काठमाडौं। बाणिज्य बैंकहरुको निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) घट्न थालेपछि राष्ट्र बैंकको नियम बिपरित गएर आधार दरपछि लाग्ने प्रिमियम बृद्धि गर्न थालेका छन्।
राष्ट्र बैंकले विभिन्न शिर्षकमा लाग्ने शुल्क, कमिसन घटाइदिनुका साथै निक्षेपको ब्याज बृद्धि र आधार दर गणना समय फरक भएका कारण उनीहरुले पुराना ऋणीसँग गरेको सम्झौता बिपरित बीचमै प्रिमियम बढाइ दिन थालेका हुन्।
कुन कुन बैंकले नियामकीय प्रावधान मिचेर प्रिमियम बृद्धि गरे भन्ने उजुरी बैंकरले नै राष्ट्र बैंकलाई दिइरहेका छन्। करिव १५ वटा बैंकहरुले प्रिमियम बीचमै बढाएको पाइएको छ।
बैंकहरुले ऋणको ब्याज निर्धारण आधार दरमा निष्चित प्रतिशत प्रिमियम जोडेर गर्छन्। मानौं ८ प्रतिशत आधार दर छ भने तीन प्रतिशत प्रिमियम राखेका हुन्छन्। यसले गर्दा कुल ब्याज दर ११ प्रतिशत हुन आउँछ। यो ब्याज दर आधार दरका आधारमा तलमाथि हुन्छ।
आधार दर ९ प्रतिशत पुग्यो भने प्रिमियम ३ प्रतिशत यथावत रहेर ब्याज १२ प्रतिशत पुग्छ। ग्राहकसँगको प्रिमियम विशेष परिस्थितिमा मात्र परिवर्तन गर्न पाइन्छ। तर बैंकहरुले अहिले मनपरी ढंगले प्रिमियम परिवर्तन थरिदिन थालेका हुन्।
बैंकहरुले मनपरी ढंगले प्रिमियम परिवर्न गर्न लागेको बैंकरहरुले नै स्वीकार गरेका छन्। 'अब एउटा/दुईटाले मात्र होइन धेरैले नै परिवर्तन गर्न थालेका छन्' एक बैंकरले भने, 'यसमा अलिकति लचतका राष्ट्र बैंकले अपनाउनु पनि पर्ने हो। धान्नै नसक्ने अवस्था भएकाले परिवर्तन गरिएको हो।'
यता नेपाल राष्ट्र बैंकले तीन साताअघि नै १० करोड रुपैयाँसम्मका ऋणको साउनदेखिको प्रिमियम माग गरेको छ। एक साताभित्र उपलब्ध गराउन भनिएपनि कुनै पनि बैंकले विवरण पठाएका छैनन्।
बैंकहरुले भने आफ्नो नाफामा कमी नआओस् भनेर प्रिमियम दर परिवर्तन गरेका हुन्। राष्ट्र बैंकको नियम अनुसार निक्षेपको ब्याज दर हरेक महिना परिवर्तन गर्न पाइन्छ। तर आधार दर भने तीन/तीन महिनामा मात्र परिवर्तन गर्न पाइन्छ।
ऋणीले नियमित पैसा नतिरेमा मात्र प्रिमियम दर बढाउन पाइन्छ। तर नियमित ऋण भुक्तान गरिरहेकाहरुलाई समेत बैंकहरुले दु:ख दिन थालेका हुन्।
पछिल्ला दिन बैंकहरुले निक्षेपको ब्याज बढाए पनि आधार दर त्यही महिना बढाउन सक्दैनन्। यसले एकातिर निक्षेपलाई भुक्तानी गर्नुपर्ने ब्याज खर्च बढ्ने अर्कोतिर आधार दर अर्को महिना मात्र समायोजन गर्न पाइने भएकाले ऋणीबाट पुरानै ब्याज असुल हुन्छ। यसले गर्दा बैंकहरुको खुद ब्याज आम्दानी गिरावट हुने छ। यसलाई रोक्न र नाफा बढाउन बैंकहरु मनपरी ढंगले प्रिमियम वृद्धितिर लागेका हुन्।
पछिल्ला दिनहरुमा केही बैंकहरुले घर तथा गाडी कर्जाजस्ता शीर्षकका ऋणका साथै काठमाडौं बाहिर (हल्लाखल्ला त्यति हुँदैन भन्ने अनुमान) का ऋणीहरुको प्रिमियम बढाएका छन्। केही बैंकले त 'कि अहिले ऋण तिर्न नभए बढेको प्रिमियम दरमा हस्ताक्षर गर्न' भनेर पनि ऋणीलाई थर्काएका छन्।
बैंकहरुले मनपरी ढंगले प्रिमियम बढाउन थालेको भन्दै निजी क्षेत्रको संगठन नेपाल उद्योग बाणिज्य महासंघले बैठक डाकेको छ। उनीहरुले राष्ट्र बैंकसँग पनि यो बारेमा कुराकानी गर्न चाहेका छन्।
राष्ट्र बैंकका अनुसार, नियामकीय प्रावधानलाई गम्भीरतापूर्क नलिने र जथाभावी गर्ने बैंकका सञ्चालक समितिदेखि प्रमुख कार्यकारी अधिकृतसम्मलाई कारवाही गर्ने तयारी छ। 'कस्तो कारवाही भन्ने अहिले भन्न सकिँदैन,' ती अधिकारीले भने, 'एक पटकलाई सचेत गराइए पनि त्यसपछि भने आर्थिकदेखि पदै छाड्नुपर्नेसम्मको कारवाही हुन सक्छ।'
तर, एउटा/दुईटा मात्र नभएर दर्जन बढि बैंकले नियामकीय प्रावधान मिचेका छन्। 'धेरैले मिचेपछि केको डर भनेर पनि होला' राष्ट्र बैंकमा उजुरी गरेका एक बैंकरले भने, 'एउटाले मानिरहनु पर्ने अर्कोले नियम नमाने पनि हुनेन त हुनु भएन नि। राष्ट्र बैंक पनि आँखा चिम्लिएर बसेको छ।'
Name Of Bank : | ||||||||||
S.N. | Borrowers' Name | Account Number | Facility Type | Facility Expiry Date | Present Loan Outstanding Million (Only below 10 crore) | Loan Premium | Reason for Premium Change if Applicable | |||
Shrawan 078 | Bhadra 078 | Ashoj 078 | Kartik 078 | |||||||
राष्ट्र बैंकले विवरण माग गर्न बैंकहरुलाई पठाएको ढाँचा