BIZMANDU
www.bizmandu.com

बिर्तामोडमा थपियो पाँचतारे होटल, दुई अर्ब लगानीमा तयार ‘किङ्सबरी’ले क्यासिनो पनि चलाउने


बिर्तामोडमा थपियो पाँचतारे होटल, दुई अर्ब लगानीमा तयार ‘किङ्सबरी’ले क्यासिनो पनि चलाउने
बिर्तामोडमा थपियो पाँचतारे होटल, दुई अर्ब लगानीमा तयार ‘किङ्सबरी’ले क्यासिनो पनि चलाउने

काठमाडौं। झापाको बिर्तामोडमा दुई अर्बको लागतमा क्यासिनोसहितको पाँचतारे होटल 'किङ्सबरी' थपिएको  छ। तीन महिनाअघि नै सफ्ट ओपनिङ भइसकेको यो होटलको आउँदो अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा ग्राण्ड ओपनिङ हुने होटलका संचालक प्रकाश गोतामेले बताए।

Tata
GBIME
Nepal Life

होटलसँगै लाइभ क्यासिनो सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिए। यतिखेर बेलिज क्यासिनोसँग छलफल भइरहेको उनले बताए। 'क्यासिनो चलाउनका लागि हामीले लाइसेन्स लिइसकेका छौं। अब फाइनल हुन बाँकी छ,' उनले भने।

आन्तरिकसँगै भारतीय पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएको उनले बताए। यसअघि चक्रपथमा उनले होटल ग्राण्ड प्रिन्स संचालनमा ल्याएका थिए। नेपालको पूर्वी क्षेत्रमा पर्यटन प्रवर्द्धनसँगै व्यवसायिक गतिविधि बढ्ने आकलन गर्दै झापामा पनि होटल संचालनमा ल्याएको उनले बताए।

'होटल शहरी क्षेत्रमै छ। इलाम, दार्जिलिङ, सिक्किम, भुटान, वेस्ट बंगाल जान-आउनका लागि बिर्तामोड ट्रान्जिट पोइन्ट पनि हो। यसो हुँदा हामीले आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएका हौं,' उनले भने।

१७ रोपनीमा निर्माण गरिएको यो होटलका पाँचवटा भवन संरचना छन्। मुख्य भवनमा लबी, रिसेप्सनसँगै ८६ वटा कोठा छन्। बाँकी भवनहरु अल डे डाइनिङ रेष्टुरेन्ट, हेल्थ क्लब, पाँच सय जना क्षमताको बैंक्विट हल, फाइन डाइनिङ रेष्टुरेन्ट, तीन वटा कन्फ्रेन्स हलसहितको साकाहारीहरुका लागि रेष्टुरेन्ट लगायत छन्। डिजाइन अनुसारका अधिकांश संरचना तयार भइसकेका छन्।

होटलको अगाडिको भागमा स्टेज प्रोग्राम अथवा कार्यक्रमका लागि दुई हजार जना क्षमताको खाली ठाउँ रहेको उनले जानकारी दिए।

उनका अनुसार होटलको आफ्नै व्यवस्थापन छ। हाल ७० जना कर्मचारी कार्यरत होटलको ग्राण्ड ओपनिङपछि एक सय ७७ जनाको जनशक्ति कार्यरत रहने उनले बताए।

होटलका ८६ वटा कोठामध्ये डिलक्स, सुइट र कर्नर लगायत तीन किसिमका छन्। आन्तरिक पर्यटकसँगै स्थानीयलाई पनि पाँचतारेको सुविधाको अनुभव दिने उद्देश्य रहेको होटलले जनाएको छ। बाहिर र भित्र बसेर खानपिनका लागि एक सय ५० जना क्षमताको रेष्टुरेन्ट छ।

हाल १७ रोपनीमा संचालित होटलमा थप एक बिघा जग्गामा पाँच हजार क्षमताको बैंक्विट हल, ब्याटमिन्टन कोर्ट लगायत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए। यो दोस्रो चरणको विस्तार योजना हो।