BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको ब्याज सम्बन्धि ब्यवस्थाले बीमाको बोनस दर प्रभावित, अर्थमन्त्रालय ढक्ढक्याउँदै

२०७८ कात्तिक २०

राष्ट्र बैंकको ब्याज सम्बन्धि ब्यवस्थाले बीमाको बोनस दर प्रभावित, अर्थमन्त्रालय ढक्ढक्याउँदै
राष्ट्र बैंकको ब्याज सम्बन्धि ब्यवस्थाले बीमाको बोनस दर प्रभावित, अर्थमन्त्रालय ढक्ढक्याउँदै


काठमाडौं। संस्थागत निक्षेपकर्तालाई दिइने ब्याज दर सम्बन्धि ब्यवस्था राष्ट्र बैंकले परिवर्तन गरेपछि जीवन बीमा कम्पनी प्रभावित भएका छन्। एकै पटक ब्याज दरमा २ प्रतिशत बिन्दुले ओर्लिएपछि बीमा कम्पनीहरुकोआय प्रभावित भएको हो।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले सर्वसाधारण निक्षेपकर्तालाई दिनेभन्दा एक प्रतिशत बिन्दु कम ब्याज संस्थागत निक्षेपकर्तालाई दिनु पर्ने नयाँ ब्यवस्था गरेको छ।

दुई बर्षअघि राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई सर्वसाधारणको भन्दा एक प्रतिशत बिन्दु बढि ब्याज दिन सकिने ब्यवस्था गरेको थियो। त्यसअघि संस्थागत र सर्वसाधारण निक्षपकर्ताको ब्याज अन्तर तोकिएको थिएन।

सर्वसाधारणभन्दा एक प्रतिशत बिन्दु बढिसम्म दिने ब्यवस्थालाई परिवर्तन गर्दै एक प्रतिशत बिन्दु कम हुनु पर्ने ब्यवस्थापछि ब्याज दर एकै पटक दुई प्रतिशत बिन्दु तल आएको छ। यही कारण उनीहरुको आम्दानी प्रभावित भएको हो।

जीवन बीमा कम्पनीहरुको आम्दानीको मुल आधार बैंक ब्याज दर हो। यसपछि उनीहरुले अन्य उपकरणमा लगानी गर्न पाउँछन्। यही आम्दानीका आधारमा बीमा कम्पनीहरुको बोनस दर तय हुन्छ।

नियामक बीमा समितिले बोनस दर घट्न नहुने ब्यवस्था गरेको छ। 

'एकातिर आम्दानी घट्ने तर अर्कोतिर बोनस दर घटाउन नपाउने ब्यवस्था छ' एक बीमकले भने, 'अनि कसरी हामी टिक्न सक्छौं?' राष्ट्र बैंकले आफ्नो नीति चलाउँदा अन्य पक्षका बारेमा ध्यान नदिएको उनको बुझाइ छ। 

'प्रणालीमै असर पर्ने बिषयमा एउटा नियामकले अर्को नियामकसँग छलफल गर्नु पर्ने थियो' अर्का एक बीमकले भने,'तर,राष्ट्र बैंकल आफूलाई सुपर पावर भएको जस्तो ठान्छ। मनपरी निर्दशन जारी गर्छ। अन्य पक्षको बारेमा ख्याल गर्दैन।'

उनका अनुसार, अर्थमन्त्रीको नेतृत्वमा रहने वित्तीय क्षेत्र उच्च स्तरीय समितिले सक्रियता लिएर यस बारेमा उचित निर्णय लिनु पर्छ। नत्र भने राष्ट्र बैंकको स्वेच्छाचारिताले वित्तीय क्षेत्रका अन्य अंग प्रभावित हुन्छन्।

केही बीमकहरुले नियामक बीमा समितिसँग यसबारेमा कुराकानी गरेका छन्।  समितिका अध्यक्षले राष्ट्र बैंकसँग छलफल गर्ने आश्वासन दिएका छन्। बीमकहरुले अर्थमन्त्रालयका पदाधिकारीहरुसँग पनि यस बारेमा तिहार बिदापछि कुराकानी गर्ने तयारी गरेका छन्।

'राष्ट्र बैंकको ब्यवस्थाले ब्याजमा नै निर्भर कम्पनीहरुलाई असर गरेको छ। सञ्चय कोष,नागरिक लगानी कोष, सेना प्रहरीका कोषलाई असर नगर्ला तर जीनव बीमा कम्पनीलाई असर गर्छ' ती बीमकले भने, 'भर्खर भर्खर जीवन बीमाको दायरा बढेको छ। यसलाई सिध्याउने गरी निर्देशन जारी गर्नु बिल्कुलै गलत कदम हो।'