BIZMANDU
www.bizmandu.com

आफ्नै उद्योगका कर्मचारी कुट्ने आरती स्ट्रिप्सका दुई संचालक कांग्रेस नेताको दबाबमा छुटे

२०७८ मंसिर ९

आफ्नै उद्योगका कर्मचारी कुट्ने आरती स्ट्रिप्सका दुई संचालक कांग्रेस नेताको दबाबमा छुटे
आफ्नै उद्योगका कर्मचारी कुट्ने आरती स्ट्रिप्सका दुई संचालक कांग्रेस नेताको दबाबमा छुटे

विराटनगर। मोरङको बुढीगङ्गा गाउँपालिकामा सञ्चालित भारतीय लगानीको उद्योग आरती स्ट्रिप्सका सञ्चालकद्वय पक्राउ परेलगत्तै छुटेका छन्।उद्योगका प्रशासन प्रमुख दिवस नेपाललाई कुटपिट गरेका आरोपमा बुधबार साँझ ६ बजे पक्राउ परेका सञ्जय सिङ्घल र एचसी बर्मालाई प्रहरीले बुधबार राति ९ बजे छाडेको थियो।

Tata
GBIME
Nepal Life

प्रहरी स्रोतका अनुसार सिङ्घल र बर्मालाई छुटाउन नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं जिल्ला प्रहरी कार्यालय पुगेका थिए। सभापति दीपक चापागाईंकै ग्यारेन्टीमा सिङ्घल र बर्मालाई प्रहरीले छाडेको थियो। 

पीडित नेपाल चापागाईं नेतृत्वको महानगर समितिका सहसचिवसमेत हुन्। नेपालका अनुसार पहिले उनलाई सिङ्घलले आफ्नो कार्यकक्षमा बोलाएर जथाभावी गाली गरे। गाली गर्दागर्दै कुट्न थाले। कार्यकक्षमा होहल्ला मच्चियो। त्यसपछि अर्का सञ्चालक बर्मा आए।

बर्मा पनि नेपालमाथि जाइलागे। यस बिचमा उद्योगका लेखाप्रमुख विशाल गुप्ता कार्यकक्षमा आइसकेको थिए। गुप्तालाई कार्यकक्षमा देखेपछि सिङ्घलले बन्दुक निकाले। 

बन्दुक गुप्तालाई दिँदै सिङ्घलले भने, ‘मार्दे, यसलाई। जति खर्च लाग्छ, म ब्यहोर्छु र तँलाई छुटाउँछु।’ नेपालको भनाइ थियो, ‘बन्दुक देखेपछि म पनि प्रतिकारमा उत्रिएँ। र, दुर्घटनाबाट बचेँ। यसैबीच प्रहरी आएर सिङ्घल र बर्मालाई पक्राउ गर्‍यो।’

सिङ्घलले यसअघि पनि उद्योगका सिनियर अधिकारीहरूलाई कुटपिट गरेका थिए। नेपाली कांग्रेसका एक केन्द्रीय नेताका दबाबमा घटनालाई थामथुम पारेर मिलाउन खोजिएको प्रहरीको भनाइ छ। बिहिबार मध्याह्न दुबै पक्ष जिल्ला प्रहरीमा वार्तामा बसेका छन्।

विगत २१ वर्षदेखि आरती स्ट्रिप्समा कर्कट पाता र फलामे पाइपको उत्पादन भइरहेको छ। चार वर्षअघि यस उद्योगले टिएमटी छडको उत्पादन पनि सुरु गरेको थियो। उद्योगका सञ्चालक सिङ्घल र बर्मा भारतमा टाट पल्टिएको बहुराष्ट्रिय कम्पनी भूषण स्टिलका सञ्चालक हुन्।