BIZMANDU
www.bizmandu.com

बाइडेनले कसलाई बनाउँदै छन् फेडको शक्तिशाली नियामकीय प्रमुख? चर्चामा छन् यी नाम

२०७८ मंसिर ८

बाइडेनले कसलाई बनाउँदै छन् फेडको शक्तिशाली नियामकीय प्रमुख? चर्चामा छन् यी नाम
बाइडेनले कसलाई बनाउँदै छन् फेडको शक्तिशाली नियामकीय प्रमुख? चर्चामा छन् यी नाम

वासिङ्टन। राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी केन्द्रिय बैंक (युएस फेडेरल रिजर्भ) को अध्यक्षमा जेरोम पावेललाई नै पुनर्नियुक्त गर्ने बताए। यससँगै उनले फेडको नयाँ नियामकीय प्रमुख (फेड रेगुलेटरी चिफ) को बन्‍छ भन्ने अनुमान गर्न वासिङ्टन (राष्ट्रपति कार्यालय) लाई नै छोडिदिएका छन्।

Tata
GBIME
Nepal Life

गत महिना रिपब्लिकनद्वारा नियुक्त भएका र्‍यान्डल क्वार्ल्सले फेडको उपाध्यक्ष तथा देशको सबैभन्दा ठूलो ऋणदाताहरुको निरीक्षण गर्ने भूमिकाबाट अलग हुँदै डिसेम्बर अन्तिमबाट नियामकीय प्रमुखको शक्तिशाली पद छाड्ने घोषणा गरिसकेका छन्। 

केन्द्रिय बैंक गभर्नरको चार वर्षे कार्यकाल पूरा गरेर यसमा उनले बिट मार्न लागेको बताएका छन्। कार्यकालका दौरान उनलाई आलोचकहरुले वाल स्ट्रिटसँग अति मैत्रीपूर्ण भएको समेत आरोप लगाएका थिए।

बाइडेनले फेड अध्यक्षमा पावेलको पुनर्नियुक्तिको घोषणासँगै डिसेम्बरको सुरुतिरै फेडले नयाँ गभर्नर पाउने समेत सोमबार बताए। 

कोको छन् फेड रेगुलेटरी चिफको दौडमा ?
विश्लेषक तथा वासिङ्टन स्रोतहरुका अनुसार फेडकी समकक्षी गभर्नर लेल ब्रेनार्डले क्वार्ल्सलाई उपध्यक्षको पदमा प्रतिस्थापन गर्ने सबैभन्दा बलियो उम्मेदवारका रूपमा औंल्याएका छन्। किनकी उनले क्वार्ल्सको २००७-२००७ को विश्वव्यापी वित्तीय संकटपछि बनाइएका नियमहरुमाथि फेरि पुनर्विचार गर्ने एजेन्डाको विरोध गरेकी थिइन्। यद्पि उनको रुचि फेड उपाध्यक्षको पदमा रहेको बताइएको छ।

प्रगतिशील व्यक्तिहरु यस्तो उम्मेदवारका लागि जोड दिइरहेका छन् जो वालस्ट्रिटप्रति कठोर बन्न सक्छन्। तर अहिलेसम्म यो स्पष्ट छैन कि ब्रेनार्डका लागि नियामकीय प्रमुखको पदका लागि बाटो खुला होला वा नहोला।

यसकारण यो शक्तिशाली जिम्मेवारीमा आउन सक्ने सम्भावित व्यक्तिहरुको नामबारे विभिन्न विश्लेषकहरु र वासिङ्टनका भित्रियाहरुबाट मिश्रित धारणाहरु आइरहेको छ, जुन यी हुन्:

नेल्ली लियाङ
हाल अमेरिकी अर्थमन्त्रालयकी आन्तरिक वित्त अधिकृत, ट्रेजरी अन्डर सेक्रेटरी, तथा पूर्व फेड अधिकृत लियाङलाई पनि फेडको नियामकीय प्रमुखको एउटा दाबेदारका रूपमा हेरिएको छ। लियाङले २००७ को मन्दिपछिको रेगुलेटरी फ्रेमवर्क निर्माण गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। 

उनले फेडमा विभिन्न भूमिकाको कर्मचारीका रुपमा दशकौं बिताइसकेकी छन्। त्यस क्रममा उनी वित्तीय स्थायित्व विभागमा वित्तीय संकटपछिको पहिलो निर्देशक समेत भइन्। अमेरिकी थिंक ट्यांक संस्था ब्रुकिङ इन्स्टिच्युसनमा आबद्ध हुन उनले २०१७ मा केन्द्रिय बैंक छोडेकी थिइन्, जसमा उनले अन्य विभिन्न परिवर्तनका लागि ठूला बैंकहरुका लागि आवश्यक पुँजी तथा तरलताको न्यूनतम सीमामा कटौती गर्ने रिपब्लिकनहरुको प्रयत्नको चर्को आलोचना गरेकी थिइन्।

यसअघि लियाङलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेड बोर्ड सदस्यका लागि मनोनित गरे पनि वालस्ट्रिटप्रति उनी अति नै रुखो हुनसक्ने चिन्ता जताउँदै रिपब्लिकनहरुले उनको मनोनयनमा विरोध जनाएका थिए। त्यसपछि उनले २०१९ मा आफ्नो मनोनयन फिर्ता लिएकी थिइन्।
'उनले ठुला बैंकहरुको कडाइका साथ निरीक्षण गर्ने हामीले अपेक्षा गरेका छौं तर उनी हामीलाई पनि व्यवहारिकतामा प्रहार गर्छिन्,' कोवेन वासिङ्टन रिसर्ज ग्रुपका विश्लेषक ज्यारेट सिबर्ग लेख्छन्।

सारा ब्लुम रस्किन
फेडकी पूर्वगभर्नर तथा ट्रेजरी अफिसियल रस्किनलाई प्रगतिशीलहरुले फेडको नयाँ नियामकीय प्रमुखका लागि समर्थन गरेका छन्। तर उनले अझै पर्याप्त सिनेट भोट सुरक्षित गर्न सक्नुपर्ने सिबर्गले बताएका छन्।

सन् २०१० देखि २०१४ सम्म फेड गभर्नर रहँदा उनले प्रोप्राइटरी ट्रेडिङलाई 'महत्त्व नभएको वा कुनै वास्तविक आर्थिक मूल्य नभएको' भनेर प्रहार गर्नुका साथै 'भोल्कर रुल' को कडा व्याख्यामा जोड दिएकी थिइन्, जुन संकटपछिको सट्टेबाजी लगानी नियन्त्रणका लागि गरिएको प्रमुख सुधार थियो।

पूर्व राष्ट्रपति बराक ओबामाले पछि रस्किनलाई डेपुटी ट्रेजरी सेक्रेटरीका रुपमा काम गर्ने जिम्मेवारी दिएका थिए। फेड जोइन गर्नुअघि उनले मेरिल्याण्डका लागि उच्च वित्तीय नियामकका रुपमा पनि काम गरेकी थिइन्।

यद्यपि, रस्किनले हालै 'ड्युक युनिभर्सिटी स्कुल अफ ल'मा नयाँ जिम्मेवारी लिएकी छन्, जहाँ उनले २०१७ देखि पढाउँदै आएकी छन्। उनी अर्को वर्ष ड्युक स्कुल अफ लको फाइनान्सियल मार्केट् सेन्टरको फ्याकल्टी डाइरेक्टर हुनेछिन्। 

राफेल बोस्टिक
एट्लान्टा फेड प्रेसिडेन्ट राफेल बोस्टिक फेडको नियामकीय उच्च पदमा अर्को सम्भाव्य नाम हो। सन् २०१७ मा एट्लान्टा फेड प्रेसिडेन्टमा नियुक्त उनी फेडको रिजनल प्रेसिडेन्ट जिम्मेवारी पाउने पहिलो 'ब्ल्याक-अमेरिकन' समेत हुन्। उनले नश्लीय विविधता र आर्थिक असमानताबारे खुलेर बोल्दै आएका छन्। यी दुवै बाइडेन प्रशासनका प्रमुख नीतिगत प्राथमिकताहरु हुन्।

एक प्रशिक्षित अर्थशास्त्री मानिने बोस्टिकले यसअघि फेडको वासिङ्टन कार्यालयमा विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेका छन्, जहाँ उनी सामुदायिक कर्जा नियममा गरेको कामका लागि पुरस्कृत समेत भएका थिए। साथै, उनले डिपार्टमेन्ट अफ हाउजिङ तथा अर्बन डेभलपमेन्टमा पनि काम गरेका थिए।

यद्यपि, बोस्टिक 'वित्तीय नियमनकाबारे त्यति जानकार नभएको' भनेर स्टिफेल फाइनान्सियल कर्पका प्रमुख वासिङ्टन पोलिसी स्ट्राटेजिस्ट ब्रायन गार्डनरले लेखेका छन्।

सोमबार ब्लुमबर्ग टिभीसँगको एक अन्तरवार्तामा बोस्टिकले आफू 'वासिङ्टन नगएको' र फेडमा नियुक्तिको सम्भावना आफ्नो हातमा नभएको बताएका थिए।

मिचेल ह्सु
हाल मुद्रा नियन्त्रकका रुपमा कार्यरत ह्सुले यसअघि फेडमा ठुला बैंकहरुको सुपरिवेक्षणको नेतृत्व गरेका थिए। कार्यवहाक नियन्त्रकका रुपमा उनले डेमोक्रेटिकहरुका प्राथमिकतालाई जोड दिएका छन्, जसमा जलवायु परिवर्तनका जोखिमका मुद्दाका साथै र उनले महाव्याधिबाट बाहिर आउने सवालमा 'अति-आत्मविश्वासी' नहुन पनि सचेत गराएका छन्।

पहिले फेडको सुपेरिवेक्षणमा राम्रो साबित भएकाले वासिङ्टन स्रोतहरु उनलाई स्थायी मुद्रा नियन्त्रकको दाबेदार भएको समेत बताउँछन्। 
अन्य केही नाममा फेडको सम्भावित नियामकीय प्रमुखको रुपमा चर्चामा छ। यद्यपि, हालका लागि यी चार जनालाई विश्लेषकहरु र वासिङ्टन स्रोतले प्रमुख दाबेदारका रुपमा हेरेका छन्।