BIZMANDU
www.bizmandu.com

एलन मस्क भारतको इन्टरनेट व्यापारमा छिर्दै, कम्पनी दर्ता गरेर २०२२ भित्रै अनुमति लिने तयारीमा

२०७८ मंसिर २०

एलन मस्क भारतको इन्टरनेट व्यापारमा छिर्दै, कम्पनी दर्ता गरेर २०२२ भित्रै अनुमति लिने तयारीमा
एलन मस्क भारतको इन्टरनेट व्यापारमा छिर्दै, कम्पनी दर्ता गरेर २०२२ भित्रै अनुमति लिने तयारीमा


काठमाडौं। विश्व धनाढ्य एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सको सेटलाइट इन्टरनेट डिभिजन स्टारलिंक आगामी वर्ष २०२२ भारतमा व्यापारिक अनुमतिपत्रका लागि आवेदन दिने भएको छ।

Tata
GBIME
Nepal Life

भारतमा ब्रोडब्याण्ड तथा अन्य सेवा दिने गरी मस्कको कम्पनी भारत प्रवेशको तयारी गरिरहेका छन्।

‘हामीलाई कुनै व्यवधान परेन वा कुनै अप्रिय परिस्थिति भएन भने ३१ जनवरी, २०२२ मा वा त्योभन्दा अघि व्यवसायिक लाइसेन्सका लागि भारतमा आवेदन दिनेछौं,’ स्टारलिंकको भारतका कन्ट्री डिरेक्टर सञ्जय भारगवाले भने।

कम्पनीले आगामी अप्रिल भित्र सेवा सुरु गर्न सके डिसेम्बर २०२२ भित्र दुई लाख स्टारलिंक डिभाइस जडान गर्ने लक्ष्य राखेको छ। 
कम्पनीले ८० प्रतिशत स्टारलिंक डिभाइस भारतका ग्रामीण क्षेत्रहरुमा राख्ने योजना बनाएको छ। 

स्टारलिंकले साना सेटलाइट (लो-अर्थ अर्बिट नेटवर्क) लन्च गरेर लो-ल्याटेन्सी ब्रोडब्याण्ड इन्टरनेट सेवा विश्वभर दिँदै आएको छ। ग्रामीण क्षेत्रहरुमा जहाँ टेरेस्ट्रियल इन्टरनेट पूर्वाधार पुर्‍याउन गाह्रो हुन्छ त्यहाँ स्टारलिंकले आफ्नो सेवा विस्तार गर्ने रणनीति बनाएको छ। 

स्टारलिंकमा भारतका लागि प्रमुख प्रतिस्पर्धी अमेजनको कुइपर र वानवेब हुनेछ। वानबेबमा बेलायत सरकार र भारतको भारती इन्टरप्राइजेजको संयुक्त लगानी छ।  

सेवा सुरु नगर्दै स्टारलिंकको डिभाइसका लागि भारतमा पाँच हजार बढी प्रि-अर्डर आइसकेको बताइएको छ। अघिल्लो साता भारत सरकारले आफ्ना नागरिकहरुलाई स्टारलिंकको सेवा सब्स्क्राइब नगर्न सूचना जारी गरेको थियो। अनुमति वा स्वीकृति नपाइ सेवा सुरु गर्न नपाइने भन्दै भारत सरकारले स्टारलिंकलाई सेवा अर्डर वा बुकिङ नलिन आग्रह गरेको छ। 

भारत सरकारको आग्रह पछि स्टारलिंकले इन्टरनेट डिभाइसको प्रि-अर्डर लिन बन्द गरेको जनाएको छ। उसले आफ्नो वेबसाइटमा ‘अनुमति लिने प्रयास भइरहेको’ सन्देश राखेको छ। 

कम्पनीले गत महिना भारतमा स्टारलिंक सेटलाइट कम्युनिकेसन प्रालिको नाममा कम्पनी दर्ता गराएको थियो। (एजेन्सीको सहयोगमा)