BIZMANDU
www.bizmandu.com

मदिराको मातमा भन्सार कर्मचारी कुट्ने रेग्मीमाथि भएन कारवाही, कुटाइ खाने थापालाई तर्साइयो


मदिराको मातमा भन्सार कर्मचारी कुट्ने रेग्मीमाथि भएन कारवाही,  कुटाइ खाने थापालाई तर्साइयो
मदिराको मातमा भन्सार कर्मचारी कुट्ने रेग्मीमाथि भएन कारवाही, कुटाइ खाने थापालाई तर्साइयो


काठमाडौं। बिदेशबाट ल्याएको ६ बोतल मदिरा नेपाल छिराउन नदिएको निहुँमा एयरपोर्टमा भन्सारका नायब सुब्बालाई कुटेका नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई स्पष्टीकरण सोधिएपनि राजनीतिक उच्च दबाबमा कारवाहीमा आलटाल हुन थालेको छ।

Tata
GBIME
Nepal Life

उनले भन्सार कर्मचारीलाई कुटेको सीसीटीभी फुटेज पनि सार्वजनिक भइसकेको छ। लण्डनको एक कार्यक्रम सकेर फर्किने क्रममा रेग्मीले भन्सार कर्मचारी सुमन थापालाई कुटेका हुन्। थापाले एक ब्यक्तिले एउटा मात्र मदिरा ल्याउन पाउने बताउँदै गर्दा 'म को हुँ चिनेको छस्, देश बनाउने मान्छेलाई रोक्छस्' भनेर कुटेका थिए। रेग्मीले टन्नै मदिरा पिएर होसमा नरहेको स्वास्थ परीक्षणबाट पुष्टीसमेत भएको थियो।

भन्सार कर्मचारीलाई हातपात गरेपछि उनले ल्याएको मदिरा 'सीज' गरिएको थियो भने अधिकतम पाँच हजार जरिवाना गराएर छाडिएको थियो। भन्सार कर्मचारीलाई मदिरा छिराउन नदिएको निउँमा कुटेको सार्वजनिक भएपछि उनले- पर्यटन मन्त्री, सचिव, अन्य उच्च कर्मचारीको मदीरा आफूले बोकेको बताएका थिए।

मदिरा नै नपिउने सचिवको समेत नाम लिएपछि पर्यटन मन्त्रालयले जिम्मेवार पदमा बसेर नैतिकहिन काम गरेको भन्दै रेग्मीसँग स्पष्टीकरण सोधेको थियो। सुरुमा मौखिक र पछि लिखित स्पष्टीकरण सोधिए पनि थप कारवाहीमा आलटाल गरिएको छ। 

उनी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पर्यटन बोर्डको सीइओ नियुक्त भएका हुन्। भन्सार कर्मचारी कुटेर स्पष्टीकरण सोधिएपछि उनी विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्।

स्पष्टीकरणबारे मन्त्रिस्तरीय छलफल गरेर कारवाही अगाडि बढाउने भनिए पनि हालसम्म कुनै पनि छलफल नभएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। 

'स्पष्टीकरण दिइसकेको एक साता नाघिसकेको छ। तर यसमा कुनै छलफल भएको छैन। अब यसमा थप कारवाही अगाडि बढ्दैन होला। प्रधानमन्त्री शेरबहादुर निकट व्यवसायीनै उनलाई जोगाउन लागेका छन्,' मन्त्रालयका एक अधिकारीले बिजमाण्डूलाई भने, 'केपी शर्मा ओलीका बेलामा जुन व्यापारीले उनलाई नियुक्ति गरेको थियो उनै अहिले जोगाउन लागिरहेका छन्।'

पर्यटन मन्त्रालयले मागेको स्पष्टीकरणमा सिइओ रेग्मीले आफू अनिँदो भएका कारण धकेलाधकेल मात्र भएको भन्दै माफी मागेका थिए। 

पर्यटन मन्त्रालयले मागेको स्पष्टीकरणमा सिइओ रेग्मीले आफू अनिँदोका कारण धकेलाधकेल भएको भन्दै माफी पनि मागेका थिए। स्रोतका अनुसार राजनीतिक रुपमै यो मुद्दालाई मिलाउन खोजिँदैछ। कुटाइ खाने थापा पनि एमाले निकट कर्मचारी रहेको र कुट्ने रेग्मी पनि एमाले सरकारबाटै सीइओ नियुक्त भएका कारण राजनीतिक रुपमा मिलाउन खोजिएको छ।

थापासँग बारम्बार सम्पर्क गर्दा पनि उनले 'जे गर्छन् हाकिमहरुले गर्छन् आफू यसमा बोल्दिन' भन्दै आएका छन्। उनलाई सहकर्मीहरुले समेत बोलेमा अन्य केस (भन्सार कर्मचारी भएकाले धेरथोर आर्थिक लाभ लिएको आरोप लगाएर) फसाउन सक्ने भन्दै तर्साएका छन्। 'राजनीतिक समूह एउटै छ। यसबाहेक आर्थिक गडबढी गरेको आरोप लगाएर फसाउँछन् भनेर पनि तर्साइएको छ' थापाले कुटाइ खाँदा सँगै रहेका एक कर्मचारीले भने, 'त्यही भएर उनी बोल्न नचाहेका हुन्।'