BIZMANDU
www.bizmandu.com

विद्युतीय चुलोको बिक्री तीव्र गतिमा बढ्दै, नेपालीका भान्साबाट चाँडै हट्ला ग्यास सिलिन्डर?

२०७८ कात्तिक २५

विद्युतीय चुलोको बिक्री तीव्र गतिमा बढ्दै, नेपालीका भान्साबाट चाँडै हट्ला ग्यास सिलिन्डर?
विद्युतीय चुलोको बिक्री तीव्र गतिमा बढ्दै, नेपालीका भान्साबाट चाँडै हट्ला ग्यास सिलिन्डर?

काठमाडौं। ६ वर्षअघि लकडाउनका कारण नेपाली उपभोक्ताले चासो बढाउन थालेको विद्युतीय चुलो (इन्डक्सन कुकिङ प्लेट) ले यतिबेला पुनः ग्यासको तीव्र मूल्यवृद्धि र विद्युत छेलोखेलो हुन थालेको अवस्थासँगै चर्चा पाउन थालेको छ।

Tata
GBIME
Nepal Life

इन्डक्सनबाट खाना पकाउँदा ग्यासभन्दा ६० प्रतिशतसम्म सस्तो पर्नुका साथै एक तिहाइ कम समयमा पाक्ने अध्ययनहरुले देखाएका छन्। तर इन्डक्सन ग्यासको विकल्प हुनसक्ने अवस्था र आधारहरु हुँदाहुँदै पनि नेपाली उपभोक्ता खाना पकाउने आधुनिक माध्यमप्रति ढुक्क हुन भने सकेका छैनन्।

गाउँ गाउँसम्मका नेपालीका भान्सामा खाना पकाउने इन्धनका रुपमा दाउराबाट ग्यासमा परिणत हुन केही दशक मात्र लागेको भए पनि विद्युतीय चुलोको प्रयोग अहिलेसम्म ठुला शहर-बजारका सीमित घरपरिवारसम्म मात्र छ। विद्युतीय चुलो किन्न र बिजुलीबाट खाना पकाउन महँगो पर्ने आम बुझाइकै कारण अहिले नेपालको ग्रामीण क्षेत्रसम्मै विद्युतीकरण करिब ९०% भइसकेको अवस्थामा समेत नेपालीका भान्सामा ग्यासको विकल्प विद्युतीय चुलो (इन्डक्सन कुकिङ प्लेट) हुन नसकेको हो।

अहिले एउटा ग्यास सिलिन्डर लिँदा खालीकै २५ सय रुपैयाँ पर्छ। एलपी ग्यास भर्न अहिलेकै मूल्यमा १५ सय ७५ रुपैयाँ लाग्छ, ढुवानी पारिश्रमिकबाहेक नै। एलपी ग्यास तरल स्वरुपमा हुने भएकाले चिसो मौसममा जमेर फारो नहुने वा थप खर्चिलो हुने व्यवहारिक पाटो अलग्गै छँदैछ। यसविपरीत इन्डक्सन चुलो बजारमा छ्याप्छ्याप्ती पाउन थालेसँगै यसको मूल्य तल ओर्लिँदै गएको देखिन्छ। केही  वर्षअघिसम्म माग असाध्यै कम हुँदा न्यून आपूर्तिका कारण १२ हजार रुपैयाँभन्दा कम मूल्यमा  विद्युतीय चुलो लगभग पाइँदैनथ्यो भन्दा फरक पर्दैन। अहिले दुई हजार रुपैयाँ हाराहारीदेखिका विद्युतीय चुलो बग्रेल्ती बजारमा पाइन्छन्। मध्यम खालको इन्डक्सन पनि पाँच हजार रुपैयाँ हाराहारीमा आरामले पाइन्छ।
यसकारण सुरुमा चुलो जडानको खर्चका हिसाबले पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ भने संचालन खर्च पनि विद्युतबाट खाना पकाउँदै निकै सस्तो पर्छ। (हे. ग्राफिक्स)
फेरिँदैछ इन्डक्सन चुलोको बजार
व्यवसायीहरुका अनुसार, कोरोना भाइरसको संक्रमणका कारण ग्यास आपूर्तिमा समस्या भएपछि बजारमा इन्डक्सन चुलोको माग बढ्न थालेको हो। पहिले ग्यासको समस्या हटाउनका लागि प्रयोग गरिने इन्डक्सन चुलो यतिबेला अनिवार्य जस्तै हुन थालेको यसको माग तथा बिक्रीको प्रवृत्तिमा पनि देखिँदै गएको विद्युतीय चुलो व्यवसायीहरुको भनाइ छ। केही सातादेखि खाना पकाउने ग्यासको मूल्य बढ्दै जाँदा उपभोक्ताहरु विद्युतीय चुलो प्रयोगतर्फ लागेका हुन्। 

लोडसेडिङ नहुने भएपछि बजारमा इन्डक्सन चुलोको माग बढेसँगै विभिन्न ब्रान्डका विद्युतीय चुलो आउन थालेको व्यवसायीहरुले बताएका छन्। यससँगै अहिले बजारमा इन्डक्सन चुलोमा एक किसिमको प्रतिस्पर्धा नै चलेको उनीहरु बताउँछन्। 

माग बढ्न थालेपछि पहिलेभन्दा धेरै कम्पनीको इन्डक्सन बजारमा भित्रिएको कोनिका इलेक्ट्रिक सोरुमका संचालक बैकुण्ठ कर्माचार्यले बताए। सरकारले विद्युतीय चुलो प्रयोग गर्न प्रोत्साहन गरेपछि पहिलेभन्दा इन्डक्सन किन्ने ग्राहक बढ्न थालेको उनको भनाइ छ। 

हाल बजारमा विद्युतबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो आएका छन्। यी चुलो प्रायः २२ सय वाटका छन्। 

व्यापारीहरुका अनुसार, पहिले इन्डक्सनभन्दा बढी इन्फ्रारेड चुलो बिक्री हुन्थो। इन्फ्रारेडमा सबै धातुका भाँडाहरुमा खाना पकाउन सकिने भएकाले पनि यसको माग ज्‍यादा थियो। तर अहिले भने हेर्दा सफा र छरितो देखिने र इन्डक्सनमा सपोर्ट गर्ने भाँडाकुँडाहरु पनि सहजै पाइन थालेपछि इन्डक्सन चुलो नै खोज्ने उपभोक्ता धेरै रहेको कर्माचार्य बताउँछन्।

इन्डक्सनको तुलनामा इन्फ्रारेड चुलोले बिजुली खपत बढी गर्छ। यसका बाबजुद अहिले इन्फ्रारेडको दुईमुखे समेत आएकाले ग्यासको चुलोजस्तै एकैपटक दुईवटा चुलोमा पकाउन सकिने भएकाले इन्फ्रारेड चुलो खोज्ने ग्राहक पनि आउने माता हरिसिद्धि ट्रेड कन्सर्नका संचालक सुशील श्रेष्ठले बताए। 'इन्फ्रारेडमा सबै भाडा लाग्ने र थप भाडा किन्न नपर्ने भएपछि यसको पनि माग बनेको हो,' उनले भने। 

यद्यपि, हाल बजारमा इन्डक्सन चुलोको माग इन्फ्रारेडको भन्दा धेरैले वृद्धि हुँदै गएको भृकुटी इम्पेक्सका संचालक निकेश घिमिरेले पनि बताए। 

२२ सय रुपैयाँदेखि नै पाइन्छन् इन्डक्‍सन 

केही वर्षअघि मात्रसम्म पनि १०-१२ हजार रुपैयाँभन्दा कममा इन्डक्सन चुलो पाउन मुस्किल हुनेमा अहिले दुई हजार आसपास नै यो पाइन्छ। व्यवसायीहरुका अनुसार, बजारमा २२ सय रुपैयाँदेखि नौ हजार रुपैयाँसम्मका इन्डक्सन चुलो उपलब्ध छन्। 

ब्रान्डेड चुलो नै पनि साढे तीन हजार रुपैयाँ हाराहारीमा आरामले पाइन्छन्। डाइमन्ड ब्रान्डको इन्डक्सनको मूल्य २५ सय रुपैयाँभन्दा माथिबाट सुरु हुन्छ। 

अहिले नेपाली बजारमा दर्जनभन्दा बढी ब्रान्डका इन्डक्सन चुलो आउने गरेको छ। कोभिडका कारण ग्यास आपूर्ति केही समय असहज हुँदादेखि नै इन्डक्सन चुलोको माग बढ्न थालेको उनीहरुको भनाइ छ। नेपाली बजारमा उपलब्ध इन्डक्सन चुलोमध्ये धेरैजसो चिनियाँ र भारतीय ब्रान्डका छन्। केही युरोपेली ब्रान्डका इन्डक्सन पनि नपाइने भने होइन।

कोभिडअघि बजारमा बाल्ट्रा कम्पनीको इन्डक्सनको बिक्री सबैभन्दा बढी हुने गरेको भए पनि पछिल्ला केही महिनायता नै यो चुलोको बजार फेरिएको सम्बन्धित बिक्रेताहरुको अनुभव छ। यतिबेला बाल्ट्रा बाहेक इलेक्ट्रोन, यसुदा, सोभन, अम्रित, सनसाइन, अगेनो, डाइमण्ड, प्रेस्टिज लगायत ब्रान्डका इन्डक्सन पनि धेरै बिक्री हुनेमध्ये रहेको व्यवसायीहरु बताउँछन्। मध्यम तथा राम्रो गुणस्तरका इन्डक्सनमा व्यवसायीले कम्तिमा एक वर्षको वारेन्टी पनि दिने गरेका छन्।

नेपालमा धेरै चलेका ब्रान्डमध्येको बाल्ट्रा कम्पनीको ठिकठाकको इन्डक्सन चुलोको मूल्य ३५ सयदेखि ३८ सय रुपैयाँसम्म पर्छ। इलेक्ट्रोन ब्रान्डको इन्डक्सन पनि ४५ सयदेखि पाँच हजार रुपैयाँमा आउँछ। यस्तै, भारतीय ब्रान्ड प्रेस्टिजको इन्डक्सन पनि ५५ सय रुपैयाँबाट आउने पाइएको छ।

बिजुलीबाटै चल्ने इन्फ्रारेड चुलोको मूल्य भने सस्ता इन्डक्सन चुलोको भन्दा केही बढी रहेको छ। व्यवसायीहरुका अनुसार, एकमुखे (सिंगल) इन्फ्रारेड चुलो ४५ सय रुपैयाँ र डबल (दुईमुखे) इन्फ्ररेड चुलोको मूल्य ९ हजार रुपैयाँ पर्छ। 

कस्ता भाँडा प्रयोग हुन्छन्
पहिले बजारमा आउने इन्डशन चुलोमा इन्डक्सन बेस भएका स्टिलका भाँडाहरु मात्र प्रयोग हुने भए पनि अहिले भने सबै प्रकारका भाडाहरु लाग्ने इन्डक्सन पाइन्छन्। इन्डक्सन बेस भएका यस्ता भाँडा खासगरी स्टिल, फलाम र तामाका पाइन्छन्। 

खासगरी बजारमा कराई, कुकर, किट्ली, ताप्के लगायत विभिन्न डिजाइनका इन्डक्‍सनमा लाग्ने भाँडाहरु पाइन्छन्। यस्ता भाँडाहरुको मूल्य कम्तिमा ६ सय रुपैयाँबाट सुरु भएर ब्रान्ड, गुणस्तर, आकार-प्रकार इत्यादि अनुसार ८-१० हजार हाराहारीसम्म पर्छ। ग्यास चुलोमा लाग्ने यस प्रकारका भाँडाको पनि मूल्य यस्तै रेन्जमा पर्दछ। इन्डक्सनमा आल्मुनियम/सिल्भरका भाँडाहरु भने लाग्दैनन्।