BIZMANDU
www.bizmandu.com

भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा, उद्योगले पाए बिजुली

२०७८ कात्तिक २२

भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा, उद्योगले पाए बिजुली
भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा, उद्योगले पाए बिजुली

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्ण रूपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई पनि आइतबार साँझबाट विद्युत दिएको छ। सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो।

प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत दिएको थियो।

ट्रान्सफर्मर बिग्रिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भरतपुर पुगेका थिए। उनी बुधबार रातभरि बसेर मर्मत गर्न लगाएका थिए। उनको संक्रियताले ३६ घण्टापछि लक्ष्मीपूजाको दिन घरायसी क्षेत्रमा विद्युत आपूर्ति सहज भएको थियो। कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो। 

सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकोले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए।

सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ। उक्त सबस्टेसनबाट विद्युत आपूर्तिका लागि तीन वटा फिडर निकालिसकिएको छ ।