BIZMANDU
www.bizmandu.com

रेमिट एजेन्टको भुक्तानी सीमा घटाइँदै, सेयर बजार घटेपछि बढेको क्रिप्टोमा आकर्षित हुँदै नेपाली

२०७८ मंसिर १०

रेमिट एजेन्टको भुक्तानी सीमा घटाइँदै, सेयर बजार घटेपछि बढेको क्रिप्टोमा आकर्षित हुँदै नेपाली
रेमिट एजेन्टको भुक्तानी सीमा घटाइँदै, सेयर बजार घटेपछि बढेको क्रिप्टोमा आकर्षित हुँदै नेपाली


काठमाडौं। उच्च आयात बृद्धिसँगै बिदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्स घट्नुमा 'हुन्डी' नै प्रमुख कारण भएको ठम्याइमा राष्ट्र बैंक पुगेको छ। 

Tata
GBIME
Nepal Life

बिदेशमा समेत गएर राष्ट्र बैंकले गरेको एक अनुसन्धानले हुन्डी कारोबारी सक्रिय भएका कारण रेमिटेन्स प्रभावित भएको र त्यसलाई अन्तर्देशीय रेमिट एजेन्सीहरुले बढावा दिइरहेको  निष्कर्ष निष्किएको छ।

राष्ट्र बैंकले आफ्नो अनुसन्धान अर्थमन्त्रालय मातहतका निकायहरुसँग पनि साझा गरेको छ। अनुसन्धान अनुसार, रेमिटेन्स बिदेशमा होल्ड हुने र कामदारको परिवारलाई नेपालस्थित हुन्डी एजेन्टले भुक्तानी गर्ने गरेको पाइएको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाभन्दा रेमिटेन्स एजेन्टहरुको प्रयोग ब्यापक भएको छ।

रेमिट एजेन्टलाई देशभित्र प्रति कारोबार अधिकतम एक लाख रुपैयाँसम्म भुक्तानी अधिकार छ। हुन्डी मौलाएपछि रेमिट एजेन्टलाई भुक्तानीको सीमा घटाउने निष्कर्षमा राष्ट्र बैंक पुगेको छ।

'रेमिट एजेन्टहरु अधिकांस बैंक तथा वित्तीय संस्थाकै आसपास सञ्चालनमा छन। उनीहरुले वित्तीय कारोबारमा अहिले आएर खासै ठूलो भूमिका पनि खेल्न सकेका छैनन्' राष्ट्र बैंक अधिकारीले भन, 'त्यसैले उनीहरुको भुक्तानीको सीमा कटौती गर्ने बारेमा हामी छलफलमा छौं।'

भुक्तानीका लागि अहिले बैंक तथा वित्तीय संस्थाहरु हरेक ठाउँमा पुगेका छन्। यसबाहेक भुक्तानीका लागि अन्य माध्यमहरु पनि सञ्चालनमा छन्। वालेटलगायत पनि सञ्चालनमा छन्। त्यही भएर पनि रेमिट एजेन्टलाई ठूलो भुक्तानी अधिकार दिइनु हुँदैन भन्ने सरोकारवालाबाट सुझाब आएको ती अधिकारीले जानकारी दिए।

राष्ट्र बैंकले एक लाखको भुक्तानी सीमालाई ५० हजार  रुपैयाँमा झार्ने तयारी गरेको हो। यद्यपी निर्णयमा भने पुग्न सकेको छैन।  

चाल आर्थिक बर्ष लागेपछि पोहोरको तुलनामा रेमिटेन्स निरन्तर घटिरहेको छ। असारमा ९० अर्ब ११ करोड भित्रिएको रेमिटेन्स साउनमा ७५ अर्ब ९६ करोडमा खुम्चिएको थियो। भदौमा ७९ अर्ब ४१ करोड र असोजमा ८३ अरब ९५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

पोहोर असारमा एक खर्ब १६ करोड भित्रिएको थियो भने साउनमा ९२ अर्ब ७१ करोड भित्रिएको थियो। भदौमा केही घटेर ७३ अर्ब २ करोडमा झरेको थियो भने असोजमा ९३ अरब १३ करोड भित्रिएको थियो।

रेमिटेन्स घट्नुमा राष्ट्र बैकले ‘जिन्सी’ सामान पनि कारक रहेको जनाएको छ। कामदारले मोबाइल, ल्यापटम, टीभी, सुन ल्याउन थालेका छन। यो कारणले पनि रेमिटेन्स घटेको हो।

पछिल्ला दिनमा रेमिटेन्ससँग सेयर बजार र क्रिप्टोकरेन्सीहरुको पनि सम्बन्ध देखिएको छ। अहिले नेपालको सेयर बजारमा जहाँसुकै बसेर कारोबार गर्न सकिन्छ। डिम्याट खाता पनि अनलाइन नै खोल्न सकिन्छ। अनलाइन बैंकिङको सहजताले भुक्तानीको समस्या पनि समाधान भएको छ।

यसोहुँदा हिजो सेयर बजार बढ्दा जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत गएका नेपालीहरुले उतैबाट सेयरमा लगानी गरेका थिए। त्यसबेला उनीहरुको पैसा भित्रिएर बजारमा कारोबार पनि उच्च भयो भने सूचक पनि माथि गयो।

राष्ट्र बैंकको कडाइले तरलता अभाव भएर बजार घट्न थालेपछि बिदेशबाट लगानी गरिरहेका नेपालीहरु बाहिरिएका छन्। यही बेला क्रिप्टो करेन्सीको भाउ चुलिएको छ। उनीहरु नेपाल पैसा पठाउनुको साटो क्रिप्टोमा लगानी बढाउन थालेका छन्। यसले पनि रेमिटेन्स प्रभावित भएको छ।