ऊर्जा, कृषिको उत्पादकत्व वृद्धि, पर्यटन, विद्युतीय सवारी साधन लगायतका क्षेत्रमा सहकार्य गर्न सक्छौं ।'