काठमाडौं। ६ बोतल मदिरा नेपाल छिराउन नदिएको निहुँमा एयरपोर्टमा भन्सारका नायब सुब्बालाई कुटेका नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीले गल्ती स्वीकार गरेका छन्। पर्यटन मन्त्रालयले मागेको तीनदिने स्पष्टीकरणमा उनले अनिँदोका कारण धकेलाधकेल भएको भन्दै माफी पनि मागेका हुन्।
रेग्मी लन्डनको एक कार्यक्रम सकेर नेपाल फर्किएका थिए। कर्मचारी कुटेपछि उनलाई काठमाडौं मेडिकल कलेज लगेर मापसे जाँच गराइएको थियो। उनले टन्नै मदिरा पिएको स्वास्थ्य परीक्षणका क्रममा पुष्टि भएको थियो।
१० दिन अघि बेलायतबाट नेपाल अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त घटनापछि उनलाई मन्त्रालयले स्पष्टीकरण मागेको थियो।
सीइओ रेग्मीले बुझाएको स्पष्टीकरणका बारेमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगको छलफलका गर्ने तयारी भइरहेको छ। यसपछि के कस्तो कारवाही अगाडि बढाउने भनेर निर्णय गरिने मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए।
'स्पष्टीकरण आइपुगेको छ। यस विषयमा मन्त्रीज्यूसँग बसेर सल्लाह गर्नेछौं। त्यसकै आधारमा हामी कारवाही अगाडि बढाउनेछौं,' सचिव कोइरालाले भने।
रेग्मीले विमानस्थलमा भन्सारका कर्मचारीले विदेशी पर्यटकसँगै आफूलाई अनावश्यक सोधपुछ गरेर दुःख दिएको विवरण दिएको सचिव कोइरालाले बताए।
'विमानस्थलमा अवतरण भएलगत्तै आफ्नो बाटो आउँदा विदेशी पर्यटकमाथि अनावश्यक सोधपुछ गर्दै दुःख दिने काम गरेको विषयमा सोधखोज गर्दै थिएँ। उहाँहरुले मलाई उल्टै अनावश्यक सोधखोज गर्न थाले। रातभरी अनिँदो थिएँ। आउँदा अलिकति धकेलाधकेल मात्र भएको थियो। यस कारणले कसैलाई केही दुःख भएकोमा म क्षमाप्रार्थी छु भनेर लेखिएको छ,' रेग्मीको स्पष्टीकरणबारे सचिव कोइरालाले बताए।
६ बोतल मदिरा भने जफत भइसकेका कारण मन्त्रालयको सरोकार नरहेको उनको भनाइ छ। रेग्मी लन्डनमा भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर नेपाल फर्केका थिए। मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री आले र सचिव कोइरालाले गरेका थिए। फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए।
उनले भन्सारका नासु सुमन थापालाई चड्कन हानेका थिए। थापा त्यो दिन बिहानको ड्युटीमा थिए। उनले ६ बोतल मदिरा ल्याएको देखेपछि क-कसको हो भनेर सोधखोज गरेका थिए। भन्सारको नियम अनुसार एक व्यक्तिले एक बोतलभन्दा बढी मदिरा ल्याउन पाउँदैन। त्यही भएर थापाले सोधखोज गरेका थिए।
रेग्मीले आफू 'देश बनाउने मान्छे चिन्दैनस्' भनेर थापालाई कुटेका थिए।