BIZMANDU
www.bizmandu.com

बीमा समितिद्वारा कफी खेतीका लागि बीमालेख जारी, रोगकिरादेखि आगोजन्य क्षतिको बीमा हुने 

२०७८ कात्तिक ३०

बीमा समितिद्वारा कफी खेतीका लागि बीमालेख जारी, रोगकिरादेखि आगोजन्य क्षतिको बीमा हुने 
बीमा समितिद्वारा कफी खेतीका लागि बीमालेख जारी, रोगकिरादेखि आगोजन्य क्षतिको बीमा हुने 


काठमाडौं। बीमा समितिले कफी खेतीमा हुने क्षतिबाट जोगिन किसानले बीमा गर्नका लागि उत्पादनमा आधारित बीमालेख जारी गरेको छ। अब आगामी दिनमा कफी खेती गर्दाको सम्भावित जोखिमबाट ढुक्क हुन किसानले बीमा गर्ने मिल्ने भएको छ।

Tata
GBIME
Nepal Life

समितिले जारी गरेको बीमालेखमा ८ प्रकारका कफी खेतीमा भैपरी आउने क्षतिहरुको रक्षावरण हुने भएको छ। रोग वा कीराजन्य कारणले हुने क्षति, आगो, हावा, पानी, मौसम, भूमि र  चट्याङ्जन्य लगायतको क्षतिलाइ रक्षावरण गर्ने भएको छ ।

त्यस्तै आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र  कफी खेतीको बीमा गर्ने बीमितको पनि रक्षावरण गर्ने समितिले जनाएको छ। 

कफी खेती बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नु पर्नेछ भने बीमालेखमा उल्लेख भएका सम्पूर्ण सर्तहरु बीमितले पालना गर्नुपर्ने प्रावधान पनि छ। यस बीमालेख अन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुवैको बीमा गर्न सकिने समितिले बताएको छ।

कफी खेतीको बीमाशुल्क बीमांक रकमको पाँच प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको पाइएको छ । त्यस्तै सामूहिक रुपमा वा साझेदारीमा गरिएको कफी खेतीको बीमाका हकमा बीमालेखमा आबद्ध प्रत्येक व्यक्तिको छुट्टाछुट्टै दुर्घटना बीमा गरेको हुनु पर्नेछ ।

यस्तो बीमालेख जारी भइसकेपछि बीमांक रकम परिवर्तन गर्न नपाइने प्रावधान पनि छ। बीमितले बीमाशुल्क वापत भुक्तानी गरेको रकम बैंक खातामा प्राप्त नभएसम्म बीमालेख जारी भएको मान्य हुने छैन। तर अनुदानमा प्राप्त हुने बीमालेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरी बाँकी रकम बीमकको बैंक खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाउने व्यवस्था रहेको समितिले जनाएको छ ।