BIZMANDU
www.bizmandu.com

मोरङस्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागी, पुराना टायरबाट सल्कियो आगो

२०७८ मंसिर १

काठमाडौं। पुरानो टायरहरु पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका-४ स्थित ग्लोबल बायो ईनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ। 

Tata
GBIME
Nepal Life

बुधबार (आज) बिहान पौने ६ बजे आगलागी हुँदा उद्योगमा कच्चा पदार्थको रूपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ। यस्तै टायरबाट तार निकाल्ने र टायर काट्ने मेसिनहरुमा क्षति पुगेको छ। 

दुई सिफ्टमा संचालन हुने उद्योग गए रातिको बिहान २ बजे दोस्रो सिफ्टपछि बन्द थियो। त्यही समयमा आगलागी भएको हुनसक्ने उद्योग संचालक बिनित सिंघानियाले बताए। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने उनको अनुमान छ।

उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागीले भीषणरूप लिएको थियो। विराटनगर महानगरपालिका भित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको इनरुवा र दुहबीबाट समेत दमकलहरु बोलाइएको उद्योग प्रशासनले जनाएको छ। 

पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि एस्काभेटर ल्याएर टायरको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो। बिहान पौने ६ बजे लागेको आगो स्थानीयबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो। 

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि सो विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जीसीले बताए।