BIZMANDU
www.bizmandu.com

ढाकामा नबिल र नेपाल बंगलादेश बैंक मर्जर छलफल हुँदै: आइतबार ढाका जाँदै सञ्चालक, के हो रणनीति

२०७८ मंसिर १६

काठमाडौं। आइएफआइसी बैंकको ४०.८९ प्रतिशत सेयर खरीद र नेपाल बंगलादेश (एनबि) बैंक गाभ्ने बिषयमा छलफल ढाकामा हुने भएको छ। 

Tata
GBIME
Nepal Life

नबिल बैंकको प्रमुख सेयरधनी चौधरी समूहका प्रतिनिधि, एनबि बैंकका सञ्चालक र आइएफआइसी बैंकका प्रतिनिधिबीच ढाकामा छलफल गर्ने तय भएको छ।

एनबि बैंकको सञ्चालक समिति बैठक यसपाली ढाकामा बस्दैछ। यहीबीचमा नेपाल उद्योग परिसंघको कार्यक्रम बनाएर नबिल बैंकका उपाध्यक्ष तथा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी ढाका जाँदैछन्।

एनबि बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत आइतबार ढाका जाने तय भइसकेको छ। त्यही बेला चौधरी समूहका प्रतिनिधि पनि ढाका जाँदैछन्। केही समय ढिला गरी निर्वाण पनि ढाका जाँदैछन्। औपचारिक रुपमा दुबै बैंकका सञ्चालकहरुले ढाकामा भेट हुन लागेको कुरालाई संयोग भनेका छन्।

तर स्रोतहरुले आइएफआइसी बैंकको सेयर मूल्यको मोलमोलाइ (नेगोसिएसन) का साथै एनबि बैंकको सञ्चालक समितिसँग मर्जर र स्वाप रेसियो बारे छलफल गर्न दुबै बैंकका उच्च अधिकारीहरु ढाका जान लागेको दावी गरेको छ।

'आइएफआइसीको सेयर एनबि समूहका सदस्यले खरीद गर्न नपाउने राष्ट्र बैंकले भनिसकेको छ। अब बाहिरका मान्छेले पनि खरीद गर्न पाउँछन्। त्यसैले त्यो सेयरको मूल्यका बारेमा पनि छलफल हुने छ' स्रोतको दाबी छ, 'अर्कोतिर एनबि बैंकका सञ्चालकहरुसँग पनि मर्जर कसरी, कहिलेसम्म र कति मूल्यमा गर्ने पनि छलफल हुने छ।'

उनका अनुसार, ढाका बैठक सार्थक भएमा बाँकी प्रकृया बल्ल सुरु हुने छ। मर्जरका लागि दुबै पक्षबीच तिहारदेखि कुराकानी सुरु भएको हो।

नबिललाई किन मर्जर? 
नबिल बैंकले गत आर्थिक वर्ष चार अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्यो । यो कमाइमा विशुद्ध बैंकिङबाट भएको कमाइसँगै ठूलो हिस्सा विभिन्न कम्पनीको सेयर बिक्रीबाट आएको आम्दानी पनि छ।

यही कमाइको बलमा नबिलले यसपाली ३८ प्रतिशत लाभांश घोषणा गरेको हो। १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर दिएर थप पुँजी वृद्धि गरिँदैछ। अब चुक्ता पुँजी १८ अर्ब ४९ करोड पुग्ने छ।

यो पुँजीको आधारमा चालु वर्षको नाफाबाट बैकले १२/१५ प्रतिशतभन्दा बढि लाभांश दिन सक्दैन। यही आकलन गर्दै बैंकको उच्च व्यवस्थापनले नबिल बैंकको 'सुपर सञ्चालक समिति' विनोद चौधरीलाई 'कल्चर' मिल्ने वा आफ्नोमा चाँडै ढाल्न सकिने खालका बैंकलाई मर्जरमा ल्याउनु पर्ने सुझाब दिएको थियो। 

तिहारछेक भएको यो कुराकानीपछि एनबि बैंकसँगक कुराकानी अगाडि बढेको हो। एनबि बैंक मर्ज गर्दा आइएफआइसी बैकको सेयर पनि खरीद गरेर अझ धेरै हिस्सेदारी बढाउन चौधरीले चाहेका छन्।

यसअघि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग पनि नबिलको कुराकानी भएको थियो। मूल्यलगायत धेरै कुरा नमिलेपछि अन्तिम समयमा आएर मर्जर नगर्ने पक्षमा नबिल बैंक पुगेको थियो। 

नबिलमा स्वदेश विदेश गरेर चौधरी समूहको करिब ६५ प्रतिशत सेयर छ। सञ्चालक समितिमा छोरा निर्वाण भए पनि चौधरीले नबिललाई नजिकबाट हेर्ने गरेका छन्। बैंकको महत्वपूर्ण निर्णयहरु उनले अध्यक्ष उपेन्द्र पौडेलसँग छलफल गरेर लिने गर्ने गरेका छन। यो मर्जरमा पनि उपेन्द्रले चौधरीलाई सुझाएका हुन्।

नेपाल बंगलादेश बैंकसँग मर्जरमा गएमा उसका केही सम्पतिहरु छन् त्यसको लाभ नबिलले लिन सक्ने छ। अन्य सञ्चालन खर्च तुलनात्मक रुपमा कम भएका कारण त्यो लाभ पनि प्राप्त हुने छ। एनबिसँगै उसको ऋणलगायतका ब्यापार आउने छ। यस हिसाबले मर्जरपछि नबिलको लाभांश दिने क्षमता अर्को ४/५ वर्ष थप २० प्रतिशत बिन्दुले बढ्ने अनुमान नबिल बैंक पक्षका अधिकारीहरुले गरेका छन्। 'यही अर्थशास्त्रका आधारमा मर्जरको कुराकानी अगाडि बढाइएको हो,' स्रोतको दाबी छ।