BIZMANDU
www.bizmandu.com

मुद्दामाथि भूकम्पको मारबाट यसरी उठ्यो एभरेष्ट होटल, पाँचतारेको भीडमा अब कडा प्रतिस्पर्धी


मुद्दामाथि भूकम्पको मारबाट यसरी उठ्यो एभरेष्ट होटल, पाँचतारेको भीडमा अब कडा प्रतिस्पर्धी
मुद्दामाथि भूकम्पको मारबाट यसरी उठ्यो एभरेष्ट होटल, पाँचतारेको भीडमा अब कडा प्रतिस्पर्धी


काठमाडौं। नेपालका पहिलो पुस्ताका सीमित पाँचतारे होटलहरुमध्येको एभरेष्ट होटल २०७२ वैशाखको भूकम्पबाट नराम्ररी चर्कियो। होटलको मूल भवनको स्ट्रक्चरमै गम्भीर क्षति पुगेपछि एभरेष्टको व्यवसायिक भविष्य मात्र अनिश्चित बनेन, यसले साढे चार दशक लगाएर कमाएको ख्यातिको औचित्यसमेत समाप्त भएको लख धेरैले काटेका थिए।

Tata
GBIME
Nepal Life

पारिवारिक मुद्दामामिला अदालतसम्म पुगेदेखि नै सञ्चालनमा अप्ठ्यारो परिरहेका बेला भूकम्प गएपछि एभरेष्ट होटल बन्द भएको थियो। करिब तीन वर्षअघि सर्वोच्च अदालतले मुद्दाको छिनोफानो गरिदिएपछि होटल पुन: सञ्चालन गर्नेगरी पुनर्निर्माण थालिएको थियो। त्यसका लागि एभरेष्टका संचालकले तत्कालिन जनता बैंकबाट ७५ करोड र अन्य केही बैंकबाट ५ करोड गरी कुल ८० करोड रुपैयाँ ऋण लिएर होटलको पुनर्निर्माण गरे। 

साढे ६ वर्षअघिको भूकम्पबाट होटल भवनको पाँचवटा कोलम तथा बिम लगायतमा मुख्य संरचनाहरुमै गम्भीर क्षति पुगेको देखिएको थियो। त्यसपछि जोखिमपूर्ण भएकाले भवन पूरै भत्काउनुपर्ने भन्दै विरोध चर्को बनाएका वरपरका बासिन्दा पनि अहिले 'दि एभरेष्ट होटल' पुरानो व्यवसायिक जगमा झन् सुदृढ बनेर पुनः उभिएपछि खुसी छन्।

भूकम्पपछि फेरिएको स्वरुप

पाँच दशक पुरानो यो होटलको तीन वर्षअघि सघन रेट्रोफिटिङ गरेपछि अहिले पूर्णरुपमा काया फेरिएको छ। होटलको 'इन्ट्रास'देखि 'टेरेस'सम्म पुग्दा यसबीचमा पर्ने लबीदेखि करिडोर, रेस्टुरेन्ट, कन्फेरेन्स हल, रुम लगायत सम्पूर्ण स्पेसको इन्टेरियर १८० डिग्रीमा फेरिएको छ। भूकम्पअघि एभरेष्टमा कयौंपटक पुगेका व्यक्तिलाई पनि अहिले त्यहाँ पुग्दा पहिले यसको हुलिया कस्तो थियो भन्ने सम्झन मुस्किल पर्छ। एभरेष्टलाई नयाँ स्वरुपमा यस्तरी ढालिएको छ कि पुरानो भौतिक छवि धुमिल भइसकेको छ।

होटल बन्द हुँदा दशकौंदेखि यससँग जोडिएका स्थानीय बासिन्दा र ग्राहकहरु यसको संचालनको व्यग्र प्रतीक्षामा थिए। यसबीच अन्य थुप्रै पाँचतारे होटलहरु काठमाडौं उपत्यका र बाहिर पनि संचालनमा आइसकेका छन्। यद्यपि, नयाँ स्वरुपका साथ सेवा-सुविधा र संरचना विस्तार गर्दै पुनः संचालनमा आएको एभरेष्ट यतिबेला हस्पिटालिटी क्षेत्रका अन्य पाँचतारे होटलहरुसँग स्वस्थ प्रतिस्पर्धाका लागि पूर्णरुपमा तयार रहेको होटल व्यवस्थापनको भनाइ छ।

एभरेष्टले भूकम्पको घटनायता सेवा फेरि सुरु गरेको वर्ष नै कोभिड-१९ ले विश्वभर नै पर्यटन क्षेत्र प्रभावित बन्यो। यसले एभरेष्टको सेकेन्ड इनिङको पहिलो सत्रमै धक्का पुगेको थियो। यसले महाव्याधिको चुनौतीलाई पनि पार लगाएर रिभाइभको चरणमा आइसकेको होटलका महाप्रबन्धक हेमन्त मेहता बताउँछन्। 'हामीले हाम्रा पुराना स्वदेशी-विदेशी पाहुनाको मन अहिले प्रतिस्पर्धी मूल्यमा उत्कृष्ट सेवा दिएर जितेकाले पनि चाँडै ब्याक टु नर्मल हुन सकेका हौं,' उनले भने। 

गत साता मात्र एभरेष्टले बैंक्वेट र वेडिङ सेवामा नेपालको उत्कृष्ट होटलका रूपमा इन्टरनेशनल अवार्ड समेत पाएको थियो। काठमाडौंमा संचालित आधा दर्जनभन्दा बढी पाँचतारे होटललाई उछिन्दै उक्त अवार्ड पाउनु पनि एभरेष्ट पहिलेको भन्दा अझ सुदृढ बनेर बाउन्स ब्याक भएको एउटा प्रमाण भएको होटल व्यवस्थापनको भनाइ छ।

कुल १६० कोठा रहेको एभरेष्टले यसलाई पनि पुरानो लेआउटबाट पूर्णरुपमा आधुनिक सुविधासहित कन्टेम्पोररी डिजाइनमा रेनोभेट गरेर स्तरोन्नति गरेको छ। कुलमध्ये ५० प्रतिशत (८०) कोठा रेनोभेसनको काम सकिएर संचालनमा आइसकेको छ भने बाँकी कोठामा स्तरोन्नतिको काम भइरहेको छ। कोठाको फर्निचर तथा फर्निसिङदेखि सम्पूर्ण इन्टेरियर नयाँ थिममा ढालिएको छ।

इन्ट्रास गेट, स्विमिङ पुल, पार्किङ एरिया, लबी तथा लाउन्ज इत्यादिको संरचना नयाँ बनाइएको छ। अल डे डाइनिङका लागि रेस्टुरेन्टका सुविधाहरु थप गरिएको छ। 'साइड वाक' नाममा केक तथा पेस्ट्रिज सप पनि थपिएको छ। तीनवटा प्रिमियम मिटिङ हल तयार पारिएको छ। मुख्य कन्फेरेन्स हललाई अझ 'वार्म एम्बिएन्स' महसुस हुनेगरी सजाइएको छ। होटलमा रहेको 'द क्याफे' रेष्टुरेन्टले साताको सातै दिन चौबिसै घन्टा संसारका विभिन्न परिकारहरुको स्वाद पाहुनालाई पस्किन्छ। मदिराप्रेमीका लागि बग्लस एन्ड टाइगर्स बारले पनि विविध किसिमका प्रिमियम लिकर्सहरु सर्भ गर्ने बताइएको छ।

एभरेष्ट होटलको सातौं तलामा रहेको 'फार पेभेलियन' आफैंमा चर्चित छ, जसमा आयोजित विभिन्न अफिसियल/अनअफिसियल हाइ प्रोफाइल राजनीतिक भेला नेपालका पछिल्लो तीन दशकयताका महत्त्वपूर्ण राजनीतिक घटनाक्रमका कारक 'ब्रेन चाइल्ड' भएको चर्चा पनि छ। यही फार पेभेलियन अहिले आउटडोर टेरेस स्पेससहित नयाँ स्वरुपमा संचालनमा ल्याइएको छ।

होटलले ६ हजार वर्गफीटमा १५ सय जना क्षमताको कभर्ड फ्री फङ्सन एरिया पनि संचालनमा ल्याएको छ। सभा समारोह आयोजनाका लागि होटलमा ६ हजार वर्गफीटको बैंक्वेट हल पनि विस्तार गरिएको छ। यससँगै होटलले एक साताअघिबाट आफ्नो पुल साइडमा बार्बेक्यु नाइट पनि सुरु गरेको मेहताले जानकारी दिए।

रिभाइभको रहस्य: अनुभवी कर्मचारी, सेवामा 'पर्सनल टच'
एभरेष्ट होटल पुनः संचालनमा आएपछि यसले आफ्नो सेवाको गुणस्तर पहिलेको भन्दा अझ उत्कृष्ट बनाएको दाबी गरेको छ। यसको श्रेय होटल व्यवस्थापन एभरेष्टका पुराना कर्मचारीहरुलाई दिन्छ। 

तीन वर्ष अगाडिबाट पुनः संचालनमा आएसँगै होटलमा यतिखेर उच्च व्यवस्थापनका एकाध व्यक्तिबाहेक अधिकांश जनशक्ति तीन दशकदेखि एभरेष्टमै काम गरेका र अनुभवी रहेको मेहताले बताए। मेहता स्वयम् पनि हस्पिटालिटी क्षेत्रमा २८ वर्ष काम गरिसकेका अनुभवी व्यवस्थापक हुन्। उनले यसअघि भारत, युरोप, अफ्रिका, मिडलइस्टका विभिन्न होटलमा अनुभव बटुलिसकेका छन्। यसअघि र्‍याडिसनमा काम गरिसकेका उनले ताज, लिला, हायात लगायत विभिन्न अन्तर्राष्ट्रिय होटल चेनहरुमा महाप्रबन्धककै जिम्मेवारी सम्हालिसकेका छन्। उनलाई एभरेष्ट होटलको बोर्डले भूकम्पपछि नयाँ स्वरुपमा बनाएर पुनः संचालनमा ल्याउने क्रममा भित्र्याएको हो।

होटलको उच्च व्यवस्थापकीय तहमा एकाध र मुख्य सेफमा दुईजना भारतीय छन्। बाँकी सबै कर्मचारीहरु नेपाली नै रहेको पनि मेहताले जानकारी दिए। होटलमा १ सय ६० जना कार्यरत छन्। कोभिडका कारण लामो समय बेतलबी बिदामा रहेका कर्मचारीलाई पनि यतिबेला कामसहित दुई महिनाअघिबाट पूरा पारिश्रमिक दिन सुरु गरेको उनले जानकारी दिए। 

होटलमा अधिकांश कर्मचारी पुराना र अनुभवी रहेको यसले पाहुनालाई होटलमा छिर्दाछिर्दैबाट गर्ने व्यवहारमा पनि झल्किन्छ। आतिथि सत्कारका तरिका राम्रोसँग बुझेका रिसेप्सन स्टाफ पाहुनालाई रिसिभ गर्न बाहिरैसम्म आउँछन् भने उनीहरुले होटलबाट बिदा भएर जाँदासम्म पनि उत्तिकै आतिथ्यता महसुस गराउँछन्।  

पाँच दशकदेखि नेपाली ब्राण्डको पहिचान बोक्दै आएको एभरेष्ट होटल 'अतिथि देवो भवः' को मर्मलाई व्यवहारमै उतार्नमा प्रेरित रहेकाले होटलका प्रत्येक ग्राहकलाई व्यक्तिगत रुपमा प्राथमिकता दिएर आतिथ्यता, सत्कार, रेखदेख र खानपिनदेखि बसाइसम्म पाहुनालाई माग अनुसारको हेरचाहसमेतका सेवाहरु उत्कृष्ट स्तरबाट दिने गरिएको मेहता बताउँछन्। अन्य स्टाफ मात्र नभएर होटलका सेफ समेत आफैं पाहुनालाई गएर खानाका बारेमा सोधपुछ गर्छन्। 

यसरी पाहुनालाई सेवा प्रवाहमा पर्सनल केयर दिइएका कारण एभरेष्टका अधिकांश ग्राहक होटलले दिने सेवाका लागि बारम्बार फर्किएर एभरेष्ट नै आउने गरेको जिकिर उनको छ। मेहता भन्छन्, 'एभरेष्टका वर्षौं पुराना पाहुनाले समेत आज पनि हामीबाट आतिथ्य सत्कारमा नेपालीपनसहितको उस्तै न्यानोपन र अझ स्तरीय सेवा पाउनु हुनेछ।'

होटलमा पाहुनालाई असुविधा हुनेगरी कुनै पनि प्रावधान नराखिएको बताउँदै उनले भने, 'अरु पाँचतारे होटलमा जस्तो हामीकहाँ यो गर्न पाइँदैन, यहाँ जान पाइँदैन भनेर कुनै नियम तोकेका छैनौं। यससँगै विशेष गरी इभेन्टका लागि आउने ग्राहकलाई ध्यानमा राखेर सेवामा चुस्त र स्तरीयताका लागि 'वन स्टप सोलुसन टिम' नै बनाएका छौं। यसैले हामीकहाँ जस्तोसुकै इभेन्टका लागि आउने ग्राहकले पनि आफ्नो चाहनाअनुसार सबै हिसाबले उत्कृष्ट व्यवस्थापन र सेवा अनुभव गर्नुहुनेछ। कुनै पनि अतिरिक्त शुल्क नलिइ इभेन्ट म्यानेजमेन्टको जिम्मा होटलले नै लिइदिन्छ।' 

स्थानीय पर्यटकलाई झन् प्राथमिकता
एभरेष्ट होटलले सेवा-सत्कारमा स्वदेशी पाहुनालाई पनि विदेशीजत्तिकै प्राथमिकता राखेको बताएको छ। अझ स्थानीय पर्यटकको महत्त्व कोभिड महामारीपछि अनुभूत भएकाले आन्तरिक पर्यटकलाई थप प्राथमिकता दिइएको मेहताको भनाइ छ। 

उनी भन्छन्, 'होटलमा आउने स्थानीय ग्राहकले आफ्नै घरमा आएको जस्तै आभाष गर्ने गरेका छन्। उनीहरुले एभरेष्टको सेवा सुविधा विगतको भन्दा अझै राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्। संरचना र सम्पूर्ण इन्टेरियर परिवर्तनप्रति पनि सकारात्मक प्रतिक्रिया आएको छ।'

यसका साथै नेपाली उपभोक्तालाई पनि पाँचतारे होटलको सेवा सुविधा अचाक्ली महँगो हुन्छ भन्ने भ्रम चिर्न एभरेष्ट सफल भएको दाबी उनी गर्छन्। एभरेष्टको रेस्टुरेन्ट मेनुदेखि होटल रुमसम्म मध्यमवर्गीय नेपाली ग्राहकका लागि अफोर्डेबल रहेको बताइएको छ।

'कोभिड महामारीले 'लोकल इकोनोमी' लाई सम्मान गर्नुपर्ने पाठ सिकाएको छ। भविष्यमा यदि कुनै महामारी आए आन्तरिक पर्यटनले नै धानिन सक्ने भएकाले हामीले स्थानीय  पर्यटकलाई प्राथमिकतामा राखेका हौं,' उनी भन्छन्, 'हामीले आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न आवश्यक छ। हाम्रो पर्यटकीय गन्तव्य हेर्न विश्वभरका मानिस आउँछन्। आफ्नै मुलुकको पर्यटकीय गन्तव्य घुम्न नेपालीलाई नै किन प्रोत्साहन नगर्ने?'