BIZMANDU
www.bizmandu.com

वीरगंजका दुई भन्सारबाट चार महिनामा ८७ अर्ब राजस्व असुली, लक्ष्यभन्दा बढायो संकलन

२०७८ मंसिर ८

वीरगंज। मुलुकको प्रमुख भन्सार नाकाका रुपमा चिनिने वीरगंजको दुईवटा भन्सारले चालू आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा बढी असुली गरेका छन्।

Tata
GBIME
Nepal Life

वीरगंज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व असुली गर्दै करिब ८७ अर्ब राजस्व संकलन गरेको जनाइएका छन्।

भन्सार कार्यालयले चालू आब २०७८/७९ को साउनदेखि कात्तिकसम्म रु ८७ अर्ब ७ करोड रुपैयाँ राजस्व उठाएका हुन्।

दुवै भन्सारले पाएको राजस्व लक्ष्य पूरा गर्दै बढी राजस्व असुली गरेका छन्। गत आवमा कोरोना महामारीको असरले राजस्व संकलनमा प्रतिकूल प्रभाव परेकोमा चालू आवमा कोरोना महमारी कम हुँदै गएपछि आयात बढेसँगै राजस्वमा सकारात्मक सुधार आएको भन्सार अधिकारीहरुले बताएका छन्।

गत आवको प्रथम चौमासिकमा ४३ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगंज भन्सारले चालू आवको सोही अवधिमा रु ७० अर्ब १२ करोड रुपैयाँ उठाएको वीरगंज भन्सारको तथ्यांकले देखाएको छ।

वीरगंज भन्सारले सबैभन्दा बढी मूल्य अभिवृद्धि(भ्याट) कर संकलन गरेको छ। भन्सारले यस अवधिमा २६ अर्ब ४८ करोड मूल्य अभिवृद्धि कर र आयाततर्फ २५ अर्ब ४१ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको वीरगंज भन्सारका प्रशासक अरुण पोखरेलले बताए।

यो रकम भन्सारले लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व हो। चालु आवको कात्तिकसम्म चार महिनामा रु ६५ अर्ब ११ करोड रुपैयाँ राजस्व लक्ष्य पाएको थियो। त्यसैगरी, सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आवको प्रथम चौमासिकमा करीब ४ प्रतिशत बढी राजस्व उठाएको प्रमुख भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

सुक्खा बन्दरगाह भन्सारले चार महिनामा रु १६ अर्ब ९४ करोड राजस्व संकलन गरेको छ भने सो अवधिमा उक्त भन्सारले रु १६ अर्ब ३० करोडको लक्ष्य पाएको थियो।

वीरगंज भन्सार नाकाबाट विशेष गरी इन्धन, सवारी साधन, क्रुड आयल, औद्योगिक कच्चा पदार्थ बढी आयात हुन्छ भने प्रशोधित खाने तेल, जुस, पिना, कपडा, धागोलगायत सामान बढी निकासी हुन्छ।