BIZMANDU
www.bizmandu.com

विराटनगर नाकाबाट निर्यातको हिट लिस्टमा अझै खाने तेल, व्यवसायी भन्छन्- ‘माघसम्म हो’

२०७८ मंसिर १४

विराटनगर नाकाबाट निर्यातको हिट लिस्टमा अझै खाने तेल, व्यवसायी भन्छन्- ‘माघसम्म हो’
विराटनगर नाकाबाट निर्यातको हिट लिस्टमा अझै खाने तेल, व्यवसायी भन्छन्- ‘माघसम्म हो’

विराटनगर। विराटनगर नाकाबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा बढी भटमासको प्रशोधित तेलको निर्यात भएको छ।विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको निर्यातका टप टेनको सूचीमा भटमासको प्रशोधित तेल पहिलो नम्बरमा परेको हो।

Tata
GBIME
Nepal Life

यो अवधिमा ८ अर्ब ५३ करोड ६४ लाख मूल्यको ३८ हजार १ सय ८९ टन भटमासको प्रशोधित तेल निर्यात गरिएको छ।पहिलो चौमासिक अवधिको दोस्रो नम्बरमा पनि खाने तेल नै परेको छ।

यो अवधिमा ५ अर्ब ४९ करोड ६३ लाख मूल्यको २६ हजार ८ सय २४ टन प्रशोधित पाम तेलको निकासी भएको छ। व्यवसायीहरूले पुरानो स्टकको कच्चा तेल भएको हुँदा भटमास, पाम र सूर्यमुखीको तेलको निर्यात भइरहेको बताएका छन्। यो क्रम बढीमा माघ मसान्तसम्म रहने बताइएको छ।

भारतले गत असोजको अन्तिम सातामा समुद्रपारका मुलुकबाट आयात हुने कच्चा तेलको भन्सार महसुल २ तहले घटाएको थियो। यसपछि नेपालका रिफाइनरीले प्रशोधित तेलको निर्यात गर्ने उद्देश्यले कच्चा तेल मगाएका छैनन्।

निर्यातको तेस्रो नम्बरमा जुटका उत्पादनहरू परेका छन्। यो अवधिमा जुटका बुनिएका कपडा र जुटका बोरा गरी ५ अर्ब ४८ करोड ६७ लाख मूल्यको निकासी गरिएको छ। यो अवधिमा निर्यातको चौथो सूचीमा सेन्थेटिक यार्न परेको छ। विराटनगर नाकाबाट कात्तिक मसान्त सम्ममा २ अर्ब २६ करोड ७९ लाख रुपैयाँको ४७ हजार २ सय ५१ टन सिन्थेटिक यार्न निर्यात भएको छ।

त्यस्तै उनी, सुती र टेरिकटन बाहेकका अन्य कपडा ७८ करोड ९ लाख बराबरको ४७ करोड वर्ग मिटर, सूर्यमुखीको प्रशोधित तेल ४५ करोड ७६ लाख बराबरको २ हजार ३ सय २३ टन र ३५ करोड ९४ लाख बराबरको २ हजार ३ सय ३९ टन चाउचाउ, नुडल्स तथा पास्ताको निकासी गरिएको छ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा २५ करोड ४९ लाख मूल्यको ७ हजार ३ सय टन पिना, २० करोड मूल्य बराबरको २ हजार ३ सय ६८ टन भटमासको पिना पनि निर्यात भएको छ।