BIZMANDU
www.bizmandu.com

देशभर आजबाट राष्ट्रिय जनगणना शुरु हुँदै, लिपुलेक, लिम्पियाधुरा र कालापानीमा पनि गणना गरिने

२०७८ कात्तिक २५

काठमाडौं। केन्द्रीय तथ्यांक विभागले यसपटकको जनगणना बिहिबारदेखि शुरु गर्ने भएको छ। हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म सञ्चालन हुने विभागले जनाएको छ।

Tata
GBIME
Nepal Life

नेपालमा विसं १९६८ देखि जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ। 'केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना विक्रम संवत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन हुनेछ। यस राष्ट्रिय कार्यक्रममा भाग लिन हामी सबैलाई अनुरोध गर्न चाहन्छौं,' राष्ट्रिय कार्यक्रममा सहभागी विभागले सबैलाई अनुरोध गरेको छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणना हुने

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताए। जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ७७ जिल्लामा जनगणना कार्यालय र ३४९ स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए। काठमाडौं जिल्लामा भने ५ वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्लाहरु मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलाली लगायतका जिल्लामा भने २/२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताए। जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने उनको भनाई थियो।

महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवत् जावत् गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताए। ‘भारतीय सरकारबाट सहज आवत् जावत् दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौ। कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन। कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेसन हामीले अरु स्रोतहरुबाट र त्यहाँसँग सम्बन्धित अरु व्यक्तिहरुबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिँदाखेरी लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ,' उनले भने, 'अहिले प्रविधिको विकास साह्रै राम्रो भएकोछ । स्याटेलाइटहरु प्रयोग गरिकन ती क्षेत्रहरुमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौँ। एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ति विवरणहरु लिनपनि हामीलाई गाह्रो हुँदैन। यसरी त्यहाँको केही अनुमानहरु हामी निकाल्न सक्छौँ। त्यो अनुमान सहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले संघीयता कार्यान्वयन पछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताए। सबै तहमा चाहिने खण्डिकृत विवरणहरु जनगणनाबाट आउने बताए। आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रुपमा रहने उनले बताए। ‘सबै तहमा चाहिने खण्डिकृत डेटाहरु जो उत्पादन गर्नुपर्ने हुन्छ, विकासका योजनाहरु तर्जुमा गर्न, बजेट बनाउन, त्यो सबैलाई सहयोग गर्ने एउटा माउ ग्रन्थ जस्तैको रुपमा अहिलेको जनगणनालाई लिएका छौँ। यो धेरै महत्वपूर्ण छ। यसले उत्पादन गर्ने डेटाले हाम्रो देशको सामाजिक, आर्थिक रुपान्तरणका लागि दुरगामी प्रभाव पार्छ,’ फुँयालले भने।

काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतीमा आधारित क्यापी विधि प्रयोग गरी ट्यावलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ।  साथै विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरुको जनगणना संकलन गरिने भएको छ। यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ।

राजनीतिक दलका शीर्ष नेता तथा जातीय संघसंस्थाले पनि जनगणना कार्यक्रममा सहभागी हुन अपिल गरेका छन्।