BIZMANDU
www.bizmandu.com

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा दीर्घकालीन समाधान खोज्न अर्थविद र पूर्व सचिवको जोड

२०७८ कात्तिक २६

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा दीर्घकालीन समाधान खोज्न अर्थविद र पूर्व सचिवको जोड
पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा दीर्घकालीन समाधान खोज्न अर्थविद र पूर्व सचिवको जोड

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यमा दीर्घकालीन समाधान खोज्न अर्थविद तथा पूर्वसचिवले जोड दिएका छन्। राजधानीमा आयोजित 'पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक सम्वाद' कार्यक्रममा अर्थविद् तथा पूर्वसचिवले मूल्य लगातार बढेर महँगीले जनताको ढाड सेक्ने अवस्थाको समाधान खोज्न सुझाएका हुन्।

Tata
GBIME
Nepal Life

कार्यक्रममा अर्थविद् डा. अच्युत वाग्लेले आयल निगमको स्वामित्व सरकारले छाड्नुपर्नेमा जोड दिए । निगम सरकारी स्वामित्व राखिराख्नुमा ठूलो राजनीतिक स्वार्थ रहेको उनले टिप्पणी गरे । उनले भने ‘निगममा स्वचालित मूल्य समायोजन गर्नका लागि जीरो प्रोफिट एभ्रीडे, जीरो लस एभ्रीडे, एभ्री फिफ्टिन डेज्  बनाउनुपर्छ।’

कर घटाउने कुरा उच्च मध्यम वर्ग र उच्च वर्गको हित हुने बताउँदै उनले यसो गर्न नहुने बताए। कार्यक्रममा अर्थविद् डा. विश्वास गौचनले अन्तर्राष्ट्रिय तथ्यांकलाई आधार मान्ने हो भने पेट्रोलियम पदार्थको मूल्य स्वाभाविक भएको बताए। निगमलाई घाटामा पठाउनु उपयुक्त नहुने बताउँदै पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने तर्क उनले गरे। 

उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय मूल्यवृद्धि र डलरको भाउमा भएको वृद्धिले असर पारेको हो । कुन पार्टीको सरकार, भन्ने कुराले यसमा अर्थ राख्दैन।’

वाणिज्यका पूर्वसचिव केदारबहादुर अधिकारीले सबै किसिमका मूल्यवृद्धिले आम नागरिकलाई असहज बनाएको बताए। उनले भने, ‘अहिलेको मूल्यवृद्धि फिगर हेर्दा बाध्यता जस्तो देखिएको छ, यसमा अर्थविद्हरू पनि सहमत नै छन् । डाटामा आयात र उपयोगको ग्रोथ दुवै बढेको छ, यसको कारण खोजिनुपर्छ, औद्योगिक उत्पादन बढेर नै यो बढेको हो  यसो हो भने राम्रो हो । तर व्यक्तिगत जीवनमा खर्च भएको हो भने यसलाई नियन्त्रणमा लिनुपर्छ ।’

पूर्वाधार कर हटाएर सरकारले सहुलियत दिनुपर्नेमा समेत उनको जोड छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले आफ्नो देशको उत्पादन नहुँदा समस्या भएको सुनाए। 

राजस्व रणनीतिअनुसार नै राजस्व उठाइएको भन्दै उनले नेपालमा भारतकै तुलनामा पनि  पेट्रोलियम पदार्थ सस्तो रहेको बताए। 
उनले निगमले देखाएको तथ्यांक हेर्दा यो बाध्यता नै रहेको दाबी गरे। अहिलेको बाध्यकारी अवस्थालाई सबैले सकारात्मक रुपमा लिनुपर्ने सुनाए। 

कार्यक्रममा विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थको मूल्य बढाउनु उचित नहुने धारणा व्यक्त गरे। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आयल निगमले मूल्यवृद्धि गरिरहँदा आयल निगमका प्रबन्ध निर्देशकले पदमा बसिरहन नमिल्ने टिप्पणी गरे । 

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले स्वचालित मूल्य प्रणाली स्वचालित नभई स्वैच्छाचारिक भएको टिप्पणी गरे । 

उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि निसर्त र अविलम्ब घट्नुपर्नेमा जोड दिए । कार्यक्रम नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको थियो।