काठमाडौं। तिहार बिदा सुरु हुनुअघि बैंक तथा वित्तीय संस्थाहरुले बुधबार ४० अर्ब ८२ करोड रुपैयाँ सापटी राष्ट्र बैंकसँग चलाएका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले १९ पटक गरेर करिव ४१ अर्ब रुपैयाँ उठाएका हुन्। स्थायी तरलता सुविधा (एसएलएफ) अन्तर्गत बैंक वित्तीय संस्थाहरुले सात दिनका लागि यो पैसा उठाएका हुन्।
बिहीबारबाट तिहार बिदा सुरु भइसकेको छ। अब चार दिन बिदापछि सोमबारबाट मात्र बैंक तथा वित्तीय संस्थाहरु औपचारिक रुपमा खुल्ने छन्।
बैंक तथा वित्तीय संस्थाहरुसँग राष्ट्र बैंकको कुल दायित्व ९४ अर्ब १३ करोड ५० लाख रुपैयाँ छ। बैंकहरुले अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नका लागि एसएलएफ उठाएका हुन्। तिहारमा कतिपय बैंकको ३६५ दिने काउन्टर खुल्छ भने एटीएम सेवा पनि निरन्तर रहन्छ।
बैंकहरुसँग ७४ अर्ब १३ करोड ५० लाख रुपैयाँ एसएलएफ दायित्व पुगेको छ भने २० अर्ब रुपैयाँ रिपो दायित्व छ।