BIZMANDU
www.bizmandu.com

भूमि आयोगका पदाधिकारीलाई मन्त्रीको निर्देशन-‘समिति मात्रै बनाइरहनेभन्दा कामलाई पूर्णता दिनू’

२०७८ कात्तिक ३०

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उद्देश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएकी छन्।  

Tata
GBIME
Nepal Life

आयोगको कार्यालयमा सोमबार पदाधिकारीले कार्ययोजना तथा कार्यपत्र प्रस्तुत गरेपछि मन्त्री श्रेष्ठले यस अघिका आयोगहरुले गरेका कामहरुलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्नेगरी योजनाबद्ध रूपमा लाग्न आग्रह गरिन्।  

मन्त्री श्रेष्ठले संविधानमा भएको ब्यबस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा ढिलाई गर्न नहुने भन्दै प्रभावकारी रूपमा काम गर्ने गरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिइन्।  

'आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ। अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ,  नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, जुन कुरा संविधानमा नै छ त्यो काम गर्न ढिला गर्नु हुँदैन। भूमिहीन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर उनीहरुलाई अधिकार सम्पन्न गराउनु पर्छ,' मन्त्री श्रेष्ठले भनिन्।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी सम्बन्धी समस्या फेरि पनि रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्ने गरी काम गर्न उनले भनेकी थिइन्।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन गर्नेगरी अगाडि बढेको बताए।