BIZMANDU
www.bizmandu.com

अर्घाखाँची सिमेन्टलाई थप पाँच मेगावाटको लोड स्वीकृत, अब १५ मेगावाट खपत, अझै ५ मेगावाट चाहिने

२०७८ मंसिर ९

अर्घाखाँची सिमेन्टलाई थप पाँच मेगावाटको लोड स्वीकृत, अब १५ मेगावाट खपत, अझै ५ मेगावाट चाहिने
अर्घाखाँची सिमेन्टलाई थप पाँच मेगावाटको लोड स्वीकृत, अब १५ मेगावाट खपत, अझै ५ मेगावाट चाहिने

काठमाडौं। अर्घाखाँची सिमेन्टले थप पाँच मेगावाट बिजुली पाएको छ। यसअघि १० मेगावाट बिजुली मात्रै पाएको उद्योगले अपुग बिजुलीका लागि डिजेल प्लान्ट सञ्चालन गर्दै आएको थियो।

Tata
GBIME

गत महिना होङ्सी सिमेन्टमा ३० मेगावाट विद्युत जडान गर्न नवलपरासी गएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त क्षेत्रमा रहेका उद्योगमा पुगेर चाहेजति बिजुली लिन आग्रह गरेका थिए।

त्यसपछि सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, पञ्चकन्या स्टील लगायतका उद्योगलाई तत्काल ६/६ मेगावाट विद्युत दिने घिसिङले बताएका थिए।
उद्योगहरुले मागेको सानो तिनो लोड तत्कालै स्वीकृत गर्ने बताएका घिसिङले भैरहवा औद्योगिक क्षेत्रमा रहेको अर्घाखाँची सिमेन्टको थप ५ मेगावाट विद्युतको लोड पनि तत्काल स्वीकृत गरेका थिए।

प्राधिकरणले लोड स्वीकृत गरेपनि अहिलेसम्म उद्योगमा बिजुली भने पुगिनसकेको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए।
'प्राधिकरणको प्राविधिक कारणले लाइन जोडिएको छैन। लोड भने एक/डेढ हप्ता अघि नै स्वीकृत भइसकेको छ,' मुरारकाले भने, 'अहिले ३३ केभी लाइनबाट उद्योगले बिजुली लिइरहेकोमा थप लोड स्वीकृत भएसँगै १३२ केभी लाइनबाट आपूर्ति लिनुपर्छ। त्यसकारण उद्योगमा बिजुली पुग्न केही समय लाग्ने देखिन्छ।'

दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले निकट भविष्यमै क्षमता विस्तार गर्ने तयारी गरिरहेको छ। क्षमता विस्तार गर्दा थप पाँच मेगावाट विद्युत आवश्यक पर्ने पनि मुरारकाले बताए।

सिमेन्ट र डण्डी उद्योगमा मागेजति बिजुली आपूर्ति सुरुभएसँगै यी उद्योगका उत्पादनको लागत घट्ने र त्यसको फाइदा उपभोक्ताले पनि पाउने उद्योगीहरु बताउँछन्।