BIZMANDU
www.bizmandu.com

उत्तरी नाका जोड्ने दर्जन सडकको अझै ट्रयाक खुल्नै बाँकी, तातोपानी र रसुवागढी सडकको बिजोग

२०७८ कात्तिक २६

उत्तरी नाका जोड्ने दर्जन सडकको अझै ट्रयाक खुल्नै बाँकी, तातोपानी र रसुवागढी सडकको बिजोग
उत्तरी नाका जोड्ने दर्जन सडकको अझै ट्रयाक खुल्नै बाँकी, तातोपानी र रसुवागढी सडकको बिजोग



काठमाडौं। स्थलमार्ग पारवहन भारतसँग जति सजिलो छ, चीनसँग पनि बनाउन नसकिने होइन। दुवै छिमेकीसँग सडक सहज भए नेपालका लागि आयात-निर्यात सन्तुलित राख्न त मद्दत मिल्छ नै, यसको छुट्टै भू-राजनीतिक महत्व पनि छ।

Tata
GBIME
Nepal Life

सडक बनाउने योजना सरकारले अघि नसारेको पनि होइन। तर घोषणा गरे पनि बजेटको प्राथमिकतामा नपर्दा उत्तरी नाकासम्म पुग्ने दर्जन सडकका योजना कहिल्यै पुरा हुन पाएनन्। सञ्चालनमा रहेका मुख्य दुई नाका तातोपानी र रसुवागढी पुग्ने हो भने पारि चिनियाँ पूर्वाधार छ, वारि नेपालतर्फ सडकको अवस्था बिजोग छ।   

नेपालको ल्हासासँगको व्यापारिक सम्बन्ध धेरै वर्ष पुरानो हो। चीनसँगका भन्सार नाकामा कार्यालय पनि छन्। चीनले आफ्नो भूमिमा अन्तर्राष्ट्रिय नाकासम्म सडक पूर्वाधार बिस्तार गरेको धेरै भइसकेको छ। वारिको सडक हेर्दा चीनबाट छुटेर नेपाल आउने समान बोकेका कन्टेनर सजिलै काठमाडौं पुग्लान् भन्ने ठान्नु दुस्साहस नै हुन्छ। 

जेनतेन चल्दै रहेका दुई नाका तातोपानी र रसुवागढी चीनको वुहानमा कोरोना संक्रमण देखिएयता अवरुद्ध हुँदै सञ्चालनमा छन्। दुई वर्षयता नेपाली व्यवसायीले चीनबाट आयात गरेका सामानको डेलिभरी ढिला पाएका छन्। नाकामा चिनियाँ अधिकारीले कन्टेनर तोकेर मात्रै आउजाउ गर्न दिएका छन्। जति कन्टेनर नेपाली भन्सार हातामा आइपुग्छन्, ती पनि नेपालतर्फ बाटो ठाउँ ठाउँमा बिग्रिएकाले काठमाडौं पुग्न निकै ढिला भइरहेको छ। 

वर्षका ३/४ महिना सडकमा सवारी आवागमन हुन्छ, बाँकी अवधि कतै न कतै पुरिएको, भत्किएको र बगाएको हुन्छ। नेपालतर्फ सडककै दुरावस्थाले चीनसँगको व्यापारमा व्यवसायी हैरान छन्। चिनियाँ अधिकारीहरुले तोकेको संख्यामा मात्रै कन्टेनर जाँचपास गरिदिँदाको भन्दा बढी हैरानी नेपालतर्फ भित्रिएपछि कन्टेनरलाई काठमाडौं पुर्‍याउनुमा छ। 

घोषित सडक योजना पुरा गर्न सरकारले ध्यान नदिँदा चिनियाँ सामान भारत भएर ल्याउनुपर्ने बाध्यता हटेको छैन। २०७२ असोजमा भारतले अघोषित नाकाबन्दी गरेपछि सरकारले उत्तर जोड्ने दर्जन सडक निर्माण गर्ने घोषणा गरेको थियो। २०७६ भित्रै पुरा गर्ने भन्दै घोषित योजनाअनुसारका सडकको अझै ट्रयाक नै खोलिएको छैन।

सरकारले हिल्सा, किमाथांका, कोरला, ओलाङचुङगोला, तिंकर लगायतका नाकासम्म पुग्ने पक्की सडक निर्माण गर्ने योजना बनाएको थियो। खाँदबारीहुँदै किमाथांका जोड्ने १६२ किलोमिटर सडकको १०.५ किमी ट्याक खोल्नै बाँकी रहेको सडक विभागका उपमहानिर्देशक शिव नेपालले बताए। 
उनका अनुसार १४ किमिको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो। सेनाले गरेको सर्भे अनुसार १०.५ किमिमा मात्रै हुने देखिएको छ। ट्रयाक खोल्ने काम सेनाले सुरु गरिसकेको छ।

घोषणा अनुसार मुस्ताङको कोरला नाका पुग्ने सडकको भने ट्रयाक खुलेर अहिले स्तरोन्नतिको काम चलिरहेको  विभागले जनाएको छ। हुम्लाको हिल्सा पुग्ने १४ किमि, ताप्लेजुङको ओलाङचुङगोला पुग्ने नाकाको १४ किमि र दार्चुला-तिंकर सडकको ८८ किमी ट्रयाक खोल्नै बाँकी छ। 

अहिले नेपाली सेनाले ८४ किमि र ४ किमिमा सडक विभागले काम गरिरहेको उपमहानिर्देशक  नेपालले बताए। 'सरकारले घोषणा गरेर मात्र हुँदैन। त्यसको तयारी गरेर काम गर्दा समय लाग्छ। अहिले काम गरिरहेका छौं,' उनी भन्छन्, 'काम हुन सके हामी छिटै दर्जन उत्तरीनाकासँग सडक सञ्जालमा जोडिन्छौं।'

अहिले चीनसँग दुइटा नाका सञ्चालनमा छन्- सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी। दुवैमा चीनतर्फ आउहाउ गर्न सडक नभएका होइनन्, तर नाजुक अवस्थामा छन्। तातोपानी  र रसुवागढी पुग्ने दुवै सडकमा कतै एउटा कन्टेनर बिग्रिएर रोकियो भने घण्टौंसम्म जाम हुने अवस्था छ। धेरै ठाउँ पहिरोको जोखिम छ। वर्षामा ढुवानीका साधन ओहरदोहर गर्न जोखिमपूर्ण छन्। 

तातोपानीः खुल्ने बन्द हुने छैन टुंगो 
उत्तर जोड्ने पहिलो व्यापारिक नाका तातोपानी भूकम्पले क्षतविक्षत भएपछि लामो समय बन्द रह्यो।  भोटेकोशीमा आएको बाढीले थप क्षति पुर्‍यायो। 

असार १ गतेपछि आएको बाढीले  लिपिङ बजारमा रहेको पुलको एप्रोच लिंक र कोदारीमा ५० मिटर सडक वासआउट गरेका कारण व्यापारीहरुले दसैंको सामान नै ल्याउन पाएनन्। कोभिडका लागि चीनबाट आयात गरिएका  स्वास्थ्य सामाग्री तातोपानी भन्सारहुँदै भित्र्याउन सजिलो भएन। सडक बन्ने टुंगो नभएपछि व्यापारीले तुइनमा हालेर स्वास्थ्य सामाग्री वारिपारि गराए।

अहिले तातोपानी पुग्ने अरनिको (कोदारी) राजमार्ग नाजुक अवस्थामा छ। बाढीले क्षति पुर्याएको सडकलाई सामान्य मर्मत गरेर सञ्चालनमा ल्याइएको भए पनि अवस्था राम्रो छैन।  'तातोपानीमा ठिकै सडक थियो, पटक पटक बाढीले क्षति पुर्यायो। चीनले दुइपटक सर्भेस मर्मत गर्यो,' सडक विभागका उपमहानिर्देशक शिव नेपालले भने, 'त्यसका लागि अध्ययन गरेर अघि बढ्नुपर्ने देखिएको छ।' 

नेपालका अनुसार  लामोसाँघुदेखि तातोपानीसम्म करिब २५ किमिमा धेरै समस्या छ। त्यसका लागि ५/६ अर्ब रुपैयाँ खर्चेर बनाउनुपर्छ। 'हामीले डिटेल अध्ययन गरेर अघि बढ्ने योजना बनाएका हौं। स्रोतको अभाव छ,' उनले भने, 'पैसा नभएर हामीले सडक त्यसरी बनाउन नसके पनि मुख्य पहिरो जाने ५/६ ठाउँमा स्लोव स्टेवलाइजेसनका लागि यो वर्ष अध्ययन गर्ने सोचेका छौं।'

यो सडक निर्माणका लागि नेपालले चीनसँग पटक पटक अनुरोध गरेको भए पनि अहिलेसम्म कुनै जवाफ दिएको छैन। यस अघि तीनपटक प्रस्ताव गरिसकेको छ। सडक विभाग बजेट नभएको भन्दै काम गर्न पन्छिने गरेको छ।

रसुवागढीमा उस्तै बिजोग
रसुवागढी पुग्ने सडकको पनि अवस्था राम्रो छैन। आयोजनालाइ तीन खण्डमा विभाजन गरेर अघि बढाएको आयोजनाको एउटा खण्डको निर्माण सुरु नै हुन सकेको छैन। निर्माणाधीन दुई खण्डको काम अत्यन्त सुस्त छ।

रसुवागढी पुग्ने सडक गल्छी-मैलुङ  ४६ किमि, मैलुङ-स्याफ्रुबेंसी १९ किमि र स्याफ्रुबेंसीदेखि रसुवागढी १७ किमि गरी तीन खण्ड विभाजन गरेर निर्माण अघि बढाइएको छ।

पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म आर्थिक वर्ष २०७२/७३ मा ठेक्का लगाएर काम अघि बढाइएको हो। ४६ किमिको यो खण्डमा २५ किमिभन्दा बढी कालोपत्रे भइसकेको छ।  जसको ७० प्रतिशत भौतिक प्रगति छ। ‍आयोजना २ वर्ष पुरा भइसक्नुपर्ने भए पनि अझै पाँच किमि कटिङको काम बाँकी नै छ।

मैलुङदेखि स्याफ्रुबेंसी पुग्ने दोस्रो खण्डको २० प्रतिशत भौतिक प्रगति छ। गत वर्ष सम्झौता भएर ३० महिनामा सक्ने भनिएको आयोजनाको काम  सकिनेमा आयोजनाका अधिकारीहरु नै सशंकित छन्। तेस्रो खण्डको काम सुरु हुनै सकेको छैन्। चिनियाँ पक्षले गरिदिने गरि द्धिपक्षीय सम्झौता भएको भए पनि अझै उनीहरु आएका छैनन्। दुई वर्ष अघि नै चिनियाँहरु आएर शिलान्यास गरिएको आयोजनामा अझै काम सुरु हुन सकेको छैन।