BIZMANDU
www.bizmandu.com

सेयर बजार ८८ अंकले झरेर २३६१ अंकमा आयो: तरलताको चरम संकट, छोएन ‘भद्र सहमति’ ले पनि

२०७८ मंसिर २६

काठमाडौं। बैंकिङ तरलता संकटका बीच घटिरहेको सेयर बजार साताको पहिलो कारोबार दिन २४ सय अंकभन्दा तल आएको छ। फराकिलो अन्तरले घटेको बजार २३६१ अंकमा आइपुगेको हो।

Tata
GBIME
Nepal Life

जम्मै उपसूचकहरु रातो भएका छन्। युनिलिभर नेपाल, नारायणी विकास बैंक, मञ्जुश्री फाइनान्स र केही ऋणपत्र तथा सामूहिक लगानी कोषका इकाइ बढेका छन्। बाँकी सबैको मूल्य ओरालो लागेको छ। नयाँ सारथी लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुले पुसमा निक्षेपको ब्याज नबढाउने भद्र सहमति बाहिरिएपछि बजार फराकिलो अन्तरले घट्दैन भन्ने अनुमान थियो। तर, विश्लेषकहरुको सबै अनुमानलाई पन्छाएर बजार ८८.७ अंक तल आएको हो। 

मञ्जुश्री फाइनान्स, नेशनल हाइड्रो र नबिल बैंकको सेयर १० करोड रुपैयाँमाथिको भएको छ। त्यसमा पनि मञ्जुश्री फाइनान्सको करिव २० करोड रुपैयाँको कारोबार भएको छ। दिनभरीमा कुल ३ अर्ब १९ करोडको कारोबार भएको छ।

अहिले बैंकहरुमा तरलता अभाव छ। बैंकहरुले आफ्नो दैनिकी चलाउन पनि हरेक दिन राष्ट्र बैंकसँग सापटी लिनु परेको छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, सीडी रेसियो ९१.२४ प्रतिशत पुगेको छ। यो औषत सीडी रेसियो हो। केही बैंकको ९७ प्रतिशतसम्म पुगेको छ। 

तरलता अभावका कारण बैंकहरुले ऋण लगानीमा एकदमै 'चुजी' भएका छन्। पहुँच नभएकाहरुले ऋण पाउन सक्ने अवस्था छैन। सेयर ऋण लगाएकाहरुसँग बैंकहरुले उठाउन थालेका छन्। पुरानो ऋण नवीकरण गर्छ छाडेका छन्।