BIZMANDU
www.bizmandu.com

चिनियाँ लगानीको उद्योगले एचएस कोड र उत्पादन फरक पारेर छाला निकासीको प्रयास

२०७८ कात्तिक १८

चिनियाँ लगानीको उद्योगले एचएस कोड र उत्पादन फरक पारेर छाला निकासीको प्रयास
चिनियाँ लगानीको उद्योगले एचएस कोड र उत्पादन फरक पारेर छाला निकासीको प्रयास

वीरगंज। चिनियाँ लगानीमा वीरगंज खुलेको एक छाला उद्योगले अप्रशोधित छाला निर्यात गरेको आशङ्का गर्दै भन्सार कार्यालयले छानबिनको प्रक्रिया अघि बढाएको छ।

Tata
GBIME
Nepal Life

वीरगंज–पथलैया औद्योगिक कोरिडोरको भलुहीमा सञ्चालित अन्नपूर्ण लेदर टेनिङ इण्डष्ट्रिज प्रालिले एचएस कोड र उत्पादन फरक पारेर अप्रशोधित छाला निर्यात गरेको उजुरी परेपछि सिर्सिया सुक्खा वन्दरगाह भन्सार कार्यालयले छानबिन अघि बढाएको हो।

नेपालबाट अप्रशोधित काँचो छाला निर्यात गर्न नपाइने तर पूर्ण प्रशोधित र अर्ध प्रशोधित छाला भने निर्यात गर्न पाइने कानुनी व्यवस्था छ।कार्यालयका अधिकृत उद्धव ढुङ्गानाका अनुसार औद्योगिक वृत्तबाटै अन्नपूर्ण लेदरका निर्यात सामग्रीमा गुनासो आएपछि भन्सार कार्यालयले निर्यात हुनै लागेको छालालाई रोकेर छानबिन सुरु गरेको छ।

यसका लागि छालाको नमुना भन्सार विभागलाई पठाइएको छ। विभागबाट निर्णय आएपछि सोहीअनुसारको कारबाही प्रारम्भ गरिनेछ। उक्त छाला कन्टेनर रेलमा लोड गर्न तयारीमा रहेका वेला गुनासो आएपछि कार्यालयले कन्टेनर होल्ड गरी रेलमा लोड नगर्न रेल्वे सञ्चालक प्रिन्सिटिन भ्याली प्रालिलाई पत्राचार गरेको बताइएको छ।

अधिकृत ढुङ्गानाले विभागले अप्रशोधित छाला भन्ने निष्कर्ष निकालेमा अन्नपूर्ण लेदरलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने बताए। साथै विभागले निकासीयोग्य भन्ने निष्कर्ष दिएमा निर्यात सुचारु गराइनेछ।नेपालबाट वेट ब्लु,क्रस्ड र फिनिस्ड वर्गका मात्र छाला उत्पादन गरी निकासी गर्न सकिने कानुनी व्यवस्था छ। जसमध्ये वेट ब्लु र क्रस्ड अर्धप्रशोधित वर्गमा पर्छन्। 

उद्योगले निर्यातका लागि पेश गरेका कागजातमा वेट ब्लु छाला भनेर उल्लेख गरे पनि उक्त छाला वेट ब्लु नभएको र अत्यन्त कम प्रशोधित रहेको आरोप अन्य उद्योगीले लगाएका छन्। उद्योगले इन्डोनेसियाको जकार्तास्थित एक पार्टीलाई १० हजार अमेरिकी डलर बराबरको यस्तो छाला निकासी गरिरहेको थियो। अन्य छाला उद्योगीले उक्त छाला कुकुरलाई खुवाउन प्रयोग गरिने प्रकारको भएको दाबी गर्दै आएका छन्।

उद्योगले ड्राईपोर्ट भन्सारबाट निर्यातका सबै प्रक्रिया पूरा गरेर कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी) समेत जारी गरिसकेको छ। अधिकृत ढुङ्गानाले उद्योगले निर्यातका सबै प्रक्रिया पूरा गरेर कागजात पेश गरेको जानकारी दिए। उनले उद्योगले निर्यातका लागि आवश्यक पर्ने वाणिज्य कार्यालयको सिफारिस, क्वारेन्टाइन कार्यालयको अनुमति र उत्पत्तिको प्रमाणपत्र(सिओ) लगायतका सबै कागजात दुरुस्त राखेको स्पष्ट पारे।

‘निर्यात गर्न लागिएका सामग्रीमा हामीले एचएस कोड खासै भिडाउँदैनौँ, सामग्री निर्यातयोग्य होकि होइन भन्नेमा मात्र ध्यान दिन्छौँ’, उनले भने, ‘निर्यात गरिने सामग्रीमा महसुल नलाग्ने भएकाले एचएस कोडको वास्ता नगरिएको हो।’

यसैबीच उद्योग सञ्चालक चिनियाँ नागरिक क्योजिङ्गले दोभाषे र क्लियरिङ एजेन्टसहित सिर्सिया भन्सार प्रमुख डा. लालबहादुर खत्रीलाई भेटेर भन्सारले मालवस्तु रोकेका बारेमा जानकारी लिएका छन्। दोभाषे एलिन्का पोखरेलले सरकारले तोकेको सबै मापदण्ड र कागजात पेश गरी सोही बमोजिमको छाला पठाउन लागिएको दाबी गरिन्।

दोभाषे पोखरेलले आरोप लगाउने उद्योगीको गुनासो सही साबित नहुने ठोकुवा गरिन्। उनले उद्योगले निर्यात गर्न लागेको छाला कानुनबमोजिमकै भयो भने त्यसपछि तिर्नुपरेको विलम्ब शुल्क वा ढुवानी भाडा कसले ब्यहोर्ने भन्दै आक्रोश व्यक्त गरिन्।