BIZMANDU
www.bizmandu.com

भ्याट संकलन दुई वर्षअघि भन्दा पनि कम उठ्न थाल्यो, मन्त्रालयले अध्ययन थाल्यो

२०७८ कात्तिक २९

भ्याट संकलन दुई वर्षअघि भन्दा पनि कम उठ्न थाल्यो, मन्त्रालयले अध्ययन थाल्यो
भ्याट संकलन दुई वर्षअघि भन्दा पनि कम उठ्न थाल्यो, मन्त्रालयले अध्ययन थाल्यो

काठमाडौं। मूल्य अभिवृद्धि कर (भ्याट) संकलन चालु वर्षको सुरुआत देखिनै ओरालो लागेको छ। दुई वर्ष यताबाटै कम दरमा भ्याट संकलन हुन थालेपछि किन  घट्यो भनेर मन्त्रालयले चासो दिन थालेको छ। 

Tata
GBIME
Nepal Life

सरकारको मुख्य राजस्व संकलन गर्ने निकाय आन्तरिक राजस्व विभागले चालु वर्षको ३ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरिरहेको छ। तर मुख्य राजस्व संकलन हुने भ्याट शिर्षकमा कम उठ्न थालेपछि छलफलको विषय बनेको हो।

भ्याट कम उठेपछि राजस्व विभागले करेन्ट एयर अडिट (सीवाइए) गर्ने तयारी गरेको छ। यसमा ठूला कम्पनीले बुझाएको भ्याट विवरणको पुन जाँच गरिनेछ। 

चालु वर्षको असोज महिनामा विभागले ८ अर्ब ८४ करोड भ्याट संकलनको लक्ष्य लिएको थियो। तर, यो शिर्षकमा एक अर्ब ३२ करोड कम अर्थात् ७ अर्ब ५२ करोड रुपैयाँ मात्रै संकलन भएको छ।  यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा भने सरकारले लक्ष्य भेट्न सकेन।

भदौ महिनामा ८ अर्ब ३९ करोड लक्ष्य लिएको भ्याटमा ७ अर्ब ६८ करोड संकलन भएको छ। यो लक्ष्यभन्दा ८.४६ प्रतिशतले कम हो। यसैगरी साउन महिनामा ११ अर्ब ६२ करोड संकलन भएको छ। 

तीन महिनामा कुल लक्ष्य भन्दा ३ अर्ब ५४ करोड कम राजस्व संकलन भएको छ। आयकर, अन्तशुल्क जस्ता अन्य कर शिर्षकमा लक्ष्यभन्दा बढी राजस्व संकलन भैरहेको छ। तर भ्याटमा लगातार कम दरमा राजस्व संकलन भैरहेको छ। भ्याट आयकर अन्तशुल्क एक अर्कामा निहित नै हुने विषय हो । तर भ्याटमा संकलनमा गिरावट देखिएपछि अर्थमन्त्रालयमा चासो बढेको हो। 

मन्त्रालयका एक अधिकारीले भने 'राजस्व संकलनमा लक्ष्यभन्दा बढी नै असुली भैरहेको छ, तर भ्याट शिर्षकमा २ वर्षअघिभन्दा कम संकलन भएपछि चिन्ताको विषय बनेको छ।'

अहिले राजस्व अनुसन्धान विभागमा ८ सय भन्दा बढी फाइलहरु भ्याट छलिकै रहेका छन्। यसले गर्दापनि भ्याट कम असुली हुनु मन्त्रालयको टाउको दुखाईको विषय बनेको हो। आर्थिक वर्ष २०७६/०७७ को सुरुआती ३ महिनामा २७ अर्ब २० करोड राजस्व संकलन भएकोमा चालु वर्षको ३ महिनामा २६ अर्ब ८२ करोड मात्रै संकलन भएको हो। 

सामान्यतय नेपालमा कर विस्तार वार्षिक २० प्रतिशतलाई प्राकृतिक वृद्धिदर मानिन्छ। तर कोभिडको कारण पछिल्लो समय घट्दै गएको छ। अहिले सबैतिरको आर्थिक गतिविधि बढेको अनुमान गरिएको छ। देशभित्र हुने आर्थिक गतिविधि र विकास निर्माणको कामले भ्याट असुलीलाई पनि संकेत गर्ने गर्दछ।

देशभित्रको आर्थिक गतिविधि बढेर जादा पनि भ्याट असुली कम हुन थालेपछि अर्थका अधिकारीहरुले आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागसँग अनौपचारिक छलफल सुरु गरेको छ। 

राजस्व विभागले भने सरकारले दिएको कर छुटले भ्याट कम मात्रामा मात्रै संकलन भएको जनाएको छ। आर्थिक ऐन मार्फत सरकारले विभिन्न शिर्षकमा कर छुट दिएको छ। यसले भ्याट संकलनको गतिमा ह्रास आएको विभागका अधिकारी बताउँछन्। 

सरकारले आर्थिक ऐन २०७८ अनुसार सरकारी संस्थानलाई भ्याट रकममा ५० प्रतिशतबाट ३० प्रतिशतमा झारेको छ। विभागका एक अधिकारीले भने "दुरसञ्चार कम्पनीले पहिले बल्कमा डाटा बेच्ने गरेका थिए।

अहिले कर्पोरेट सेक्टरले डाटा लिएका छैनन। यस्तै दूरसञ्चार क्षेत्रसँग सम्बन्धित कम्पनीको व्यापारमा पनि भारी गिरावट आएको छ यसले भ्याट संकलनमा भारी गिरावट आएको छ।"साथै यी कम्पनीहरुले प्राविधिक उपकरणहरु आयात बढाउँदा  ऋण पनि बढेर गएको छ। 

यसैगरी पर्यटन क्षेत्रका होटल केबलकारबाट प्राप्त हुने भ्याट आउन सकेको छैन। यी कम्पनीहरु अझैपनि गुल्जार हुन सकेको छैन। चाडपर्वको समयमा उद्योग तथा व्यवसायीहरुको स्टक बढेको छ। यद्यपि यी विषयमा राजस्व विभागले अध्ययन गर्ने भएको छ।