BIZMANDU
www.bizmandu.com

८० करोड लगानीमा वीरगंजमा बन्दैछ सुविधा सम्पन्न अपार्टमेन्ट, वीरगंजका सात व्यवसायीको लगानी

२०७८ मंसिर ८

८० करोड लगानीमा वीरगंजमा बन्दैछ सुविधा सम्पन्न अपार्टमेन्ट, वीरगंजका सात व्यवसायीको लगानी
८० करोड लगानीमा वीरगंजमा बन्दैछ सुविधा सम्पन्न अपार्टमेन्ट, वीरगंजका सात व्यवसायीको लगानी

वीरगंज। औद्योगिक नगरी वीरगंजमा ८० करोड लगानीमा सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण सुरु भएको छ। सात जना व्यवसायीको संयुक्त लगानीमा १३ तल्ले भूकम्प प्रतिरोधात्मक ‘राधे कृपा’  अपार्टमेन्टको निर्माण सुरु भएको हो।

Tata
GBIME
Nepal Life

वीरगंजको प्राइम लोकेशन मानिने आदर्शनगरको पानी ट्यांकी चोकबाट ५ सय मिटर दक्षिणमा ९ कठ्ठा जग्गामा अपार्टमेन्ट बनिरहेको छ। राधे कृपा हाउजिङ एण्ड इनभेष्टमेन्ट प्रालिले यो अपार्टमेन्ट बनाएको हो।

अपार्टमेन्टमा प्रभात रुंगटा, अमित अग्रवाल, मनिष अग्रवाल,पशुपति खण्डेलवाल, रोहित चाचान, सचिन खण्डेलवाल र प्रेम जाटियाको लगानी छ। यी सबै व्यवसायी वीरगंजमा रहेर व्यवसाय गर्दै आएका छन्। औद्योगिकरण र तीब्र सहरीकरणसँगै वीरगंजमा ठूलो लगानीमा अपार्टमेन्ट निर्माण सुरु हुन थालेको छ। केही समय अघि मात्रै सालिमार समूहले सालिमार होम्स निर्माण गरेको थियो। त्यो अपार्टमेन्टमा राम्रो रेस्पोन्स आएको देखेपछि यो अपार्टमेन्टको निर्माण सुरु भएको थियो।

वीरगंजमा सुविधा सम्पन्न अपार्टमेन्टको आवश्यकता देखेर निर्माण गरेको लगानीकर्ता रुंगटाले बताए। 'औद्योगिकरण र सहरीकरणसँगै अपार्टमेन्ट कल्चरको विकास हुँदै गएको देखेर हामीले ठूलो लगानीमा अपार्टमेन्ट निर्माण गरेका हौं,' उनले बिजमाण्डूसँग भने, 'हामीले निर्माण सुरु गरेपछि इन्क्वाइरी समेत आउन थालिसकेको छ।'

उनका अनुसार हिमालयन बिल्डर्सले दुई वर्ष(२०२३ अप्रिल)भित्र परियोजना सकेर हस्तान्तरण गर्ने सहमति भएको छ। हाल १२० जना प्राविधिक तथा कामदारले काम गरिरहेका छन्। अर्का व्यवसायी प्रेम जाटियाका अनुसार भौतिक संरचनामा करिब ५० करोड, फिनिसिङमा २५ करोड र क्लब हाउस र अन्य बन्दोवस्तीमा करिब ५ करोड गरी कुल ८० करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ।

अपार्टमेन्टमा दुई वटा भवनको टावर हुने छन्। उनका अनुसार अगाडिमा ३३ फ्ल्याट र पछाडिको भवनमा ११ वटा फ्ल्याट हुनेछ। कुल ४४ फ्ल्याटमा २२ वटा ३ बिएचके(बेडरुम हल किचेन) र २२ वटा ४ बिएचके फ्ल्याट हुनेछ भने ३ बिएचकेको क्षेत्रफल २४ सय वर्गफिट रहेको छ भने ४ बिएचकेको क्षेत्रफल ४४ सय वर्गफिट रहेको छ।

जाटियाले ३ विएचके २ करोड ४० लाख रुपैयाँ र ४ बिचएकेको करिब ४ करोड ४० लाख रुपैयाँमा फ्ल्याट बिक्री गर्ने बताए। साढे १० हजार रुपैयाँ प्रति वर्गफिटको दरमा बिक्रीका आधारमा यो मूल्य तय हुने उनले बताए।

अपार्टमेन्टमा क्लब हाउस, जिम, स्वीमिङ पुल, मिनी थिएटर, सामुदायिक भवन, डिर्पाटमेन्टल स्टोर, भ्याक्सिनेशन क्लिनिक, चिकित्सक कोठा, बार्बर रुम, खानेपानी, शौचालय, चौतर्फी ५ मिटर चौडा बाटो र मुख्य बाटो २३ फिट चौडा रहने किसिमले डिजाइन गरिएको छ। वीरगंजमा २० वर्ष पहिला वीरगंज ६ नम्बर गेट नजिकै लक्ष्मी अपार्टमेन्ट, गणेश अपार्टमेन्ट, प्रशन्ना अपार्टमेन्ट, विर्ताको त्रिवेणी गोपाल कम्प्लेक्स निर्माण भएको थियो।