BIZMANDU
www.bizmandu.com

मुद्रास्फीतिको प्रभावले विश्वभर नै खाद्यान्नको मूल्य बढ्यो, एक दशक यताकै उच्च स्तरमा

२०७८ कात्तिक १९

विश्वमा खाद्यान्नको मूल्य एक दशक यताकै रेकर्डस्तरमा महंगिएको  छ। खाद्यान्नको मूल्य गत वर्षको भन्दा ३० प्रतिशतले बढेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन यूएनएफएओले जनाएको छ। एफएओले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर अनाज तथा वनस्पति तेलको मूल्य उच्च भएको हो। 

Tata
GBIME
Nepal Life

आपूर्ति संजालमा अवरोध, उद्योगहरु बन्द हुनु, उच्च खाद्यान्न मूल्य तथा राजनीतिक तनावका कारण विश्वभर नै खाद्यान्नको मूल्य  लगातार बढिरहेको तथ्यांकले देखाएको छ। वनस्पति  तेलको मूल्य गत अक्टोबर महिनामा मात्र १० प्रतिशतले बढेको छ।

एफएओले गत वर्ष भन्दा यस वर्ष अनाजको मूल्यमा २२ प्रतिशतले वृद्धि भएको बताएको छ। गहुँ को मूल्य १२ वर्ष यताकै महंगो भएको छ। विश्वभरका लागि गहुँको सबैभन्दा ठूला निर्यातकर्ता देश क्यानडा, रुस र अमेरिका हुन्। तीन देशमै उत्पादन कम भएपछि गहुँको मूल्य अत्यधिक वृद्धि भएको हो। 

जलवायू परिवर्तनले विश्वभर नै अनाजको उत्पादन घटिरहेको देखिन्छ। कर्टिन बिजनेस स्कुलका एग्रिबिजनेस एक्सपर्ट पिटर बाटले भने-'विश्वका धेरै स्थानमा उत्पादन  केही वर्षदेखि निकै खराब भइरहेको छ।'

एफएओका अनुसार पाम, सोया, सनफ्लावर र अन्य किसिमका तेलहरुको भन्दा वनस्पति तेलको मूल्य निकै बढेको छ।

मजदुर अभावका कारण खाद्यवस्तुको उत्पादन लागत  तथा  ढुवानीको मूल्य पनि बढेको तथ्यांकले देखाउँछ।  वितरणमा समस्याका कारण गत वर्षभन्दा डेरी उत्पादनको मूल्यमा पनि १६ प्रतिशतले वृद्धि भएको बताइएको छ।

यस किसिमको मूल्य वृद्धिले आगामी दिनमा गरिब तथा निम्न आय भएका वर्गहरु थप गरिबीतर्फ धकेलिने चिन्ता समेत एफएओले गरेको छ। यो समस्याले  विश्वभर  सामाजिक र राजनीतिक तनाव अझ बढ्न जाने तथा यसले खाद्यान्न आयातमा निर्भर देशहरु  बढी प्रभावित हुने बताइएको छ।